एआईजी कोटामा हेडक्वार्टर असन्तुष्ट

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ३,

मुलुकमा गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । प्रहरी महानिरीक्षक क्षत्री आफैं बढुवा समितिका सदस्य सचिव हुन् । उनले बढुवाको निर्णय हुँदै गर्दा नै अव्यावहारिक निर्णय भन्दै असन्तुष्टि जनाएको स्रोतले भनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च अधिकृत गृह मन्त्रालयसँग असन्तुष्ट बनेका हुन् । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समिति बैठकले तीन नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । ‘बढुवा समितिको सदस्य सचिव प्रहरी प्रमुख नै हुन्छ, प्रहरी महानिरीक्षक थापाले बैठकमा नै कार्यसम्पादनका आधारमा सिफारिस हुनुपर्छ भन्ने मत राख्नुभयो तर शक्तिको आडमा कोटा भाग लगाएर नाम सिफारिस गरियो,’ प्रहरी उच्च स्रोतले राजधानीसँग भन्यो । तर, बढुवामा परेका पन्त र धानुकको नाममा भने तीव्र असन्तुष्टि देखिएको छ । उनी आगामी १८ वैशाखबाटै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् । उनलाई कांग्रेस नेताहरूकै जोडबलमा छोटो अवधिकै लागि भए पनि बढुवाका लागि सिफारिस गरिएको हो । उनीहरूमध्ये केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत सिंहका नाममा भने असन्तुष्टि देखिएको छैन । उनी प्रहरी संगठनभित्र व्यावसायिक र स्वच्छ छविका प्रहरी अधिकारीमा गनिन्छन् । कांग्रेसका लुम्बिनी प्रदेशका नेताहरूले सो प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिँदा कांग्रेस प्रमुख सचेतक निर्मला क्षत्रीसहितका प्रदेश सांसदलाई दुव्र्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब दिँदै आएका थिए । यस्तै, धानुक माओवादी केन्द्रको जोडबलमा एआईजी सिफारिस भएका हुन् । धानुकलाई एआईजी सिफारिस गरेको विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि देखिएको छ । उनलाई अर्थमन्त्री जनार्दन शर्माले एआईएजी सिफारिस गर्न जोडबल गरेका हुन् । वरीयताका आधारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल, प्रकाशजंग कार्की, पन्त, ईश्वरबाबु कार्की, सिंह, वसन्तकुमार लामा, धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसीलगायत एआईजीका लागि प्रतिस्पर्धामा थिए । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक जना तथा धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई गर्न चाहेको थियो । सुवेदी भागीरथी बलात्कार तथा हत्या प्रकरणको सफल अनुसन्धानका कारण प्रधान कार्यालयको रोजाइमा थिए ।

Like