ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक स्थलका जग्गा अतिक्रमण अहिले पनि रोकिएको छैन

Share to:

रासंसा/धनुषा, मार्ग २४,

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पौराणिक स्थलका जग्गा अतिक्रमण अहिले पनि रोकिएको छैन । अतिक्रमित भएका मठ–मन्दिरको जग्गामा अहिले ठुल्ठुला होटल, महल तथा मल लगायतका भवन अनधिकृत रुपमा ठड्याइएको छ । ऐतिहासिक धार्मिक नगरी जनकपुरधाममा कुनै समय मठ–मन्दिरको अधिनमा ६ हजार बिघाभन्दा बढी जग्गा थियो । २३ वटा गुठी मातहतका मठ–मन्दिरको नाममा रहेका सो जग्गामध्ये करिब ५ हजार बिघा जग्गा अतिक्रमणको चपेटमा परेका छन् । मन्दिरका महन्तदेखि पूजारी लगायतले मठ–मन्दिरका नामका सार्वजनिक जग्गा हड्पेर व्यक्तिको नाममा दर्ता गराएका छन् । राजनीति र सामाजिक पहुँचको बलमा संस्थाको नाममा मात्र नभई व्यक्तिहरुले पनि सार्वजनिक जग्गा कब्जा गरेका छन् । जनकपुरधाममा मठ–मन्दिरका जग्गा अतिक्रमण र दोहन सबैभन्दा बढी भएको छ । गुठीको अधिनमा रहेका यस्ता जग्गा अतिक्रमण गर्न तथा गराउन यहाँ सम्बन्धित सरोकारवालाहरु स्वयं लागिपरेको आरोप स्थानीयहरुले लगाउँदै आएका छन् । मन्दिरको जग्गा अतिक्रमणमा मठाधीश, सन्त–महन्तहरु स्वयं सक्रिय छन् ।
मिथिला माहात्म्य कृतिमा ७२ तलाव, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदी रहेको उल्लेख छ । यसमध्ये केही लोप भएका छन् भने केही भूमाफियाको हातबाट बेचिने क्रम अझै पनि जारी छ । जनकपुरधाम उपमहानगरपालिका–४ का सुभाष कर्णले जनकपुरधामका अधिकांश पोखरी अतिक्रमण भएको दाबी गरे । उनले भने, ‘सार्वजनिक पोखरी रहेको ठाउँमा अहिले निजी भवन ठड्याइएका छन् । पोखरी सौन्दर्यीकरण हुनुपर्ने ठाउँमा नेता तथा भूमाफियाहरुको घर सौन्दर्यीकरण गरिएको छ ।’ धनुषामा गुठी संस्थानको ३० बिघा ७ कट्ठा १८ धुर जग्गा व्यक्तिले कब्जा गरेर घर बनाएका छन् । जनकपुरधाममै मात्र ४० भन्दा बढी स्थानमा गुठीको जग्गा अतिक्रमणमा परेको छ । जहाँ व्यक्ति र संघसंस्थाले घर बनाएका छन् । सरकारले २०६२ सालमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद अन्तर्गत तत्कालीन जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, पोखरी डिल, रामजानकी लगायत मुख्य मन्दिर तथा गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उच्चस्तरीय कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमा विभिन्न