गठबन्धन टुट्दैन, एमसीसी पारित गर्ने सहमति भएको छैन,
रासंसा/काठमाण्डौ, माघ १६,
मुलुकमा जताततै एमसीसी को हल्नेला नचलेको होइन । कोहि एम्सिसिलाई विरोध गर्नेहरु छन् भने कोहि स्वागत गर्नेहरु पनि नभएका होइनन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् । ‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् । माओवादीले पुस तेस्रो साता सम्पन्न महाधिवेशनबाट सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको निष्कर्ष समेत निकालेको थियो । नेकपा माओवादी केन्द्रमा श्रेष्ठले एमसीसी अहिलेकै अवस्थामा पारित हुन नहुने अडान राख्दै आएका छन् भने माओवादीले पार्टी बैठकबाटै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा राख्दै आएको छ । स्वयम् अध्यक्ष प्रचण्डले एमसीसी हुबहु पारित हुन नसक्ने बताउँदै आएका छन् । यही बीचमा शनिबारको गठबन्धनको बैठकमा एमसीसी पारित गर्न सहमति भनेको तथा गठबन्धनमा एकमत नभए गठबन्धन नै टुट्न सक्ने भनेर देउवाले चेतावनी दिएको खबरहरु आएपछि श्रेष्ठको यो धारणा आएको हो। यथास्थितिमा उक्त सम्झौता पारित नगर्न पनि माओवादीले सरकारलाई आग्रह नै गरेको थियो भने महाधिवेशन हलमा एमसीसीको विरोधमा चर्को स्वर सुनिएको थियो । यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद् सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्नुपर्नेमा जोड समेत दिइएको थियो ।