प्रधानमन्त्री देउवाको भनाइ गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २४,

मुलुकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् । संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए । गणतन्त्र र संविधानको खिलापमा मान्छे लाग्न सक्ने, सहयोग गर्न सक्ने तथा अनेक गर्न सक्ने भन्दै उनले यसमा आफूहरुले ध्यान दिनुपर्ने बताए । राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि भन्दै देउवाले थपे, ‘यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरु चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ? त्यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु केही हुन सक्दैन । अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ ।’ गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको जिकिर गरे । देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती पनि दिए । ‘अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र?’ देउवाले भने, ‘मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थुन्दियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा । प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यसकारण जनता आए । अन्तिम लडाइँ लडे । गणतन्त्र आयो । संविधान बन्यो ।’

Like