गुठीको जग्गा जमिन ६ सय ५० भन्दा बढी परिवारले हड्पेर भोगचलन गरिरहेको उल्लेख छ । १६ वर्ष यता १० प्रतिशत थप घर त्यस्ता जमिन अतिक्रमण गरी बनाइएको गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठप्रसाद रेग्मी बताउँछन् । गुठी संस्थानकै तथ्यांकअनुसार जनकपुर–४ कदम चोक नजिक ११ कट्ठा १५ धुरमा १३ घर, विषहरा पोखरीको पश्चिम डिलको २ बिघा ७ कट्ठा १ धुरमा महेन्द्र नारायण निधि स्मृति भवनको १६ वटा घर बनेको छ । प्रयोगविहीन बनेपछि स्मृति भवनमा प्रहरीको व्यारेक राखिएको छ । राम मन्दिरको भोगचलनमा रहेको गुठीको जग्गा सबैभन्दा बढी अतिक्रमणमा परेको छ । राम मन्दिरको १८ ठाउँको जग्गा अतिक्रमणमा परेको हो । राम मन्दिरको ११ बिघा २ कट्ठा ५ धुर जग्गामा व्यक्ति र संघसंस्थाको महल ठडिएको छ । यो जग्गामा ३२६ वटा घर बनेको छ । राम मन्दिरअन्तर्गत रहेको गुठीको रामसागर पोखरीको डिलको ३ कट्ठा २ धुर जग्गा कब्जा गरेर २३ वटा निजी घर बनाइएको छ । धनुष सागर पोखरी डिलको २ कट्ठा ३ धुर जग्गामा १२ घर, जनकपुर–६ स्थित गोरधाई पोखरी डिलको ३ कट्ठा १८ धुरमा ७३ घर, पुरन्दर सर पोखरी डिलको ५ कट्ठा १ धुर जग्गामा ३० घर, जनकपुर–७ को लक्की पोखरीको १० बिघा १८ धुरमा ४ घर, जनकपुर–३ स्थित देवान पोखरीको ११ कट्ठा ५ धुरमा ३३ घर बनेको छ । राम मन्दिरको रामसागर पोखरीको उत्तरी डिलको १ कट्ठा राम युवा क्लब र अमरखाना पसल पछाडिको १ कट्ठा ४ धुर जग्गा मिथिला नाट्य कला परिषद्, राम मन्दिरकै ४ धुर जग्गामा गणेश युवा कमिटी र सार्वजनिक धर्मशालाको नाममा ४ कट्ठा ९ धुर जग्गा अतिक्रमण गरेको गुठी संस्थानले जनाएको छ । यस्तै, जनकपुर–४ स्थित विद्युत् कार्यालय पूर्वको २ कट्ठा १६ धुरमा १० घर, पिडरीयामाई मन्दिरपूर्वको १४ कट्ठा १५ धुर जग्गामा २२ घर, हनुमान सिनेमा हलको दक्षिणको ३ कट्ठा ७ धुर जग्गा अशोक र सुनिल जलान, जनकपुर–८ बलवा टोलका तीनवटा सिट नम्बरको ४ बिघा, १९ कट्ठा १३ धुर जग्गामा १०३ वटा निजी घर बनेको छ । व्यक्ति र संघसंस्थाले रत्नसागर मन्दिरको जग्गा पनि उल्लेख्य अतिक्रमण गरेका छन् । स्वर्गीय मानमहन्त रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाहमण्डपको साईनबोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुट गुठी ठूलो अक्षरमा लेखेपछि मन्दिरको सम्पत्ति महन्तको विर्ता सरह हुन पुगेको स्थानीय बताउँछन् । जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर