राजनीतिमा रणनीति बनाउँदै एमाले
रासंसा/काठमाण्डौ, फाल्गुन ३०,
मुलुकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकमा पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्ने विषयमा छलफल भएको छ। ‘केन्द्रीय सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी अजेन्डा बन्न सक्छ। अब पार्टीको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचन तथा केन्द्रीय कमिटीको बैठकसम्बन्धी विषयमा छलफल भएको थियो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्याउने लक्ष्य राखेको छ। एमालेबाट माधव नेपाल नेतृत्वको समूह विभाजन भए पनि माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, दावा लामा, मणि थापालगायतका नेता एमालेमै बसेका कारण यस दलका नेता कार्यकर्ताको मनोबल बढेको छ। बैठकमा चुनावी कार्यनीति, रणनीति, घोषणापत्र निर्माणजस्ता विषयवस्तुबारे छलफल भएको बताइएको छ। एमालेले निर्वाचनको रणनीति तय गर्न चैत ७ गते पोलिटब्युरो, ८–९ गते केन्द्रीय कमिटी र १४ गते स्थायी समितिको बैठक बोलाएको छ। स्थानीय तहको पार्टी संगठनको अवस्थाबारे जिल्लाजिल्लाबाट रिपोर्टिङ लिने काम भैरहेको छ। सरकारमा रहेका गठबन्धन दलहरूले स्थानीय तहमा एमालेले निर्वाचन जितेको स्थानमा घेराबन्दी गर्ने अवस्था आएका कारण पनि अहिलेदेखि नै एमालेले चुनावी रणनीति र गाउँपालिका, नगरपालिका केन्द्रित कार्यक्रम बनाउन लागेको हो। दलभित्रको ठूलो समूह र प्रभावशाली नेताहरूले बेग्लै पार्टी खोलेका कारण स्थानीय तहको निर्वाचनमा पर्न सक्ने प्रभावलाई ध्यान दिएर एमालेले रणनीति तयार गर्दैछ। पछिल्लो राजनीतिक अवस्थालाई ध्यान दिएर पार्टीले स्थानीय तहमा कार्यकर्तालाई समेत व्यवस्थापन गर्ने तयारी थालेको छ। त्यसका लागि जिल्लाबाटै नेता कार्यकर्ताको व्यवस्थापनसम्बन्धी योजना बनाउने रणनीति एमालेको छ। जिल्ला तहबाट नेता कार्यकर्ताको व्यवस्थापन भए संसदीय निर्वाचनका लागि समेत सहज हुने एमाले नेताहरूको अनुमान छ। निर्वाचन लक्षित कार्यक्रममा अध्यक्ष ओली स्वयं खटिएका छन्। उनी देशव्यापी रूपमै कार्यक्रम बनाएर अघि बढेका छन्। खासगरी मधेस केन्द्रित कार्यक्रमलाई एमालेले प्राथमिकता दिएको छ। मधेस प्रदेशमा एमाले कमजोर रहेका कारण पार्टीको ध्यान सोही प्रदेशमा केन्द्रित गरिएको छ। गठबन्धन भत्काउन नसकेपछि अध्यक्ष ओलीले पार्टी प्रवेश कार्यक्रममा अरू पार्टीभन्दा एमाले अग्रपंक्तिमा रहेको सन्देश दिन खोजिरहेका छन्। त्यसका लागि केपी ओली प्रधानमन्त्री हुँदा भएका विकास निर्माणका कार्यलाई लिपिबद्ध गर्न थालिएको एक नेताले बताए। ओली नेतृत्वको सरकारले गरेका काम समेटेर निर्वाचनको घोषणापत्र बनाउन लागिएको छ। ओली प्रधानमन्त्रीबाट हट्नुअघि गरिएका काममा वर्तमान सरकारले भाँजो हालेको, बजेट कटौती गरेको, अर्थ मन्त्रालयले विकासमा बजेट दिन नसकेको जस्ता विषयलाई समेत निर्वाचनको घोषणापत्रमा राख्ने गरी तयारी थालिएको छ। अहिलेको निर्वाचन एमालेका लागि सहज नहुने र पार्टीविरुद्ध सरकारी पक्षले प्रहार गर्न सक्ने भएकाले समयमै चुनावी नीति, रणनीति दुवै बनाएर अघि बढ्न लागेको र त्यसका लागि पार्टी प्रवेश कार्यक्रम, प्रचार प्रसारलाई एकसाथ अघि बढाएको हो। भदौ ९ गते एमालेको एउटा समूह विभाजन भएर गएपछि त्यसको क्षति कम गर्न ओलीले सकेसम्म वामपन्थी दलहरूबाटै नेता कार्यकर्ता भित्राउने रणनीति लिएका छन्। ‘सकेसम्म वामपन्थी नेता कार्यकर्तालाई पार्टीमा ल्याउनुपर्छ भन्ने नीति छ तर सबै प्रकारका नागरिकलाई एमालेको ढोका खुला रहन्छ’, एमालेका एक नेताले भने। गठबन्धन टुटेमा अहिले पनि एमाले बलियो अवस्थामा रहेको र गठबन्धन भए पनि एमाले बलियो प्रतिस्पर्धी हुने भएकाले अन्य दलहरूले एमालेका विरुद्ध एक हुने सम्भावना कायमै रहेको छ। एमाले नेताहरूले गठबन्धनविरुद्ध आफूहरू एक्लै निर्वाचनमा भाग लिने जनाएका छन्। ‘अहिलेको गठबन्धनका विरुद्ध एमाले एक्लै निर्वाचनमा जान सक्षम छ’, प्रचार विभाग उपप्रमुख रिजालले भने।