अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्वास्थ्य

सिभिल अस्पतालमा सेवा प्रवाह चुस्त नहुँदा बिरामीहरू हैरानी

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २२,

मुलुकमा नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज तरिकाले सेवा प्रवाह नहुँदा बिरामीहरू सेवा नलिई फर्किनुपर्ने बाध्यता सिर्जना भएको छ । निजामती अस्पतालमा सेवा लिन पुगेका बिरामी सविता थपलियाले भनिन्, ‘म पेटसम्बन्धी समस्या भएर उपचारका लागि कीर्तिपुरबाट आएको हुँ । ७ बजेको ओपीडी टिकट लिन त्यहाँबाट साढे पाँच बजे आइपुगेको छु ।’ अस्पतालले सेवा प्रवाह चुस्त–दुरुस्त नबनाउँदा बिरामीहरू सेवा नलिई घर फर्किन बाध्य हुनुपर्ने अवस्था आएको हो । अस्पतालमा सेवा लिन बिहानै पाँच बजे बिरामीहरू पुग्नुपर्ने तर ९ बजेदेखि मात्रै चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सकिने बाध्यता छ । शुक्रबार बिहान उपचारका लागि पुगेका सरकारी सेवामा कार्यरत कर्मचारी नविन्द्र सिंह धामीसँग नगद पैसा नहुँदा सेवानै नलिई फर्किनुपर्ने अवस्था आयो । धामीले भने, ‘लाइन लागेर बल्ल मेरो पालो आयो । मसँग नगद पैसा थिएन । क्यूआर कोड माग्दा टिकट काउन्टरका कर्मचारीले मलाई पन्छाएर अर्कोलाई बोलाए ।’ अस्पतालको ओपीडी सेवा ७ बजेदेखि सुरु हुने र नौ बजेपछि चिकित्सकलाई देखाउन सकिने व्यवस्था रहेको सुरक्षागार्डले बिरामीहरूलाई जानकारी दिइरहेका थिए । शुक्रबार बिहान पौने ६ बजे रातोपाटीका प्रतिनिधि सिभिल अस्पतालमा पुग्दा बिरामी र उनका आफन्तहरू बोतल, पात, पुर्जा, हेल्मेट राखेर पालो कुरिरहेका देखिन्थे । धामीका अनुसार उनीसँगै लाइनमा रहेका अर्का एक जनासँग पनि नगद पैसा रहेनछ । क्यूआर कोड नचल्दा ओपीडीको टिकट नै नपाएको उनको गुनासो छ । थानकोटबाट उपचारका लागि आएकी मैया श्रेष्ठको हात भाँचिएको थियो । उनी हात दुख्यो भन्दै भुइँमा बसिरहेकी थिइन् । उनले भनिन्, ‘लाइन लागेको छुँ । पालो आउने कहिले कहिले ? डाक्टर ९ बजे आउँछन् रे । यतै होटलमा खाना खानुपर्ला । उपचार त गराउनै पर्‍यो ।’ अस्पतालमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, महिलाको छुट्टाछुट्टै लाइनको व्यवस्था समेत थिएन । ओपीडी टिकटका लागि कर्मचारी र अन्य सेवाग्राहीको लाइन छुट्टाछुट्टै थियो । कोटेश्वरबाट आएका कविन्द्र नेपालले भने, ‘७ बजे टिकट बल्ल खुल्छ, पाँच बजे आएर लाइन लाग्नुपर्छ । डाक्टरलाई देखाउने पालो कहिले कहिले ?’बिहानको समयमा सहायता कक्षमा समेत कोही भेटिएका थिएनन् । बिरामीहरू अन्य उपचार सेवाबारे बिरामीहरूलाई नै सोधिरहेका थिए । बिरामीहरूले सात बजे आएर साढे ३ घण्टा डाक्टरका लागि पालो कुर्नुपर्ने गुनासो गरे । ओपीडी सेवाको लागिमात्रै होइन, चिकित्सकलाई भेट्न, रिपोर्ट चेक, उपचार शुल्क तिर्न, औषधि प्राप्त गर्न पनि बिरामीहरू लाइन बस्नुपर्ने बाध्यता छ । अस्पतालमा अनलाइन टिकट काट्ने व्यवस्था भए पनि क्षणभरमै बन्द हुने गुनासो गरे । ‘यदि भोलि चेकजाँच गर्ने हो भने आज १२ बजे अनलाइन टिकट खुल्छ, तर एकैछिनमा बन्द भइहाल्छ,’ नाम उल्लेख गर्न नचाहेका एक बिरामीले भने । बिरामीहरूले अस्पताललाई लाइन व्यवस्थापनको उपाय पनि सुझाए । बिरामी सुविन मगरले भने, ‘कम्तीमा सरकारले टोकन प्रणाली लागु गरेको भए सजिलो हुन्थ्यो । सिस्टम अनुसार पालो आउँथ्यो । यति धेरै दुःख त हुँदैन थियो ।’ सरकारले सार्वजनिक सेवामा डिजिटल प्रविधिलाई प्राथमिकता दिए पनि कार्यान्वयन नभएको बिरामीहरूको गुनासो छ । सरकारले २०८२ चैत २५ मा ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको थियो । कार्यविधिको परिच्छेद २ मा सेवा प्रवाह तथा भिड व्यवस्थापन सम्बन्धी व्यवस्था छ । बिरामीको भिडभाड कम गर्न र समयको बचत गर्न अस्पतालले अनलाइन बुकिङ र रिपोर्ट डिस्प्याच प्रणाली लागु गर्नु पर्ने, अस्पतालमा इन्टरनेट स्लो भएको कारणले स्वास्थ्य बीमा तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमा हुने ढिलाइ र सर्भर डाउन हुने अवस्था अन्त्य गर्न सेवा विन्दुमा डेडिकेटेड हाई स्पिड इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्ने प्रावधान छ । शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णयले पनि बिरामीहरू मारमा परेका छन् । शनिबार र आइतबार सार्वजनिक बिदा हुने र सार्वजनिक बिदामा ओपीडी बन्द हुँदा सोमबार बिरामीको भिड हुने गर्दछ । तर, यो कार्यविधिका केही बुँदालाई यस अस्पतालले कार्यान्वयनमा ल्याएको देखिँदैन । सिभिल अस्पतालले यसको कार्यान्वयन अद्यावधिक गराएको विवरण सार्वजनिक गरेको देखिँदैन । अस्पतालमा गरिने भुक्तानी प्रणालीलाई सहज रूपमा व्यवस्थापन गर्न अनलाइन पेमेन्ट र क्यूआर कोड पेमेन्टमार्फत भुक्तानी हुने व्यवस्था गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । ओपीडीमा खटाइएका चिकित्सक तथा स्वास्थ्यकर्मी तोकिएको समयभित्र उपस्थित हुने व्यवस्था गरी ओपीडी कक्षबाहिर सबैले देख्ने गरी उपस्थित चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम डिस्प्ले गर्नुपर्ने प्रावधान कार्यविधिमा मात्रै सीमित छ । भर्ना भएका बिरामीको हेरचाह महत्त्वपूर्ण मानिने भएकाले सुरुमा चिकित्सक राउण्डमा जाने र त्यसपछि ओपीडीमा आएका बिरामीलाई सेवा दिने गरिएको उनले बताइन् । सिभिल अस्पतालका अनुसार हाल दैनिक एक हजारदेखि एक हजार दुई सय जना बिरामी पुग्ने गरेका छन् । सिभिल अस्पतालले टिकट काट्ने समय र ओपीडी सुरु हुने समयमा लामो ग्याप रहेको स्विकारेको छ । अस्पतालका शाखा अधिकृत रञ्जु रेग्मीले बिरामीहरूलाई अस्पतालले बिहानै लाइनमा पुर्जी लगायत अन्य सामग्री राखेर बस्न नभनेको बताइन् । उनले भनिन्, ‘ओपीडीको हकमा ७ बजेदेखि टिकट खोल्छौँ । चिकित्सकहरू दिनभरि अस्पतालमै बस्नुहुन्छ । ओपीडी ९ बजेबाट खुल्छ ।’ रेग्मीले भनिन्, ‘अस्पतालमा बिहानै नजाँदा चिकित्सक भेटिनुहुँदैन कि भनेर बिरामीहरू छिटो आउनुहुन्छ । चिकित्सकहरू नभेटिने भन्ने हुँदैन ।’ अस्पतालको क्षमताभन्दा सेवाग्राहीको माग बढी भएको स्विकार्दै रेग्मीले सेवालाई गुणस्तरीय बनाउन अस्पताल प्रशासन लागिरहेको बताइन् । अस्पतालमा प्राप्त भएका गुनासो र उजुरीलाई सम्बोधन गर्दै आएको सिभिल अस्पतालले जनाएको छ ।

Like