तनहुँ कालिका मन्दिरमा भव्य रूपमा फूलपाती भित्र्याइने, तयारी तीव्र

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ।
दमौली, तनहुँ — तनहुँको व्यास नगरपालिका-४ स्थित प्रसिद्ध ऐतिहासिक एवं पर्यटकीय तीर्थस्थल तनहुँ कालिका मन्दिरमा यस वर्षको बडादशैँका अवसरमा भव्य रूपमा फूलपाती भित्र्याइने भएको छ। यसका लागि मन्दिर संरक्षण समिति, व्यास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाहरूको सहभागितामा बृहत् छलफल सम्पन्न भएको हो।
नगरपालिकाको सभा हलमा आयोजित छलफल कार्यक्रममा फूलपाती भित्र्याउने सम्बन्धी कार्यतालिका सार्वजनिक गरिएको छ। तय गरिएको कार्यतालिका अनुसार फूलपातीका दिन बिहान दुर्गा मन्दिर हुँदै बीपी स्मृति पार्कमा रहेको बेलको बोटमा विशेष सलामी अर्पण गरिनेछ। तत्पश्चात् विभिन्न सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गराइ नेपाली सेना र प्रहरीको संयुक्त टुकडीले कालिका मन्दिरमा फूलपाती प्रवेश गराउने कार्यक्रम रहेको छ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको विशेष उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरे, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष इमकुमार मल्ल, दमौली बजार इकाइका सभापति शेषराज श्रेष्ठ, तनहुँ कालिका मन्दिर तथा सहिद शान्ति पार्कका अध्यक्ष ईश्वर बहादुर बिष्ट, विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस संयोजक अन्जनराज न्यौपाने र व्यास-४ का वडाध्यक्ष मनबहादुर गुरुङको सहभागिता रहेको थियो।
यसैगरी, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक तथा धार्मिक अभियन्ताहरू लगायत स्थानीय अगुवाहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। छलफलमा सहभागीहरूले तनहुँ कालिका मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई उजागर गर्दै यस वर्षको फूलपाती पर्वलाई अनुशासित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
