‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुपर्यो’ – गृहसँग शिक्षा मन्त्रीको आग्रह
रासंसा/काठमाण्डौ, माघ ५,
मुलुकमा गत बुधबार गृहमन्त्री बालकृष्ण खाँडसँगको छलफलमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउन मन्त्री पौडेलले आग्रह गर्नुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल कलेज सञ्चालकहरूले सर्वपक्षीय निर्णय कार्यान्वयन नगरेको भन्दै थप कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ । पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको शिक्षा मन्त्रीका प्रेस संयोज बिमल खड्काले जानकारी दिनुभयो । ‘पटक–पटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु’ शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘केही दिनअघि गरेको निर्णय कार्यान्वयन भएन थप एक्सन लिनुपर्यो ।’ शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गर्नुभयो । पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । छलफलमा गृहमन्त्री खाँडले पनि आफू विद्यार्थीको पक्षमा रहेको भन्दै तत्काल काठमाडौं, भक्तपुर र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् यर्थात स्थिति बुझेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सोही दिन विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई मोसो दलेका थिए । यस्तै, छात्राबास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवम् विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसको सहजीकरण विश्विद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्शमा देखिएका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षहरुसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउने लगायतका विषयमा निर्णय भएको थियो ।