भाइको बर्थडेका लागि सामान किन्न जाँदा गोली लाग्यो, लेटाङ झडपका घाइतेको बयान

Share to:

रासंसा/मोरंग चैत्र ७,

मुलुकमा प्रदेश नम्बर १ को आइतबार मोरङको लेटाङमा भएको घटनामा घाइते भएका एक युवाले भाइको बर्थडे (जन्मदिन) मनाउनका लागि सामान किनेर फर्कंदै गर्दा एक्कासी गोली चल्दा आफूलाई गोली लागेको बताएका छन् । नोबेल अस्पतालमा उपचाररत लेटाङ–५ का २० वर्षीय मिलन खड्काले आफ्नो भाइको बर्थडेका लागि सामान किन्न गएको अवस्थामा आफूलाई गोली लागेको बताए । उनले भने, ‘एक्कासी गोली लाग्यो, बन्दुक पड्केको पनि थाहा भएन ।’ चन्द्रबहादुरले घाइते छोराको शरीरमा रहेको गोली निकाल्न अस्पतालले ७ लाख रुपैयाँ डिपोजिट गर्नुपर्छ भनेको बताए । ‘म सामान्य खेती किसानी गरेर खाने मान्छे हुँ, ७ लाख रुपैयाँ डिपोजिट गर्नुपर्छ भनेको छ,’ उनले भने, ‘मैले अहिले त्यत्रो पैसा ल्याउन सक्ने अवस्था छैन ।’ उनको नोबेल अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । उनका बुबा चन्द्रबहादुर खड्काले कान्छो छोरा चेतन खड्काको आइतबार जन्मदिन रहेको बताए । ‘बर्थडेमा सामान किन्न भनेर बाहिर निस्किएको थियो, कता गयो, कोसँग गयो, मलाई थाहा छैन,’ उनले भने, ‘यसअघि पनि त्यसखालको घटनामा संलग्न थिएन, हुलहुज्जत गर्दैनथ्यो ।’ हालसम्म साथीभाइबाट सहयोग प्राप्त भएको एक लाख रुपैयाँ खर्च भइसकेको उनले बताए । अब कसरी उपचार गर्ने भन्ने समस्या रहेको उनको भनाइ छ ।​ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो । घटनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्रहरी र ७ जना स्थानीय झडपमा परी घाइते भएका थिए ।​
घाइते भएका मिलनको ३ ठाउँ गोली लागेको उनका बुबा चन्द्रबहादुरले बताए । मिलनसँगै बजार गएका उनका साथी पुजेश अधिकारीले एक्कासी मिलनलाई गोली लागेको बताए । ‘सशस्त्रले बलात्कार आरोपित मानिस ल्याउँदै रहेछ । त्यसबीचमा सर्वसाधारणसँग झडप भयो, हामीलाई थाहा थिएन,’ गोली लागेको साथी उठाउँदा रगत लागेको आफ्नो सर्ट देखाउँदै पुजेशले भने, ‘एक्कासी मलाई गोली लाग्यो भनेर ऊ ढल्यो । जिस्केको होला भन्यौं, तर ब्लड आइरहेको पो रहेछ ।’ मिलनलाई गोली लागेको स्थान स्कुलभन्दा केही तल रहेको उनले बताए । ‘स्कुलभन्दा अलिक तलै धरानचोकमा घटना भएको हो, गोली पड्केको पनि सुनिएन,’ उनले भने । घाइतेलाई भेटेर लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले ढाडस दिएको आफन्तले बताएका छन् । यद्यपि उनीहरुले तत्काल उपचारको व्यवस्था गर्नुपर्नेमा विभिन्न कागजात मिलाउने झन्झट पूरा गर्दा नगर्दै ज्यान तलमाथि हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् ।

Like