सीतारामको विवाह भएको स्थल मणिमण्डपको क्षेत्र पनि भूमाफियाको कब्जामा छ । जनकपुरधामको रानीबजारमा रहेको मणिमण्डपमा भगवान राम, लक्ष्मण, भरत र शत्रुघनको संयूक्तरुपमा स्वयम्बर भएको धार्मिक विश्वास छ । तर, अहिले त्यहाँको धेरैजसो जग्गा अतिक्रमणको चपेटमा परेको छ । यहाँको २५ विघा जग्गा जानकी मन्दिरका पूर्व महन्त स्वर्गीय मानमहन्त रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएको बताइन्छ । बाँकी रहेका जग्गा वर्तमान मान महन्त रामतपेश्वर दास वैष्णवले किर्ते हस्ताक्षरमा गरी बेचिदिएको आरोप स्थानीयवासीहरुको छ । जानकी मन्दिरको साविक ६ हजार बिघामध्ये ५३० बिघा, राम मन्दिरको २८६७ बिघामध्ये २५ सय बिघा, लक्ष्मण मन्दिरको साविक ४१० बिघामध्ये ३९० बिघा अतिक्रमणको चपेटामा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका भित्र १४ राजगुठी छन् । यहाँका ९० प्रतिशत गुठीको जग्गा मालपोत, नापी, गुठी संस्थानदेखि महन्तको मिलोमतोमा मासिएको छ । जनकपुरधामका विभिन्न गुठीका जग्गा एक हजारभन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गरिरहेका छन् । अतिक्रमण गर्नेहरुमा सांसद, पूर्वमन्त्री र स्थानीय नेतादेखि ठूला व्यापारीसमेत संलग्न रहेको भोजराज घिमिरेको प्रतिवेदनमा उल्लेख छ । रत्नसागरको ६५ बिघामध्ये ४२ बिघा, कुवा मठको ४८५ बिघामध्ये ४६० बिघा, हनुमान मठको १४३ बिघामध्ये १३० बिघा जमिन अतिक्रमण भइसकेको छ । धनुषाको परवाहामा गरिब घरपरिवारमा जन्मेका जानकी मन्दिरका महन्त रामतपेश्वर दास अहिले अर्बौंका मालिक बनेका छन् । जानकी मन्दिरको अधिनमा रहेका पोखरी, बजार, रामजानकी विवाह मण्डप, सांस्कृतिक संग्रहालय, फोटो ठेक्का लगायतबाट बर्षेनि १० करोड रुपैयाँ अम्दानी हुन्छ । तर खर्चको भने कुनै लेखाजोखा छैन । २०५४ सालमा नियुक्त भएका रामतपेश्वर दास वैष्णवले महन्तको पगरी लगाएपछि मन्दिरको श्रीसम्पत्ति आफ्नो निजी सम्पत्तिझैं प्रयोग गरिरहेका छन् । जानकी मन्दिरबाट बार्षिक रुपमा उठ्ने भेटी र चढौना झण्डै २ करोडभन्दा बढी हुने गर्दछ । उक्त रकम रामतपेश्वरले निजी तवरले खर्च गर्छन् । यो काममा उनलाई छोटे महन्त भनिएका रामरोशन दासले सघाउँछन् । उनीहरुले निजीजस्तै गरेर जानकी मन्दिरको सम्पत्ति प्रयोग गर्दै आईरहेका छन्, जसको न कुनै आयव्यय विवरण सार्वजनिक हुन्छ, न त कुनै लेखा परीक्षण नै । जानकी मन्दिरको आय आम्दानीको स्रोत के के हुनसक्छन त ।

