एमसीसी प्रस्तावमा छलफल गर्न संसद बैठकको पूर्वसन्ध्यामा बालुवाटारमा एमाले अध्यक्ष ओली

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुन १०,

मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न प्रमुख प्रतिपक्षी दलका नेता ओली मंगलबार साँझ बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले बोलाएपछि ओली समसामयिक राजनीतिक विषयमा छलफल गर्न बालुवाटार गएको ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए । भेटमा अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौतामा एमालेको पोजिशन, संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ । सभामुख अग्निप्रासद सापकोटाले भोलि संसद बैठक बोलाएका छन् । संसदमा एमालेले अवरोध गर्दै आएको छ । फागुन ८ गते संसदमा टेबल भएको एमसीसीमा भोलिदेखि छलफल हुँदैछ । सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यस्तोमा एमसीसी कसरी पास गर्ने, संसदको गतिरोध अन्त्य कसरी गर्ने भन्नेमा एमाले निर्णायक देखिएको छ । एमालेको अवरोधका बीच एमसीसी सम्झौता प्रस्तावमा कसरी छलफल चलाउने अन्योल रहेका बेला प्रधानमन्त्रीले प्रतिपक्षी नेता ओलीलाई बालुवाटार बोलाएर छलफल थालेका हुन् । एमसीसी सम्झौतालाई फागुन १६ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने समयसीमा छ । त्यसअगावै संसदबाट पारित गर्न प्रधानमन्त्री देउवाले सबै पक्षसँग सम्वाद बढाएका छन् । यद्यपि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले भने एमालेको अवरोधका बीच पनि छलफल अगाडि बढ्ने बताइरहेका छन् ।

Like