मन्त्री पाण्डेको जर्मनी पुगेका ६ सय वर्ष पुराना नेपाली ताडपत्र फिर्ता गर्न पहल
एजेन्सी/फाल्गुण २४,
मुलुकका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल थालेका छन्। नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्राडा सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको मन्त्री पाण्डले जानकारी दिए। शुक्रबार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गरेका हुन्। ‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००-७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक सङ्ग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ’, मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन्, ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ। ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ।’ ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो।