आफ्नै तागतले जित्नुपर्छ, चुनाव हाम्रो ब्याटल हो : प्रचण्ड
रासंसा/काठमाण्डौ, फाल्गुन २९
मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । सो क्रममा हालै सम्पन्न पार्टीको महाधिवेशनले लिएको लाइन,एमसिसी अनुमोदनका सन्दर्भमा भएको राजनीतिक दाउपेचलगायतको विषयमा सविस्तार व्याख्या गरेका थिए । सो सन्दर्भमा उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले बारम्बार गरेको पहल र प्रयत्न,एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका व्यवहार बारेमा पनि व्याख्या गरे । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए । ‘हाम्रा लागि यो ठूलो ब्याटल हो,’उनले कार्यकर्तालाई भने, ‘सबै पक्षको तालमेल मिलाएर युद्ध जितेका हौं,डोकोमा रेडियो बोकिन्थ्यो,आफू घाइते हुँदा बोक्ने स्टे«चर बोकेर,आफू मर्दा पुरिने खाल्डो खनेर युद्धमा गएका थियौं,त्यहाँ एकता थियो त्यही कारण हामीले जितेका हौं,अहिले पनि त्यही अवस्थाको एकता गर्नुहोस् ।’ प्रचण्डले तत्कालीन पार्टीका नेता रामबहादुर थापा बादल र डा बाबुराम भट्टराईले करगरेकाले आफूले यस्तो निर्णय लिएको पनि स्मरण गरे । ‘उहाँहरुको पछाडि लाग्दा त्यसबेला राष्ट्रपति हारियो,सरकार गुम्यो,’प्रचण्डले भने, ‘अहिले यस्तो हुने सम्भावना देखेर १२ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै एमसिसी पारित गरेका हौँ ।’ प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा जनताले अत्यधिक मत दिँदा आफू बिग्रिएको पनि स्वीकारे । उनले स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झँदै भने, ‘त्यो बुढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला ?३ महिनामा जाँदै गरेको रुक्माङ्गत कटुवालालाई किन हटाएको होला,मेरो बुद्धि ?।’ प्रशिक्षणमा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसिसीबारे आफू धेरै नबोल्ने बताए । ‘मलाई एमसिसीबारे धेरै नबोल्नु भन्ने पार्टीको निर्देशन छ,जेठ २० गतेपछि पार्टीको फोरमहरुमा यसबारे छलफल हुन्छ,’उनले भने, ‘व्याख्यात्मक घोषणाको विषयमा पनि त्यतिबेलै आवश्यक छलफल गरौंला ।’ प्रचण्डले आगामी स्थानीय तहमा केन्द्रीत भएर अभियान चलाउन पनि प्रदेशका नेताहरुलाई आग्रह गरे । उनले दुई पार्टीमात्रै राख्ने गरी नेपालमा अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन सुरु भएको जिकिर गर्दै त्यसखालको शक्तिले माओवादीलाई सिध्याउने प्रयास गरिरहेको पनि दावी गरे । कार्यक्रममा प्रदेश १ भरीका प्रदेश कमिटी पदाधिकारी तथा सदस्य,प्रदेश सल्लाहकार,प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य,प्रदेश परिषद सदस्य,प्रदेश प्रतिनिधि,जिल्ला समन्वय समितिका सदस्य,पालिका कमिटीका पदाधिकारी,जबस मोर्चाका केन्द्रीय पदाधिकारी तथा सदस्य,प्रदेश पदाधिकारी र जिल्ला अध्यक्ष तथा संयोजक,प्रदेश विभागका पदाधिकारी तथा विभागका सदस्यहरू गरी १ हजार ५ सय बढी सहभागी भएको प्रदेश १ का सचिव गणेश उप्रेतीले बताए । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा,प्रदेश १ का माओवादी इन्चार्ज राम कार्की,माओवादीका अनुशासन आयोगका संयोजक टंक राईलगाययतले बोलेका थिए भने प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले प्रदेशको पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।