परराष्ट्र सम्बन्ध र अर्थतन्त्र ध्वस्त हुन लाग्दा पनि सबै चुपचाप बसेको एमाले अध्यक्षको आरोप,
मारासंसा/काठमाण्डौ, फाल्गुन २३,
मुलुकमा ‘हाम्रो सरकार हुँदा रुखबाट पात खस्यो भने पनि आफूलाई दोष दिने बुद्धिजीविहरू अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्र ध्वस्त बनाउँदापनि चुपचाप बसेका छन्। मानिलिऊ केही बिग्रिएकै छैन’, उनले भने। पहिले सानो केहि हुने वित्तिकै छाती पिटी पिटी रुँदै कोकोहोलो मच्चाउनेहरु अहिले बोल्न नसकेको उनको भनाई थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त हुन लाग्दापनि सबै चुपचाप बसेको टिप्पणी गरेका छन्। मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले आफ्नो पालामा रुखको पात ओइलिएर खस्दापनि ओली सरकारले गर्दा खसेको भन्दै रोईकराई गर्नेहरु अहिले अर्थतन्त्र ध्वस्त हुँदा र परराष्ट्र सम्बन्ध बिग्रिदापनि चुपचाप बसेको आरोप लगाएका हुन्। अध्यक्ष ओलीले वर्तमान सरकार परमादेशबाट बनेको सरकार भएको आरोप दोहोर्याए। सरकार संसदले बनाउने भएपनि देशी, विदेशी शक्ति मिलेर परमादेशको वर्तमान सरकार बनाएको उनको आरोप थियो। मुद्दा जितेर सरकार बनाउने भए लोकतन्त्र नचाहिने भन्दै उनले थपे, ‘मुद्दा जितेर सरकार बनाउनु भनेको सीमानाको विषयमा हुने झगडाजस्तै हो।’ अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हाँडीघोप्टेको संज्ञा दिए। नेपालको नाम नलिई उनले भने, ‘अहिले चार–पाँच जना फुटेपछि एकीकृत नाम राख्ने गरेका छन्। जो घोप्टे छ उसले समाजवादी नाम राख्छ, हाँडीघोप्टेले समाजवादी नाम राख्छ।’ उनले आफूहरु फेसनको नामको पछि नलाग्ने भन्दै बरु अर्थ र रुपान्तरणको पछि लाग्ने बताए। ओलीले एमाले अभाव, असुरक्षालगायतकाविरुद्ध लड्ने पार्टी भएको बताए। ‘एमाले आधुनिक, वैज्ञानिक तरिकाले हकअधिकार प्रत्याभूत गर्ने कुरामा विश्वास गर्छ, कहीँ कसैको गरिबी नहोस्, अभाव र असुरक्षा नहोस् भन्नका लागि संघर्ष गरिराखेको छ’, उनले भने।