मेलम्ची पानी नयाँ वर्षअघि उपत्यकामा कति सम्भव, कति असम्भव ?

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ०९,

मुलुकमा खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ । सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ । सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए । चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् । मेलम्ची खानेपानी विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त निर्माण कम्पनीले चैतभित्रै अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्भव रहेको बताएकाले चैतभित्रै वितरण गर्न सम्भव रहेको बताउँछन् । ‘स्थायी समाधानका लागि अहिले पनि अध्ययन भइरहेको छ, अहिले हामीले चैतभित्रै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम गरिरहेका छौं, निर्माण कम्पनीले चैतभित्रै वितरण सम्भव रहेको बताएका छन्,’ उनले राजधानीसँग भने । सरकारको दाबीजस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम भइरहेको पाइन्छ । अहिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको हो ।
अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङभित्र केही लेदो पसेको पाइएकाले त्यो सफा गर्ने काम सकिएपछि पानी हाल्ने काम सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मुख्य सुरुङमा यसअघि लेदो नपसेको अनुमान गरिएपछि लेदो पसेको तर, ठूलो समस्या नरहेको पन्त बताउँछन् । अहिले सो स्थानमा विद्युत्को पनि समस्या रहेको छ । बोर्डले स्थायी समाधानका लागि नेपाल विद्युत् प्राधिकरणसँग अनुरोध गरिसकेको पाइएको छ भने अहिलेलाई अस्थायी रूपमा त्यहाँ विद्युत् पु¥याउने काम भइरहेको छ । गेट नम्बर, १, ९ र ३८ को मर्मतपछि काठमाडौं उपत्यकामा पानी पठाउन सकिनेछ । १ र ९ नम्बरको गेटको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ को केही मात्रा पुनर्निर्माणको काम बाँकी रहेको बोर्डका सूचना अधिकारी पन्त बताउँछन् । मेलम्ची खानेपानी आयोजनाको क्षति पुगेको ठाउँमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विस्फोट गराएर नदी सफाइलगायतको काम गर्दै आएको छ । बोर्डले सुरुङमा कति पानी पठाउन सकिन्छ भनेर अहिले नै अनुमान गर्न भने नसकिने जनाएको छ । ‘सुक्खायाम भएकाले पानी कम छ, सबै पानी सुरुङमा हाल्न सकिन्न कि भन्नेछ,’ पन्त भन्छन्, ‘पानीको परिणाम कति हुन्छ यो चाहिँ भन्न सकिन्न, १७ करोड लिटर नै पनि पठाउन सकिन्छ, घटी पनि हुन सक्छ ।’ गत २२ फागुन २०७७ मै मेलम्चीबाट सुरुङमा खसालिएको पानीको परीक्षण गरिएको थियो । परीक्षणका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । सो पानी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो । गत असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त बनाएको थियो । करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले १५ चैत २०७७ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको गत २० चैतमा एक कार्यक्रमबीच उद्घाटन गरेकी थिइन् । सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिन आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । मेलम्ची आयोजनाको सुरु २०५८-५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४-६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले विक्रम संवत् २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो ।

Like