राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगीको फोटो प्रधानमन्त्री ओलीले नै राख्न लगाएका हुन् ज्ञानेन्द्र शाहीको दाबी
रासंसा/काठमाण्डौ, फाल्गुण २६,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै आरोप लगाएका हुन्। नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि प्रधानमन्त्रीले यस्तो गरेको शाहीको भनाइ छ। उनले भने, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि। विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ? माक्स ,लेलिन ,माओ कुन देशका हुन?’ शाहीले आज सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।’ आइतबार पूर्वराजाको पक्षमा अभियान चलाउँदै आएका समर्थकहरूले उनको तस्बिरसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको ठूलो तस्बिरसमेत बोकेका थिए। पूर्वराजाको आगमनका क्रममा समर्थकहरू राष्ट्रिय झन्डा, ब्यानर र नारासहित उपस्थित भए। तर, भारतका एक मुख्यमन्त्रीको तस्बिरसहित प्रदर्शन गर्नुको कारणबारे विभिन्न प्रश्न उठेका छन्।