काँग्रेस प्रतिनिधिलाई महाधिवेशनमा भोजन तथा आवासको व्यवस्थापन, भृकुटीमण्डपमा भात, होटलमा बेड
रासंसा/काठमाण्डौ, मार्ग २०,
नेपाली कांग्रेस यहि मंसिर २४–२७ मा काठमाडौंको भृकुटीमण्डपमा हुने १४ औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार भोजन र आवास उपसमिति बनाएर काम भइरहेको छ । नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूका लागि भोजन र आवासको प्रबन्ध मिलाएको छ । महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । नेपाली काँग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्नेभएको छ । काँग्रेसले महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका करिब ८ सय वटा होटलहरू बुकिङ गर्ने भएपछि उपत्यकाका होटल व्यवसायीहरूको बिजनेस चम्कने भएको छ । खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ । होटलमा चाहिँ प्रतिनिधिले सुख्खारुपमा सुत्नमात्रै पाउने छन् ।