कर्मचारीलाई छ महिनासम्म बेतलबी परिश्रम भने इच्छाराज तामांगको मासिक पारिश्रमिक आठ लाख,
रासंसा/काठमाण्डौ, मार्ग १८,
मुलुकमा ठगि गर्ने गिरोह प्रसस्त मात्रामा छन l सीभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएको छ । तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो । तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो । अध्यक्ष श्रेष्ठले दिएको बयानले सयौँ बचतकर्ताको अर्बौँ रकम ठग्ने इच्छाराजले आफूले पारिश्रमिकबापत मोटो रकम लिने गरेको पुष्टि भएको छ । बैठक भत्ताबाहेक नै मासिक आठ लाख पारिश्रमिक लिने इच्छाराजले आफ्ना कर्मचारीलाई भने ६ महिनासम्म बेतलबी जागिर दिएको समेत खुलेको छ । सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छाराज तामाङले सहकारी संस्थाबाट बैठक भत्ताबाहेक मासिक पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन् ।’ यो बयानले इच्छाराजले आफ्ना बचतकर्तालाई मात्र नभई कर्मचारीलाई पनि ठग्दै आएको देखिएको छ । उनको ठगी गर्ने हकर्तबाट कर्मचारी समेत अछुतो रहेको पाइएको हो । २८४ पृष्ट लामो अभियोग पत्रमा बयान दिँदै सहकारी संस्थाका लेखा अधिकृत राकेश महर्जनले ६ महिनादेखि तलब नपाएको बताएका छन् । सरकारी वकिलको कार्यालयलाई बयान दिँदै उनले भने, ‘सहकारी संस्थाको लेखा अधिकृतमा रहँदा मैले ठगी गरेको छैन । बरु उल्टै ६ महिनासम्म बेतलबी श्रम गरेको छु ।’ इच्छाराजको सोल्टीमोडमा रहेको सहकारी संस्थाले आफ्नो संस्थामा बचतकर्ता लोभ्याउनलाई सुनको सिक्का उपहारको योजना समेत ल्याएको थियो । सहकारीले धेरै बचतकर्ता ल्याउन र बचतकर्ताबाट अझै धेरै बचत ल्याउन सुनको सिक्का उपहार दिने योजना बनाएको थियो । सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बचतकर्ताले दिएको बयानले यस्तो देखाएको हो । बचतकर्ता जितनीदेवी कोइरानीका श्रीमान् विश्वनाथ सिंहले सहकारीमा मोटो रकम बुझाएबापत २.५ ग्रामको ८ वटा सुनका सिक्का पाएका थिए । विश्वनाथले सहकारीमा धेरै पटक गरेर करिब ८० लाख रुपैयाँ निक्षेप जम्मा गरेका थिए । त्यसबापत उनले १५ प्रतिशतसम्मको आकर्षक ब्याज पाउने आश्वासन सहकारीमार्फत पाएका थिए । तर, सावा÷ब्याजसहित सबै रकम झिक्न जाँदा एक करोड १९ लाखभन्दा बढी भुक्तानी पाएनन् । अभियोग पत्रमा बयान दिने क्रममा तीन जना बचतकर्ताले आकर्षक ब्याज र सुनको सिक्का उपहार दिएको बताएका छन् । उनीहरूले धेरै पैसा राखेबापत सहकारीबाट पाँच ग्रामदेखि २ ग्रामसम्मको धेरै वटा सुनको सिक्का पाएको बयानमा बताएका छन् । तर, सीमित अवधिसम्म पैसा राखेपछि निक्षेप झिक्न जाँदा सहकारीले पैसा अभाव लगायतको विभिन्न बहाना देखाएर भुक्तानी दिन आनाकानी गरिरहेको उनीहरूको भनाई छ । वि.