‘कसले भनेर अध्यक्ष हटाउने ? दम छ भने हटाएर देखाऊ’ ! भन्दै गृह प्रदेशबाट ओलीको हुँकारले, सबै एमाले तरङ्गित
रासंसा/मोरङ, श्रावण ३१,
मुलुकमा एमालेसँग सम्बन्धित नेतृत्व तहबाटै आइतबारका चारवटा सार्वजनिक कार्यक्रम भए। अध्यक्ष ओलीले आफूविरुद्धको मोर्चाबन्दीलाई अस्वीकार गरिरहँदा पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाइरहेकाहरूले पनि ती कार्यक्रममा आफ्नो आवाजलाई मुखरित गर्ने कोसिस गरे। नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्वले पद छोड्नुपर्ने आवाज उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भने गृह प्रदेशबाट आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन चुनौती दिएका छन्। उनले आफूलाई कसैले हटाउन नसक्ने सङ्केत पनि गरेका हुन्। पार्टी अध्यक्ष ओलीले आफूलाई हटाउन खोज्नेहरूलाई ‘आवारा’ र ‘किर्ना’ को संज्ञा दिँदै चुनौती दिइरहँदा महासचिव शङ्कर पोखरेलले भने पार्टी शासकीय भूमिकामा असफल भएको घोषणा गरे। अर्कोतर्फ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विचारको रचनात्मक रूपान्तरण र युवा सहभागिताको वकालत गर्दै पार्टी पुनर्गठनकै चर्चा गरिन्। ओलीले चियागफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तन नहुने भन्दै महाधिवेशनको प्रक्रिया कुर्न चेतावनी दिएका थिए। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गर्नेहरूलाई तिखो प्रहार गरेका थिए। उनले पार्टीको विधि र पद्धति कुल्चिएको आरोप लगाउँदै भनेका थिए, ‘पार्टीमा अनुशासनहीनता र अराजकता बढेको छ। पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा गर्छन्। अध्यक्ष हटाउने कुरा ठट्टा हो ? पार्टी सदस्य छ कि छैन ? उरन्ठेउलाहरू भेला भएका छन्। चिया खाएको छ, अध्यक्ष हटाउने हो, कहिले हटाउने हो, छिटो हटाउन भनेका छन्।’ ओलीको यो आक्रामक रूप झापामा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन कार्यक्रममा पनि कायमै रह्यो। त्यहाँ उनले पार्टी पुनर्गठनको कुरा गर्नेहरूलाई ‘किर्ना’ को संज्ञा दिँदै कटाक्ष गरे। उनले भने, ‘पार्टीबाट अवसर लिने नै असन्तुष्ट छन्। किर्नाले पनि टन्न खाएर अघाएपछि भैँसीको जिउबाट पुक्लुक्क भुइँमा झर्छ। एमालेलाई पनि भैँसी बनाउन खोजेका छन्, साथीहरूले। खाइन्जेल खाने, खाएर टिल्ल भएपछि छाडिदिने। एमाले त्यस्तो पार्टी होइन। राधे राधे ओढ्ने, भित्र छुरी राखेर हिँड्ने प्रवृत्ति एमालेमा हुँदैन।’ ओलीले नचाहिने कुरामा नलाग्न भन्दै आफ्नो विरोधी गुटप्रति सचेत हुन कार्यकर्तालाई आग्रह पनि गरे। ‘हामी कोही पनि लाग्न जरुरी छैन, हुँदैन। हामी एकताबद्ध हुनुपर्छ। नचाहिने कुरा होइन, यतिबेला एकताबद्ध भएर प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध लड्नुपर्छ,’ ओलीले भने। उनले आफूलाई हटाउन हस्ताक्षर अभियान चलाउनेहरूलाई खुला चुनौती दिँदै भनेका थिए, ‘अध्यक्षलाई हटाउने ! हटाइदेऊ न त, ढिलो भयो भने छिटो हटाऊ। तर कोही हस्ताक्षर गर्दै हिँडेका छन्, यसको पछाडि केही दम छैन।’ उनले फागुन २१ को चुनावबाट पछारिएको भए पनि पुनः उठ्नुपर्ने बताए। ‘कुस्ती खेल्दा एकपटक पछारिँदाखेरि अखडा छोडेर भाग्छ भने त्यसले खेल्छ कुस्ती ? एकपटक पछारिएपछि जुरुक्क उठेर फेरि च्याप्प समातेर धोबीपाट लाएर ड्याम्प पार्नुपर्छ। यो हाम्रो तरिका। नेकपा एमाले त्यसो गर्छ। भाग्ने पार्टी, भगौडा पार्टी होइन यो,’ ओलीले आउँदो प्रदेश र स्थानीय निर्वाचनलाई लक्षित गर्दै भने, ‘हरेक वडामा हामी ५१ प्रतिशतभन्दा माथि हुनुपर्दछ। त्यो कुराको साथीहरूले तयारी गर्नुपर्छ। आफ्नो वडा कमसेकम ५१ प्रतिशतभन्दा माथि एमाले बनाउनुस् त। साथीहरू जानुस्, घरघरमा जानुस्, व्यक्ति-व्यक्तिमा जानुस्, खेत-खलिहानमा जानुस्, दिदीबहिनीहरू चुल्हाचौकामा जानुस्, भान्सामा जानुस्, तरकारीबारीमा पुग्नुस्।’६ जना प्रधानमन्त्री र २१ जना मुख्यमन्त्री बनाउँदा पनि वामपन्थी आन्दोलन रक्षात्मक हुनु चानचुने कुरा नभएको उनको निष्कर्ष थियो। ‘नेपालको कम्युनिस्ट आन्दोलनका सन्दर्भमा मेरो बुझाइ र निष्कर्ष के छ भने– हामी सङ्घर्ष र क्रान्तिका मामिलामा एक प्रकारले च्याम्पियन नै रह्यौँ। शासकीय भूमिकाका दृष्टिकोणले भन्नुहुन्छ भने हामी असफल साबित भयौँ,’ पोखरेलले भने। अध्यक्ष ओलीले पार्टी ‘तन्दुरुस्त’ रहेको र विरोध गर्नेहरू ‘आवारा’ रहेको दाबी गरिरहँदा राजधानी काठमाडौँमा उनकै यसअघिका मुख्य सारथि महासचिव शङ्कर पोखरेलको स्वर भने बिलकुलै भिन्न थियो। महासचिव पोखरेलले इतिहासमै पहिलोपटक एमालेले शासकीय असफलता बेहोरेको स्वीकार गरे। भदौ २३ र २४ गतेको विद्रोहलाई इङ्गित गर्दै उनले समस्या आफैँमा रहेको बताए। ‘यो विद्रोह त भूराजनीतिक द्वन्द्वअन्तर्गत, षड्यन्त्रअन्तर्गत भएको विद्रोह भन्ने ठान्यौँ। त्यसपछि हामी भूराजनीतिक द्वन्द्वअन्तर्गतको षड्यन्त्रलाई भण्डाफोर गर्न लाग्यौँ। तर फागुन २१ मा आउँदाखेरि जनताले नै हामीलाई अस्वीकार गर्यो,’ उनले भने। उनले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके समस्या ज्युँका त्युँ रहने भन्दै विगतको समीक्षा नगरी अघि बढ्न नसकिने स्पष्ट पारे। नेतृत्वको कार्यशैली र भाषाप्रति पार्टीभित्रैबाट पनि प्रतिवाद सुरु भएको छ। एमाले नेता झपट रावलले अध्यक्ष ओलीलाई सिधा प्रश्न गर्दै कार्यकर्तालाई ‘आवारा’ भन्नु मार्क्सवादी सिद्धान्तविपरीत भएको टिप्पणी गरेका छन्। ‘हिजो आफूभन्दा अगाडिको नेतृत्व परिवर्तनको माग र सङ्घर्ष नगरीकन तपाईं आजको सर्वोच्च ठाउँमा पुग्नुभएको हो र ? चियागफलाई पार्टीको जीवन्त धड्कन मान्ने कि आवाराहरूको भेला ?,’ उनले भने। पार्टी कसैको निजी कम्पनी नभएको उल्लेख गर्दै सुधारको माग गर्नेलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गरे। आइतबार नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि पार्टीको वर्तमान शैलीमाथि प्रश्न उठ्ने गरी धारणा सार्वजनिक गरिन्। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमको कार्यक्रममा बोल्दै भण्डारीले राजनीति केवल निर्वाचनमा मत माग्ने विषय मात्र नभएको बताइन्। उनले मदन भण्डारीका विचारलाई ‘जस्ताको तस्तै दोहोर्याउने’ भन्दा पनि समयसापेक्ष रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। ‘आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्याउनेभन्दा त्यसको मूल मर्मलाई आत्मसात् गर्दै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ,’ उनले भनिन्। ओलीले ‘मलाई हटाएर देखाऊ’ भन्दै झापा र इलामबाट हुँकार गरिरहँदा, महासचिव पोखरेलले काठमाडौँबाट ‘हामी असफल भयौँ’ भन्दै हार स्वीकार गर्नु र पूर्वराष्ट्रपति भण्डारीले ‘नयाँ बाटो खोज्न’ आग्रह गर्नुले एमालेभित्र ठुलो मतभेदको सङ्केत गरेको छ।
