नेतृत्व चयन मात्र होइन, राष्ट्रिय निर्वाचनको पूर्वाभ्यास एमालेको दशौं महाधिवेशन
रासंसा/काठमाण्डौ, मार्ग ४,
मुलुकमा नेकपा एमालेको दशौँ महाधिवेशनमा लाखौं मान्छे उतार्ने तर सर्वसम्मत नेतृत्वमा केन्द्रीत एमाले महाधिवेशनको स्थल निर्माण र व्यवस्थापनको तीव्र तयारीमा जुटिसकेको छ । यो महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र सीमित नभएर राष्ट्रिय चुनावको पूर्वाभ्यास रहेको बुझ्न सकिन्छ ।आगामी एक सातामा सुरु हुने प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको मनोविज्ञान भनेकै सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नु हो । नेतृत्वले एकताको सन्देश दिन जिल्ला, प्रदेश र निर्वाचन क्षेत्रसम्मै सर्वसम्मत विधि अपनाउन दिएको निर्देशनअनुरूप अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । एमालेले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ सदस्यीय पदाधिकारी सहित २ सय २५ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ । विधानले केन्द्रीय कमिटीको निर्वाचनमा कम्तीमा एक तिहाई महिला, निर्वाचित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी निर्माण गर्नेछ । १९ सय ९९ प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि आवश्यक दस्तावेजसहितका सामग्री एमालेले तयारी अवस्थामा राखेको छ । यसअघि ९ औं राष्ट्रिय महाधिवेशनले नीति र नेतृत्व एकैपटक दिए पनि यस पटकको महाधिवेशनले संसोधित विधानअनुसार नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षीहरू धेरै भए पनि हालसम्म खुल्न सकेको अवस्था अझै बन्न सकेको छैन । एमाले अहिले पार्टी अध्यक्ष, दशबुँदे सहमति गरेका नेताहरू र पूर्व माओवादी गरी तीन समूह अस्तित्वमा छ । कुनै समूह शक्ति सन्तुलन मिलाउने र जोडघटाउ तथा कोही सम्मानजनक पद नभए प्रतिस्पर्धा गर्न तयार छन् । सर्वसम्मत नभए प्रतिस्पर्धाका लागि पनि पार्टी तयारी अवस्थामा रहेको केन्द्रीय सदस्यसमेत रहेका कार्यालय सचिव तामाङ बताउनुहुन्छ । सकेसम्म सहमति र नभए निर्वाचनमार्फत् नेतृत्व चयन हुने उहाँको भनाइ छ । यस्तै अध्यक्षको नेतृत्वमा पदाधिकारी सदस्य रहेको केन्द्रीय सचिवालय, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिव सदस्य रहेको केन्द्रीय कार्यालय र केन्द्रीय विभाग गठन गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । टुटफुट र सत्ताबाट च्यूत हुनुपरेको एमाले, महाधिवेशनबाट अब्बल नेतृत्वको खोजीमा छ । सर्वसम्मत नेतृत्वको विकल्प निर्वाचनलाई तयारीमा राखेको एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई भने आफ्नै समूहका आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण देखिन्छ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेले उतार्ने भनेको जनसमूह पार्टीको आत्मबल निर्माणका लागि हुन्छ कि शक्ति प्रदर्शन, त्यो भने निर्क्याेल हुन बाँकी छ ।