जनप्रतिनिधि एमाले समाजवादीमा प्रवेश गर्न सक्ने, पद नजाने, प्रदेश र स्थानीय तहका कार्यकताको निर्णय
रासंसा / काठमाण्डौ, भाद्र ३,
मुलुकमा स्पष्ट दुइ तिहाइ मत प्राप्त सरकार ढालेर गठबन्धन सरकारमा सामेल भएको फुट नेकपा एमाले माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ l गठबन्धन सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशले जनप्रतिनिधिका लागि कानुनी सहजता प्रदान गरेको छ । दल विभाजन हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको पद पनि सुरक्षित हुने गरी अध्यादेश जारी गरिएको छ । अध्यादेशको दफा ३३ को उपदफा २(क)मा भनिएको छ, ‘छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’ राजनीतिक दलसम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ पार्टीमा प्रवेश गरे दल त्याग नमानिने व्यवस्था गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मूल ऐनको दफा ३३ को उपदफा २ संशोधन गर्दै यो व्यवस्था गरिएको हो । उपदफा २ मा २ (क) थपिएको छ । २ (क) उपदफा (२) बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन’ थपिएको छ । यसअनुसार अब बुधबार दर्ता भएका नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिकमा २१ दिनभित्र नयाँ पार्टीमा प्रवेश गरेमा दल त्याग गरेको मानिने छैन । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी ठाकुरले बनाएको जसपा लोकतान्त्रिक पार्टीमा पनि जनप्रतिनिधिहरु प्रवेश गर्न पाउनेछन् । यसअघिको मूल ऐनमा (२) कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरुसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन । भन्ने व्यवस्था थियो । यो दफामा अध्यादेश मार्फत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन हुने गरी अर्को उपदफा थप गरिएको हो ।