मुलुकको समृद्धि खाका कोर्न महाधिवेशनले उचित नेतृत्व छनोट गर्नेछः नेता बस्नेत

Share to:

श्याम कुमार बस्नेत, एमाले युवा नेता तथा जनपरिचालन कमिटी (१०औं महाधिवेशन)

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन र यो अधिवेशनमा फरक के छ ?
विधान अधिवेशन र यो अधिवेशन बीच केही फरक छ तर दुवै अन्तरसम्बन्धित विषय हुन । विधान अधिवेशन २०७८ साल असोज १५–१७ गते दुई दिन ललितपुरको गोदावरीमा सम्पन्न भइसकेको छ । यो नीति र विधि निर्माणमा केन्द्रित थियो । जसले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन सम्बन्धी दस्तावेज सर्वसम्मत रुपले पारित गरिसकेको छ भने अब चितवनमा हुने महाधिवेशनले विधान महाधिवेशनले पारित नीति र विधिको कार्यान्वयन गर्ने नेतृत्व छनोट गर्नेछ । त्यसकारण दुवै अन्तरसम्बन्धित छन् भन्न सकिन्छ ।

अहिले एमालेलाई घेराबन्दी गरिरहेको सन्दर्भमा नेतृत्व छनोट कसरी गर्नुहुन्छ ?
राष्ट्र बनाउने महान अभियानमा लागिराखेको एमालेले पार्टीको आन्तरिक संगठनलाई सुदृढ गर्ने सवालमा सुझबुझका साथ अगाडि बढ्नेछ । अहिले चौतर्फी हमला, दवाव र घेराबन्दी भईरहँदा हामीले निकै बुद्धिपूर्ण ढंगले लाग्नुपर्दछ । पार्टीलाई सबै ठाउँबाट विस्थापित गर्न सकिन्छ कि भन्ने प्रयास पनि भईरहेको छ । अदालतले समेत संविधानको अपव्याख्या गरेर एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने प्रयास भयो । इतिहासमै गलत अध्यादेश प्रयोग गरिएको छ । सभामुख जस्तो गरिमामय संस्थाको जिम्मेवारी लिएर एमाले पार्टीलाई विभाजित गर्ने धृष्टता गरिएको छ । यसको वावजुद पनि जनताको प्रिय बनेको एमालेले यो महाधिवेशनबाट सर्वसम्मत उम्मेद्वारको प्रयासमा जानुपर्दछ ।

यहाँहरुको नाराले बढी केन्द्रित गर्न खोजेको कुरा के हो ?
हाम्रो विधान महाधिवेशनमा हामीले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारा सर्वसम्मतले पास गरेका थियौं । तिनै नारालाई कार्यान्वयनको तहमा लैजान त्यस मुताविकको नेतृत्व छनोट गर्ने प्रक्रियामा हामी छौं । त्यसकारण एकातिर ५ दलको गठबन्धनको बेथिति कार्य र अर्कोतिर पार्टीभित्र देखिएको अराजकतालाई नियन्त्रण गर्ने सवाल अहिलेको अहिलेको मुख्य सवाल रहेको छ । हामीले पार्टी निर्माण गर्ने सन्दर्भ राष्ट्र निर्माणसँग सम्बन्धित छ, र जसको दीर्घकालिन सोच समृद्ध नेपाल सुखी नेपाली नै रहेको छ ।

अहिले यहाँको पार्टीभित्रको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
नेकपा (एमाले) अहिले पूर्ण रुपमा गुटबन्दीमुक्त छ । अब हामीले दक्षिणपन्थी अवसरवादको विरुद्धमा जुध्नुछ । प्रतिक्रियावादी शक्तिहरु एकजुट भएर एमालेको विरुद्धमा उभिएका छन् । यो अवस्थामा हामीले आन्दोलनका उपलब्धि समाप्त पार्ने कुनै पनि प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्नुको अर्को विकल्प छैन ।

