गाउँमै पिँजडामा जहाँ मापसे गर्नेलाई थुनिन्छ

Share to:
एजेन्सी 
messenger sharing button
मोतीपुरा गाउँमा प्रयोगमा ल्याइएको यो विधिलाई अन्य गाउँमा पनि लागु गर्न थालिएको छ । अहमदाबादको सुरेन्द्रनगर, अमरेली र कच्छ जिल्लाका २३ भन्दा बढी गाउँमा मापसेकर्ताका लागि सजाय र जरिवानाको यो अभ्यास लागु गरिएको छ । केही स्थानमा जरिवाना रकम बढाएर दुई हजार पाँचसय निर्धारण गरिएको छ, जसबाट उठेको रकम सामाजिक काममा प्रयोग गरिन्छ ।
भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने गरिन्छ ।​ मोतीपुरा गाउँ मापसेको त्रासदीलाई लामो समयदेखि झेल्दै आएको थियो । मापसेकै कारण पतिको मृत्यु भएका कारण गाउँमा कम्तीमा एक सय महिला विधुवा भइसकेका छन् ।

यो त्रासदी अन्त्य गर्नका लागि गाउँकै बासिन्दाले प्रयोगका रुपमा यो उपाय अपनाउन थालेका हुन् । यसका लागि स्थानीय महिलाको पनि सहयोग लिने गरिएको छ । गाउँमा मानिसलाई थुन्न मिल्ने ठुलो पिँजडा बनाइएको छ, जसमा मापसेकर्तालाई रातभर थुनिन्छ । यस अतिरिक्त उसलाई एक हजार दुई सय रुपैयाँ जरिवानासमेत तिराइन्छ ।

 मोतीपुरा गाउँका प्रधानपञ्च बाबु नायकले यो अभियान सुरु गरेका हुन् । उनका अनुसार धेरै गाउँमा अहिले यो अभियान सञ्चालन भइरहेको छ । महिलाले आफ्नो घरका कोही सदस्यले मापसे गरेकोबारे सूचना दिने गर्दछन् र यसरी सूचना दिनको पहिचान गोप्य राख्ने गरिएको उनले बताए । जरिवानाबाट असुल गरिएको रकमको केही हिस्सा त्यसरी सूचना दिने महिलालाई उपलब्ध गराइने उनको भनाइ छ ।

बाबु नायक भन्छन्, ‘मापसे गर्ने पतिका कारण घरमा कलह बढ्ने गरेको थियो, घरेलु हिंसा पनि हुन्थ्यो तर अब गाउँमा घरेलु हिंसाका घटनामा ९० प्रतिशतसम्म कमी आएको छ ।’ गाउँका कोही पनि मापसे गरेको अवस्थामा फेला परेमा उसलाई पिँजडामा एक रात राख्ने गरिएको उनले बताए । ‘हामी उसलाई प्रहरीसमक्ष जिम्मा लगाउँदैनौं,’ उनले भने, ‘सामुदायिक रुपमै उसलाई कारवाही गर्दछौं, रातभर पिँजडामा थुनेपछि उसले त्यस्तो गल्ती फेरि गर्दैन ।’ पिँजडामा थुनिएको व्यक्तिलाई रातभरका लागि एक बोतल पानीमात्र दिने गरिएको उनले बताए ।

Like