‘महामूर्ख डा. भोगेन्द्र झा घोषित
रासंसा/धनुषा, चैत्र ४,
मुलुकमा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषद (मिनाप) ले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा. झालाई महामूर्ख घोषणा गरिएको हो । मिनापले प्रत्येक वर्ष समाजमा विभिन्न माध्यमबाट योगदान पुर्याए वापत १० जनादेखि १७ जनासम्मलाई मूर्खको उपाधि दिँदै आएको छ । जसअनुसार ११ जनालाई मूर्खको उपाधि दिइयो । सो मध्येबाट पनि एक जनालाई महामूर्खको उपाधि दिइन्छ । महामूर्ख घोषित झालाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारी मिश्रित माला तथा दोसल्ला ओढाएर सम्मानित गरियो । हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजिवी, राजनीतिककर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ । यस कार्यक्रममा सहभागी सबै आ–आफ्नो मुर्खत्वको उपाधि पाउनका लागि लालायित हुने गरेका छन् । सो सम्मेलनबाट प्रदेशसभा सदस्य मञ्जु यादवलाई मूर्खको अदल बदली उपाधि, नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही उपाधि, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी उपाधि, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख उपाधि प्रदान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेश उपाधि, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख उपाधि, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट उपाधि, जनकपुरधाममा मिथिला चित्रकलाको शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड उपाधि, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द उपाधि र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।