यहाँहरुको पार्टी र नेतृत्व सर्वसम्मत हुने कुरामा विश्वस्त हुनुहुन्छ त ?
नेकपा एमाले सर्वसम्मत नेतृत्व छनोटको प्रक्रियामा छ । नेपालमा भएको पार्टीहरु मध्ये एमाले माउ पार्टी हो । त्यस पार्टीको नेता केपी शर्मा ओली नेपालका समसामयिक नेताहरुमध्ये उच्च तहका राजनेता हुनुहुन्छ । उहाँले यसको व्यवस्थापन सजिलै गर्नुहुन्छ भन्ने विश्वास लागेको छ ।

केपी ओली त कक्षा नदोहोराउने भन्नु भएको थियो नि ? विश्वास त भएन नी ?
अहिले केपी ओलीको पार्टीमा आवश्यकता मुुलुकको आवश्यकता भएकोले मूल नेतृत्वको सवालमा कुरै नउठाउँ । राजनीतिमा मनोगत व्याख्या गर्नुहुँदैन । कुनै समय हामीलाई लिङ्ग नछुटिएको पार्टी भन्ने नामाकरण पनि गरिन्थ्यो । हामीले जस्तासुकै शक्तिसँग पनि हात मिलायौं । सत्ता नै सर्वेसर्वा ठान्यौं । जसले गर्दा क्रमशः जनताबाट टाढिँदै गयांै । कुनै समय ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्षमा पुगेर ज्ञानेन्द्रको पाउँमा पनि ढोक्यौं । एमाले जस्तो क्रान्तिकारी पार्टीलाई माओवादी सशस्त्र द्वन्द्वको नाममा विचलन गर्न खोजियो । त्यसको सम्पूर्ण प्रतिवाद त केपी ओलीले नै गर्नुभएको हो नि । यि सबैको मूल्यांकन गरेर नै यो संकटको सामना गर्ने अव्बल क्षमता उहाँमा रहेको देखेर नै सम्पूर्ण कार्यकर्ताले ऊहाँलाई नै अध्यक्षको रुपमा अघी सारिएको हो ।

पार्टीको महाधिवेशन पछि एमाले कसरी अगाडि वढ्छ ?
नेकपा एमालेसँग निकै महत्वपूर्ण कार्यभार रहेको छ । मुख्यगरी संसदीय राजनीतिलाई अगाडि बढाउने सन्दर्भमा हामीले स्थानिय, प्रदेश र संघिय तिनवटै निर्वाचनमा अव्बलता हासिल गर्नुपर्नेछ । त्यसकारण पार्टीमा स्थापित विधि, पद्धति र प्रचलित असल परम्परालाई अंगिकार गर्दै पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा, कटुतापूर्ण व्यवहार, निजी स्वार्थ, सरकारमा जाँदा दुरुपयोग गर्ने, गुटगत स्वरुपमा लाग्ने यस्ता प्रवृत्तिको अन्त्य आगामि दिनमा हुनेछ ।

चितवनको अधिवेशनमा ५ लाख मानिस उतार्ने कुरा के सत्य हो त ?
त्यो सत्य हो । हामीले थोरैमा ५ लाख भनेका हौं । यति मानिस उतार्नु एमालेको लागि सामान्य हो । हामी त्यो भन्दा पनि बढी उतार्न सक्छौ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
नेकपा एमाले माउ पार्टी हो । त्यसको नेता केपी ओली हुनुहुन्छ । उहाँको नेतृत्वमा श्रेष्ठता हासिल गर्छ । विचार, नीति, कार्यक्रम र त्यसको कार्यान्वयन क्षमता उहाँसँग प्रवल छ । यही नेतृत्वले अब वैचारिक र सङ्गठनात्मक चुनौतीहरूको सही पहिचान गरेर त्यसको समाधान गर्न पार्टी स्कूल विभागलाई प्रभावकारी बनाई त्यसमा केन्द्रित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

Like