– कन्या पोखरी, कपालमोचानी, महाराजसर, लक्ष्मणसर लगायत दर्जनौं पोखरीको ठेक्काबापत वार्षिक १ करोड

– रामजानकी विवाह मण्डपको ठेक्काबापत वार्षिक ३५ लाख

– बजार, फलफूल र फुटपाथ ठेक्काबापत वार्षिक २४ लाख

– सांस्कृतिक संग्रहालय ठेक्काबापत वार्षिक ३० लाख

– नटुवा नाच ठेक्काबापत वार्षिक १६ लाख

– रामजानकी विवाह मण्डप, सिडी स्टल र फोटो ठेक्काबापत वार्षिक १४ लाख

– जानकी मन्दिर फोटो खिचाई ठेक्काबापत वार्षिक ९ लाख

– जानकी मन्दिर परिसर प्रसाद सटर ३ थान ठेक्काबापत वार्षिक १८ लाख

– लक्ष्मण मन्दिरसँगै रहेको सटर भाडाबापत वार्षिक २५ लाख

– एभरेष्ट बैंकको एटीएमबाट वार्षिक ५ लाख

– सुनैना आर्ट ग्यालरीबाट वार्षिक ३ लाख

कमिशनको चलखेलमा महन्त रामतपेश्वरदेखि छोटे महन्त भनिएका रामरोशनको सेटिङ्गमा हरेक वर्ष एउटै व्यक्तिले यी ठाउँहरुको ठेक्का पाउने गरेका छन् ।
यता महन्त दासले भने आफूले कुनै मठ–मन्दिरको जग्गा बिक्री वितरण नगरेको दाबी गर्दै आएका छन् ।
जनकपुरधामका गुठी अधिनस्थ अधिकांश जग्गा ठेक्कामा लगाइएको छ । जनकपुरधाम–२३ बेलाकुट्टीस्थित श्री रामजानकी दुल्हा दुल्ही भगवान मन्दिरको कित्ता नम्बर ३०९ मध्ये १ बिघा ११ कठ्ठा १० धुर जग्गा ५ बर्षका लागि विश्व भारती फाउण्डेशन, सोही कित्ता मध्येबाट ५ बिघा १० कठ्ठा ३८ वर्षका लागि गजेन्द्र नारायण स्मृति प्रतिष्ठान र ४ बिघा जनकपुर अञ्चल बस व्यवसायी संघलाई २०८० पुस मसान्तसम्मका लागि ठेक्कामा दिइएको देखिन्छ । त्यस्तै, जानकी मन्दिर अधिनस्थ जनकपुरधाम–१८ स्थित भोयल मठको जग्गाबाट ३२ बिघा १० कठ्ठा १६ धुर २० वर्षका लागि जनकपुरधाम उपमहानगरपालिकाले, जनकपुरधाम–३ स्थित लक्ष्मण मन्दिरको वडा नम्बर–१४ स्थित विभिन्न कित्ताको क्षेत्रफलबाट १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा ३० वर्षका लागि राष्ट्रिय खेलकुद परिषद्ले, राम मन्दिर अधिनस्थ जनकपुरधाम–४ स्थित कित्ता नम्बर ३६ को ५ कठ्ठा ३ धुरमध्ये १० धुर २५ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति धनुषाले, रत्नसागर गुठीको जनकपुरधाम–१४ स्थित विभिन्न कित्ता नम्बरको १६ बिग्हा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि मणिपाल एजुकेशन मेडिकल ग्रुपले ठेक्कामा लिएको देखिन्छ । त्यस्तै, जानकी मन्दिरको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ५८ को ७ कठ्ठा मध्ये ५ कठ्ठा ५ धुर १० वर्षका लागि राजर्षि जनक पतञ्जली योग साधना केन्द्रलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित ८ कठ्ठा २ धुर २० वर्षका लागि राजर्षि जनक क्याम्पसलाई, जानकी मन्दिरको