माधव नेपालसहितका १४ नेतालाई निष्काशन गरे मात्र सभामुखसँग संवाद–नेकपा एमाले

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २८,
मुलुकमा आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ । एमालेले १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस्न सभामुखसँग आग्रह गर्दै त्यसो नगर्दासम्म सापकोटाले बोलाएको बैठकमा आउन नसक्ने प्रष्ट गरेको हो । सभामुख सापकोटाले सोमबारका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन शर्त राख्दै एमालेले आफूले कार्वाही गरेकाहरुलाई राखेर गरिने बैठकमा सहभागि हुन नसक्ने पार्टी अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई जानकारी गराउनुभएको हो । सभामुख सापकोटाले भने आफूले कानुनसम्मत काम गरेको र कुनै अवैध कार्य नभएको जिकीर गर्दै आउनुभएको छ । १ भदौंमा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिँदै सूचना टाँस्न भनेका थिए । तर २ भदौमा दर्ता गरिएको नेपालको नयाँ पार्टीले ९ भदौमा मान्यता पाइसकेको छ । दलबाट निष्काशन गरिएको सूचना नटाँस्ने हो भने मार्गप्रशस्त गर्न सभामुखसँग एमालेले आग्रह पनि गरेको छ । त्यस्तो मार्गप्रशस्त भनेको के हो भन्नेचाहिँ प्रष्ट गरिएको छैन । सभामुखको कदमबाट रुष्ट बनेको एमालेले भदौं २३ यता लगातार संसद बैठक अवरुद्ध गदै आएको छ भने सभामुखले पनि विपक्षीको नाराबाजीकै बीच संसदका कार्वाही सुचालु गराउनुभएको छ ।

Like