साढे ७ करोडको कारोबार धरानको खसी बजारमा

Share to:

रासंसा/सुनसरी, आश्विन २२, 

मुलुकमा दशैं नजिकिएसँगै खुलेको धरान १३ स्थित कृषि उपज बजारस्थलमा लाग्ने साप्ताहिक खसी बजारमा तीन सातामा साढे ७ करोडको कारोबार भएको छ। धरानको कृषि उपज बजारमा प्रत्येक शुक्रबार खसी बजार लाग्ने गर्छ। कोरोना संक्रमणको कारण लामो समय बन्द रहेको खसी बजार दशैं नजिकिएसँगै असोजदेखि खुलेको थियो।

तीन शुक्रबारमा कूल ६ हजार २ सय १९ वटा खसी, बोका बिक्री भएको छ। जसको औसत मूल्य ७ करोड ५० लाख भएको भटट्राईले बताए। उनले भने, ‘यहाँ प्रत्येक शुक्रबार खसी बजार लाग्छ। कोरोनाले बन्द भएको बजार असोजमा मात्र खुलेको हो। दशैंले गर्दा तीन शुक्रबारमा साढे ७ करोड बराबरको कारोबार भयो।’

बजारस्थलका अनुसार असोजको तीन शुक्रबार लागेको साप्ताहिक खसी बजारमा औसत ७ करोड ५० लाख बराबरको कारोबार भएको हो। बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दशैं नजिकिएको कारण खसीको कारोबारमा वृद्धि भएको हो।

दोस्रो साता असोज १५ गते पहिलो साताको भन्दा खसी, बोकाको बिक्री बढेको थियो। उक्त दिन २ हजार १ सय २ वटा खसी, बोका बिक्री भएको थियो। ‘दोस्रो साता बिक्री भएको खसी, बोकाको औसत मूल्य ३ करोड ८५ लाख बराबर कारोबार भएको छ,’ व्यवस्थापक भट्टराईले भने।

बजारस्थलका अनुसार बजार खुलेको पहिलो साता १ हजार ५ सय ७ वटा खसी, बोका खरीद बिक्री भएको रेकर्ड छ। यसको औसत मूल्य १ करोड ६५ लाख मूल्य बराबर हुन्छ। यो बजारमा जिउँदो खसी, बोका प्रतिकिलो ५ सय ६० रुपैयामा किनबेच हुने गरेको व्यस्थापक भट्टराईले जानकारी दिए।

तेस्रो साता बिहीबार र शुक्रबार (असोज २१ र २२)मा २ हजार ६ सय १० वटा खसी, बोका बिक्री भएको छ। यसको औसत मूल्य २ करोड बराबर भएको बजारस्थलको भनाइ छ। वडा दशैंमा खसी, बोका काट्ने चलनको कारण पनि हरेक वर्ष दशैं नजिकको साप्ताहिक खसी बजारमा करोडौंको कारोबार हुने गरेको छ। धरानको कृषि बजार र यहाँको खसी बजार नमुनाको रुपमा विकास भएको छ। उपमहानगरपालिकाको सहयोगमा निर्यातको लागि खसी बोकाको निरोगीताको प्रमाणपत्र जारी पनि भइरहेको व्यवस्थापक भट्टराईले जानकारी दिए। कृषि बजारमा कृषकका लागि बजारमै सशुल्क सुत्ने बेड तथा पानी बत्ती, काटा, सिसिटिभि, रिफे्रस सेन्टरको पनि व्यवस्था गरिएको छ भने खसी, बोका थुन्ने घरको पनि निःशुल्क व्यवस्था गरिएको छ।

बजारस्थलका अनुसार यहाँ पूर्वी पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर र सुनसरीको ग्रामीण भेगबाट पनि खसी, बोका र बाख्रा बिक्रीको लागि कृषक तथा व्यापारीहरुले ल्याउने गर्छन्। यहाँबाट प्रदेश १ र २ को मुख्य सहरहरुमा निर्यात हुने गर्छ भने काठमाडौँमा पनि निर्यात हुने गरेको व्यापारीहरु बताउँछन्।

 

Like