जनकपुरधाम–६ स्थित १४ कठ्ठा २ धुर ३ कनमा मध्ये दक्षिणतर्फबाट ५ कठ्ठा १६ धुर १५ कनमा २५ वर्षका लागि राधामाधव समितिलाई ठेक्का दिइएको छ । राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर १ मध्ये दक्षिणतर्फबाट २ कठ्ठा ५ धुर १० वर्षका लागि मिथिला नाट्यकला परिषद्लाई, राम मन्दिर गुठीको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ४११ मध्येबाट ४ कठ्ठा १९ धुर ४ कनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई, राम मन्दिर गुठीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ४९ को १३ कठ्ठा १२ धुर २ कनमा जग्गाबाट ४ कठ्ठा रामनारायण मिश्र चिन्तन प्रतिष्ठानलाई, बसही कुट्टीको जनकपुरधाम–८ स्थित कित्ता नम्बर ३१८ मध्येबाट ६ बिग्हा ३ कठ्ठा १५ धुर जनक हजारी विद्यापिठलाई, राम मन्दिरको जनकपुरधाम–४ स्थित कित्ता नम्बर ९५ को १ कठ्ठा १९ धुर १ कनमा मध्ये उत्तर पूर्वतर्फबाट १५ धुर जग्गा २०७३ चैत ६ गते भएको सम्झौताबमोजिम निर्माण गर्ने र द्वितीय पक्षले ५ वर्षभित्र संग्रहालय निर्माण गरी प्रथम पक्षलाई हस्तान्तरण गर्ने सर्तमा मिथिला कला तथा संस्कृति संग्रहालय निर्माणका लागि प्रदान गरिएको थियो ।
गुठीका जग्गा व्यक्ति विशेषलाई पनि ठेक्कामा दिइएको देखिन्छ । इटहर्वा मठको इटहर्वा–३ स्थित कित्ता नम्बर १६३ को ७ बिघा १२ कठ्ठा १४ धुर ८ कनमा जग्गा १० वर्षका लागि सोही ठाउँ बस्ने कृष्णाकुमार चौधरी, जानकी मन्दिरको जनकपुरधाम–११ स्थित कित्ता नम्बर २१ बाट १२ धुर १५ वर्षका लागि विश्वनाथ मिश्र भन्ने सियाराम दास, राम मन्दिर अधिनस्थ रहेको सखुवा, हरकरवा, हात्तीसार, जलाडी निकास विर्ता, औराहा दिगम्बरपुरको विभिन्न कित्ताबाट १४८ बिघा जग्गा २०७३ कातिक ११ देखि लागु हुनेगरी २०८३ कातिक १० सम्मका लागि दिगम्बरपुर–२ बस्ने राजेश महतो र राम मन्दिर बिरख कुट्टी अधिनस्थ रहेको सुगामधुकरही, चक्कर, पौडेश्वर मौजाको विभिन्न कित्ताबाट १२७ बिग्हा १० कठ्ठा ७ धुर २०७३ मंसिर ५ देखि लागु हुनेगरी २०८३ मंसिर ४ सम्मका लागि सुगानिकास–८ बस्ने बरुणप्रसाद मण्डललाई ठेक्का लगाइएको पाइएको छ । त्यस्तै, सिता कुण्डको जनकपुरधाम–८ स्थित कित्ता नम्बर १२ को २ बिघा २ कठ्ठा १४ धुर ११ कनमा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि दिप नारायण साहले सञ्चालन गरेको जनकपुर ड्राइभिङ्ग प्रशिक्षण केन्द्र र सिता कुण्डकै जनकपुरधाम–८ स्थित कित्ता नम्बर ९ को १५ कठ्ठा २ धुर ३ कनमा मध्येबाट १५ कठ्ठा जग्गा २०७६ असार २४ देखि लागु हुनेगरी ५ वर्षका लागि मोहन प्रसाद यादवले सञ्चालन गरेको एपी कन्स्ट्रक्सनलाई लिजमा दिइएको छ ।

