लुम्बिनीमा इतर पुन प्रदेश सभापतिमा विजयी
रासंसा/रुपन्देही, मार्ग २०,
मुलुकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुन मगर विजयी भएका छन् । रोल्पाका पुन कांग्रेस लुम्बिनीको पहिलो सभापतिका रूपमा उदाएका हुन् । केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका रुपन्देहीका भरतकुमार शाह पुनसँग ८५ मतले पराजित भए । पुनले ८५२ मत ल्याए भने, शाहले ७६७ मत । निर्वाचित भएपछि कुराकानी गर्दै पुनले भने, ‘कांग्रेसलाई केन्द्रविन्दुमा राखेर मैले काम गर्छु । निर्वाचनमा गएपछि समूहगत उम्मेदवारी स्वाभाविक जस्तै हो । मैले कसैलाई काखा कसैलाई पाखा गर्दिनँ । अबको मेरो ध्यान कांग्रेसलाई लुम्बिनीमा बलियो बनाउँदै संघारमै आउन लागेको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई सबै क्षेत्रमा जिताउने गरी पार्टी संगठनलाई बलियो बनाउँदै अगाडि बढ्छ ।’ पुन समूहको उत्साहजनक नतिजाले गृहमन्त्री खाँण र उनको समूहले ठूलो धक्का महशुस गरेको छ । संस्थापनइतरका पुन कांग्रेसको कोइराला परिवारनिकट नेता हुन् । मुलुकमा संघीयता कायम भएको ४ वर्षपछि पहिलोपटक प्रदेश संरचनामा गएको कांग्रेसको प्रदेश सभापतिको कुर्सी ५१ वर्षीय पुनका लागि सुरक्षित भएको छ । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए । खनाल देउवा पक्षका हुन । महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन । लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो । रोल्पामा माओवादीको शसस्त्र द्वन्द्वकालमा पनि उनले जिल्लामा सक्रिय राजनीति गरे । निर्माण व्यवसायसँगै राजनीति गर्ने पुनका निर्माण सामग्रीहरू माओवादीले जलाइदिनेसम्मको काम गरेपछि पुन रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त, कहिले नेपालगञ्ज बस्न थाले ।