छारे रोग र यसको उपचार
स्वास्थ्य,
छारे रोग र यसको उपचारमा सम्भव छ । छारे रोग संसारको सबैभन्दा पुरानो रोगमा पर्छ । यो रोग आज भन्दा ४००० ईसा पूर्वमा समेत रेकर्ड रहेको पाइन्छ । छारे रोगलाई समाजमा त्रास, भ्रम, भेदभाव गर्नुका साथै सामाजिक कलङ्कको रूपमा चित्रण गरिँदै आएको राष्ट्रिय न्यूरो सेन्टर महाराजगञ्जका न्यूरोलोजिष्ट डा. सुमन भट्टराईको भनाइ छ । समुदाय छारे रोग निको हुँदैन भन्ने भ्रम पैदा भए पनि यस रोगको उपचार सम्भव रहेको चिकित्सकहरू बताउँछन् । छारे रोग भएका ७० प्रतिशत मानिसहरूको उचित उपचारले दौरामुक्त जीवन बनाउन सकिने वरिष्ठ न्यूरोलोजिष्ट डा. भट्टराईको भनाइ छ ।
मस्तिष्कमा रहेको साना असङ्ख्य कोशिकाहरूमा अत्यधिक मात्रा विद्युतीय तरङ्ग बन्ने स्थितिलाई छारे रोग भनिन्छ । यद्यपि समुदायमा छारे रोगबारे धेरै भ्रमहरू कायम छ । विश्वभरका १० प्रतिशत मानिसमा आफ्नो जीवनकालमा एउटा दौरा हुन सक्ने अध्ययनहरूले देखाएको छ । एउटा दौराले मात्रै (इपिलेप्सी) अर्थात् छारे लाग्यो भनेर भन्न नमिल्ने राष्ट्रिय न्यूरो सेन्टर महाराजगञ्जका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा बताउँछन् । छारे रोग भन्नाले दुई वा सो भन्दा बढी विना उत्तेजित दौरा पर्नुलाई भनिने वरिष्ठ न्यूरोलोजिष्ट थापाको भनाइ छ ।उहाका अनुसार –झट्का लाग्ने, –दह्रो हुने, –काँप्ने, –सन्तुलन बिग्रने आँखा माथि फट्याउने, –टोलाएर बस्ने, –कुनै पनि कुरालाई प्रतिक्रिया नदिने मुखबाट फिँज निकाल्ने, –एक्कासि बेहोस हुने, –जिब्रो ओठ टोक्ने, –थाहा नपाई दिसा वा पिसाब गर्ने हुन् ।
जन्मपूर्व वा प्रसवपूर्व नै मस्तिष्कमा क्षति हुँदा जस्तै, जन्मने क्रममा अक्सिजन कम हुँदा, वजन, जन्मजात असामान्यताहरू वा आनुवंशिक अवस्थाहरू, मस्तिष्क विकृतिहरू, वंशाणुगत वा जन्मजात छारे रोग लाग्नुको कारण हो । यस्तै, मस्तिष्कलाई असर पार्ने कारणले पनि छारे रोग हुन्छ । जस्तै
–टाउकोमा गम्भीर चोटपटक लाग्दा, –मस्तिष्कको पक्षघात हुँदा, –मस्तिकमा अक्सिजनको मात्रा सीमित गर्ने स्ट्रोक हुँदा, –मस्तिष्कको ट्यूमर हुँदा, –कुनै कुनै औषधि जस्तै एन्टी साइकियाट्रिक, एन्टी डिप्रेसन आदिका कारण पनि छारे रोग लाग्न सक्छ ।
छारे रोगको सङ्क्रमण र जीवनशैलीका कारण पनि हुन्छ, –इन्सेफालाटिसको सङ्क्रमण, –मेनिन्जाइटिस रोग लाग्दा, ––जुकाका अण्डा दिमागमा फैलँदा,
– चिन्ता लिने कम सुत्ने, –लागूपदार्थ सेवन गर्ने, –मद्यपान, धुम्रपान गर्दा, –धेरै मानसिक तनाव लिँदा, –रक्सी चटक्कै छोड्दा
छारे रोग भएको समयमा नजिकैमा मानिसले यस्ता कुरामा ध्यान दिनुपर्छ । –नआत्तिने शान्त रहनुका साथै समय हेर्ने, –खतरा कुराहरू बाट टाढा राख्ने जस्तै आगो, पानी, धारिलो हतियार आदिबाट, –बिरामीलाई दरो गरेर नसमाउने, –बिरामीलाई कोल्टो पारेर सुताउने, यस्तो कुरा गर्न हुँदैन, –मुखबाट र्याल चुहिँदा चम्चा वा कुनै पनि चिज बिरामीको मुखमा नराख्ने, –जुत्ता, मोजा, प्याज जस्ता दुर्गन्ध चिजहरू नसुघाउने, –वरिपरि मान्छेको भिड लाग्न नदिने,
छारे रोगका बिरामीले यस्ता कुरामा ध्यान दिनुपर्छ ।
–नियमित रूपमा औषधिको सेवन गर्ने ।
–आफूखुसी औषधि घटाउने, बढाउने र छाड्ने नगर्ने ।
–छारे रोगका बिरामीले जोखिमपूर्ण काम नगर्ने जस्तै रुखमा नचढ्ने, नपौडिने र ड्राइभिङ गर्न हुँदैन ।
विश्वमा इपिलेप्सी अर्थात् छारे, मिर्गी रोगबाट करिब ५ करोड मानिस ग्रसित रहेको अनुमान गरिएको छ । छारे रोग भएका करिब ८० प्रतिशत मानिसहरू कम र मध्यम आय भएका देशहरूमा बस्ने अध्ययनहरूले देखाएको छ । यस्तै, न्यून आय भएका देशहरूमा बसोबास गर्ने छारे रोग भएका तीन चौथाइ मानिसहरूले आवश्यक उपचार पाउन सकेका छैनन् । विश्वमा प्रत्येक वर्ष अनुमानित करिब ६० लाख मानिसमा यो रोग पत्ता लाग्ने गर्छ ।