जानकी मन्दिरको पुरानो स्रेस्ता अर्थात् वि.सं. १९८३ को लगत गुठी संस्थान कार्यालयबाट गायब भएपछि ठेकेदारदेखि कर्मचारी र राजनीतिज्ञसम्मले जग्गामा अतिक्रमण गर्न थालेको सो प्रतिवेदनमा उल्लेख छ । तत्कालीन अञ्चलाधीश कार्यालयले २०२९ सालमा महन्त रामशरण दास वैष्णवबाट फाँटबारी जग्गा नगदीबाट हुने आयस्था माग गरेको थियो । सो समयमा अञ्चलाधीश कार्यालयलाई फाँटबारीमा जग्गाको विवरण लुकाएर दिइएको पाइएको छ । सोही विवरणलाई गुठी संस्थानले आधिकारिक मानेर दस्तावेजका रूपमा प्रस्तुत गरेको थियो । गुठी संस्थानका अनुसार रत्नसागर मन्दिरको ८ ठाउँको जग्गा अतिक्रमणमा परेको छ । जनकपुर–८ स्थित मध्यमासर पोखरीको ११ कट्ठा ५ धुरमा ३३ घर, रत्नसागर पोखरीको ११ कट्ठा ५ धुरमै ३३ घर, कपालकोचनी पोखरीको ५ कट्ठा ८ धुरको डिलमा १९ घर बसेको छ । रत्नसागर मन्दिरको जनकपुर–८ स्थित ४ वटा कित्ता नम्बरको ६ बिघा २ कट्ठा ८ धुर जग्गा अतिक्रमणमा परेको गुठी संस्थानसँग तथ्यांक रहे पनि कसले अतिक्रमण गरेको भन्ने खुलाइएको छैन । रत्नसागर मन्दिरकै ४ धुर जग्गामा पिराडी चोक युवा क्लबले भवन बनाएको छ । यस्तै, जानकी मन्दिरको ७ ठाउँको १७ कट्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ । जनकपुर–८ पिडारी चोकस्थित गोडधाई पोखरीको ८ धुरमा ४ घर, जनकपुर–८ अरगजा पोखरीको डिलको २ कट्ठा १५ धुरमा ३ घर, दशरथ तलाउपूर्वको ६ कट्ठा ११ धुरमा ६६ घर, तेलहामरहा पोखरी डिलको ५ कट्ठा १५ धुरमा २७ घर र मराहा पोखरीको २ कट्ठा ५ धुर जग्गा अतिक्रमण गरेर २२ घर बसेको छ । जानकी मन्दिरको जग्गामा जनक युवा क्लबले घर बनाएर भाडामा लगाएको र बेंगाशिवपुरको जग्गा पनि अतिक्रमणमा परेको गुठी संस्थानले जनाएको छ । अतिक्रमणमा परेको जानकी मन्दिरको जग्गा सहरको मध्यभागको महँगो मूल्य पर्ने क्षेत्र हो । तत्कालीन महन्त रामशरण दास वैष्णवले जनकपुर नगरपालिका क्षेत्रभित्र जानकी मन्दिर छुट गुठीअन्तर्गत साविकको बेल्ही, बिर्ता मौजा अन्तर्गत हाल किशोरी नगर, बेल्ही, रजौल, पिडारी तथा त्यस वरिपरिको ९१ बिघा १८ कठ्टा ८ धुर उल्लेख छ । लगतमा उल्लेख भएअनुसार मन्दिर, सडक, गौचर, पोखरीजस्ता धार्मिक, पुरातात्विक, ऐतिहासिक महत्वको ७४ कित्तामा ५५ बिघा ८ कठ्टा १८ धुरको मात्र लगत देखियो । बाँकी चार किल्ला नलेखिएकाले उक्त जग्गा कुन अवस्थामा छ, कहाँ छ भन्ने खोजी गरिएको छैन । सोही समयदेखि लगत नराखिएपछि मन्दिरका गुठी बेवारिसे भयो र बेवारिसे गुठीलाई संस्थानले छुट गुठीअन्तर्गत राखेर रेखदेख र सम्पदाको संरक्षणको सम्पूर्ण जिम्मा महन्त रामशरण दासलाई सुम्पिएको थियो । महन्तकै लिखितमका आधारमा २०५१ सालको नापीको मौका छोपेर विभिन्न व्यक्तिले छुट गुठीको जमिन आ–आफ्नो नाममा दर्ता गराएका थिए । ०५१ सालमा नापी गरिएको जमिन गुठी संस्थान ऐन २०३३ को संशोधन सहितको दफा २५(३) लगाएर रैतानी दर्ता गरियो । महन्तको जालसाजपूर्ण लिखितमलाई गुठी संस्थान, मालपोत कार्यालय र नापी विभागले मान्यता दिएपछि महन्तले स्थानीय भूमाफियासँग मिलेर गुठी जमिनको खुला कारोबार चलाएको जनाइएको छ । मनगढन्ते मनखपको आधारमा जानकी मन्दिरको जमिनमा अहिले हजारभन्दा बढी परिवारले घर बनाएर व्यापार–व्यवसाय र धन्दा चलाएर बसेका छन् । महन्त थलिँदै गएपछि बिस्तारै रामतपेश्वर दास वैष्णवले आफ्नो गुरु रामशरण दासको किर्ते (नक्कली) हस्ताक्षरबाट कबुलियतनामा लेखी आफूले कुत बुझेको भर्पाइ दिई प्रतिकठ्टा २५ देखि ५० हजारका दरले बिक्रीवितरण गरेको देखिन्छ । २०४४ सालदेखि २०५१ सम्ममा जानकी मन्दिरबाट मनखप प्राप्त गरेका जग्गामा घर बनाई बसेकाहरूलाई महन्तले मनखपबापत आफूले गुठीको जमिन लिएर सो जमिन व्यक्तिलाई बेचिदिएको भनी लिखितम रुपमै बनाइन्थ्यो । सो प्रतिवेदनमा महन्त रामतपेश्वर दास वैष्णवले अनधिकृत रूपमा जानकी मन्दिरको पोखरी, त्यसको डिलको जग्गामा घर, सटर आदि बनाउन लगाएको उल्लेख छ । पछिल्लो समय बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्ष रामकुमार शर्मा हुँदा ती जग्गा खाली गराइएको थियो । यसैगरी रामचन्द्र गुठी, लक्ष्मण मन्दिर गुठी र हनुमान मन्दिर गुठीको ४ बिघा जमिन पनि बिक्री भयो । रानीपाटीको ५ बिघा जमिन अतिक्रमण गरेर रैकर दर्ता गराई बिक्री भएको छ । जानकी मन्दिरका महन्त रामशरण दास वैष्णवको २०५३ सालमा निधनपछि रामतपेश्वर दास वैष्णव उत्तराधिकारी बने । उनले पुरानै मितिमा गुरु रामशरण दास वैष्णवका नाममा नक्कली हस्ताक्षरमा मनखप लिखत तयार पारेर गुठीको जमिन बेचेको आरोप छ । कार्यदलको प्रतिवेदनमा लेखिएको छ, ‘२०५३ सालमा नापी हुँदा सर्वे नक्सामा घर नरहेको र मन्दिरका खाली रहेको जमिनमा पनि मन्दिरका महन्तद्वारा नापी पहिलेको मितिको जालसाजी मनखप कागज तयार गराई घर बनाउन लगाएको देखिएको छ ।’ अंगराज (अरगज्जा) सर, तेलहा, मराहा पोखरी, पाकवती पोखरी, रामानन्द चोकपूर्वको खाली जग्गा, जनस्वास्थ्य कार्यालयपूर्वको जग्गा, देवी चोकको जग्गा, दशरथ तलाउ र मणिमण्डप तथा हनुमान मन्दिरको जग्गा रामतपेश्वर दास वैष्णवले बिक्री गरेको उल्लेख छ । प्रदेश २ को मुख्य केन्द्रको रुपमा रहेको अस्थायी राजधानी जनकपुरधाममा बिघौँ बीघा जग्गा अतिक्रमण हुँदा समेत प्रदेश सरकार र स्थानीय तह मौन छन् । ऐतिहासिक धार्मिक सांस्कृतिक महत्वका सार्वजनिक श्रीसम्पत्तिसहित जग्गालाई राज गुठी, छुट गुठी र निजी गुठी गरि ३ प्रकारको गुठीको जग्गामा छुट्याइएको छ । ३० वटाभन्दा बढी कानुन बनाईसकेको प्रदेश सरकारले सार्वजनिक सम्पत्ति संरक्षणको सवालमा कानुन निर्माण भई प्रदेशसभामा विचाराधीन रहेको जनाएको छ । ऐतिहासिक धार्मिक सांस्कृतिक क्षेत्र विकासका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको उल्लेख्य भूमिका रहने भए पनि सबै तहका सरकारले बेवास्ता गर्दा सार्वजनिक जग्गा अतिक्रमणको चपेटमा परेको देखिन्छ । ती जग्गा गुठीको अधिनस्थ रहे पनि सोको स्वामित्वमा भने स्थानीय तह, प्रदेश सरकार र सरोकारवालाहरुलाई संघीय सरकारले जिम्मेवारी दिएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुर रंगभूमी मैदान आफुहरुको अधिनमा नरहेकाले सोको विकास र संरक्षणको ठोस योजना ल्याउन असमर्थ रहेको बताउँछन् ।

Like