तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा; रु ६३ हजार जरिवाना

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
दमौली, तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा, गिट्टी आदि) उत्खनन तथा ओसारपसार गरिरहेका चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।
शिशाघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले व्यास नगरपालिका क्षेत्रमा पर्ने मादी नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कानूनी कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले ती सवारी साधनहरूबाट कुल रु ६३,००० (त्रेषठ्ठी हजार) जरिवाना गराई छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँ का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय तनहुले आम सर्वसाधारण जनतालाई अवैध उत्खननका बारेमा
सन्देशमूलक/सचेतनामूलक सन्देश दिएको छ
प्राकृतिक स्रोतको संरक्षण गरौँ, अवैध दोहन रोकौँ!
कानूनी दायरा: खोला तथा नदीहरूबाट विनाअनुमति वा तोकिएको मापदण्ड विपरीत गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन गर्नु गैरकानूनी र दण्डनीय अपराध हो।
पर्यावरणीय असर: जथाभाबी र अवैध नदी दोहनले बाढी, पहिरो, नदीको बहाव परिवर्तन र कटान जस्ता गम्भीर प्राकृतिक विपद्को जोखिम बढाउँछ।
नागरिक दायित्व: आफ्नो वरपर भइरहेका अवैध उत्खनन वा प्राकृतिक सम्पदाको दोहनसम्बन्धी गतिविधिबारे थाहा पाएमा तुरुन्त नजिकैको प्रहरी चौकी वा स्थानीय तहमा जानकारी गराउनुहुन सबैमा अनुरोध गरिएको जिप्रका तनहुले अपिल गरेको छ।