स. २०५७ सालमा स्थापना भएको सहकारीले २१ सय जना निक्षेप सदस्यको अर्बौँ रकम भुक्तानी गर्न बाँकी छ । उनीहरूसँग निक्षेपकारुपमा लिएको मोटो रकम भुक्तानी दिन बाँकी रहेको संस्थापक अध्यक्ष तामाङले नै स्वीकारेका छन् । भनेका छन्, ‘करिब २१ सय बचतकर्ता सदस्यलाई ७ अर्ब रकम फिर्ता दिनुपर्ने हुन्छ ।’ यस्तै, प्रतिभा अमात्यका श्रीमान् चन्द्रबहादुर श्रेष्ठले पनि २०७० सालमा ४० लाख जम्मा गरेबापत ५ ग्रामका २ वटा सिक्का पाएका थिए । त्यसपछि थप पैसा जम्मा गर्दा थप २.५ ग्राम तौलको दुई वटा सिक्का पाएका थिए । यसै गरी, प्रतिमा ताम्राकारका श्रीमानले सहकारीमा पाँच लाख रुपैयाँ जम्मा गर्दा दुई ग्रामका दुई वटा सिक्का पाएको बयानमा उल्लेख छ । पछि, पैसा फिर्ता लिन जाँदा विभिन्न बहानामा नपाएको उनीहरूले बयानमा बताएका छन् । जसमध्ये सहकारी संस्थाले सिभिल होम्स लगायतका संस्थाबाट ५ अर्ब कर्जा असुल्न बाँकी रहेको तामाङले बयान दिएका छन् । खास गरी, २०७२ सालमा आएको विनाशकारी भूकम्पले निर्माण सम्पन्न भएका र निर्माणाधीन अपार्टमेन्टमा क्षति पुर्याएकाले ठूलो नोक्सानी बेहोर्नु परेको उनको भनाई छ । ‘भूकम्पले निर्माण भइसकेका र निर्माणाधीन घर र अपार्टमेन्टमा क्षति पुर्यायो,’ उनले भने, ‘त्यसपछि २०७६ सालदेखि आएको कोरोना महामारीका कारणले घर÷अपार्टमेन्ट बिक्रीमा कमी आएकाले सावा÷ब्याज तिर्न नसकेको हो ।’ सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले ठगी प्रकरणमा आफू संलग्न नरहेको भन्दै उम्किने प्रयास गरेका छन् । उनले दिएको बयानमा भनेका छन्, ‘मँ नाम मात्रको अध्यक्ष हुँ । मेरो खाता पनि इच्छाराज तामाङले चलाउँथे ।’ यसरी, आफू कठपुतली मात्रै भएको भन्दै ठगी प्रकरणको सम्पूर्ण दोष इच्छाराज तामाङमाथि थोपरेर उम्किने प्रयासमा उनकै संस्थाका लेखा अधिकृतले भाँजो हालेका छन् । उनले भनेका छन्, ‘इच्छाराजसँगै अध्यक्ष केशवलाल श्रेष्ठको पनि संलग्नता छ ।’ उनले सरकारी वकिल कार्यालय समक्ष बयान दिने क्रममा बचतकर्ताले बचत गरेको रकम फिर्ता दिने दायित्व आफ्नो नभएको समेत बताएका छन् । उनले अर्बौँ रकम फिर्ता दिने दायित्व संस्थाको भएको बयान दिएका छन् । श्रेष्ठले सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा धेरै जसो समय आफू निर्देश रहेको र इच्छाराज नै दोषी रहेको पुष्टि गर्न खर्चिएका छन् । श्रेष्ठले आफ्नो नामको खाता पनि इच्छाराजले नै चलाइरहेको समेत उल्लेख गरेका छन् । यद्यपि, इच्छाराजले बचतकर्ताको रकम फिर्ता गर्ने आफ्नो दायित्व नभएको बताउँदै गर्दा श्रेष्ठले भने सम्पत्ति बेचेरै भए पनि रकम फिर्ता गर्ने बयानमा बताएका छन् ।