माओवादीको एकता समायोजनसम्बन्धी निर्णयले संगठन थप भद्रगोल हुने खतरा

Share to:

रासंसा/काठमाण्डौ, पौष २,

मुलुकमा वाम घटकहरूसँग पार्टी एकता गर्दा समानस्तरको समायोजन गर्ने नेकपा माओवादी केन्द्रको निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने देखिएको छ । समायोजन सम्बन्धी यो निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने खतरा रहेको एक पदाधिकारीले बताए । ‘पार्टी एकीकरण हुँदा समान स्तरको समायोजन गर्ने भनिएको छ । तर पदाधिकारीको हकमा कसरी समायोजन गर्ने भन्नेबारे स्पष्ट निर्णय भएको छैन । एकीकरणपछि एउटा पार्टी दुई अध्यक्ष र दुई महासचिव त हुन सक्दैन । पार्टीको विद्यामान विधान वा नयाँ बनेको विधानले समेत एकतापछिको संगठनिक संरचनाबारे परिकल्पना गरेको छैन । स्थायी समितिको निर्णयले सांगठनिक कठिनाइको साथसाथै थप भद्रगोल हुने देखिन्छ । यसबारे अर्को बैठकमा थप छलफल होला’, रातोपाटीसँग ती पदाधिकारीले भने । मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत नवप्रवेशी स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो । ती नेताका अनुसार समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र धुव्रीकरणमा जोड दिने स्थायी समितिको निर्णय सहितको परिपत्र मातहतका समितिलाई पठाइसकेको छ । ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ’, परिपत्रमा लेखिएको भाषाबारे जानकारी दिँदै ती नेताले भने । सचिव गणेश साहका अनुसार पार्टी संगठनलाई चलायमान बनाउन केन्द्रीय समिति बैठकले नेताहरूको कार्य विभाजन हुने बताएका छन् । तर नवप्रवेशीहरूको जिम्मेवारी वा कार्य विभाजन कुन स्तरको हुने भन्नेमा स्थायी समिति बैठकले स्पष्ट निर्णय नगरेको जिकिर गरे । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकबाट नेत्रविक्रम चन्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने माओवादीको तयारी गरेको छ । यीबाहेक एकीकृत समाजवादी, नेकपा बहुमत, आम जनता पार्टी लगायत स–साना वामपन्थी पार्टीहरूसँग पनि एकताका लागि छलफल भइरहेको उपमहासचिव गिरिराजमणि पोखरेलले केही दिनअघि रातोपाटीलाई बताएका थिए । तर एकीकृत समाजवादीले तत्काल पार्टी एकता नगर्ने निर्णय गरिसकेको छ । नेकपा र नेसपाको हकमा भने केन्द्रीय समिति बैठकले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्ने नेताहरूले बताएका छन् । ‘अहिले पार्टीभित्रै धेरै नेताहरू जिम्मेवारविहीन अवस्थामा छन् । पदाधिकारीकै कुरा गर्दा उपाध्यक्ष, उपमहासचिव, सचिवहरूले नै जिम्मेवारी पाएका छैनन् । नाम मात्रको पदाधिकारी भएर बस्नुपर्ने अवस्था छ’, उनले भने, ‘अध्यक्षले सबैलाई जिम्मेवारी दिएर केन्द्रदेखि तलसम्म संगठनलाई चलायमान बनाउने भन्नुभएको छ । अब बस्ने केन्द्रीय समिति बैठकले नेताहरूको कार्य विभाजन होला । नवप्रवेशीहरूको हकमा कसरी समायोजन गर्ने भन्नेमा स्पष्ट निर्णय भएको छैन ।’ ‘पदाधिकारी तहका व्यक्तिहरूको हकमा निर्णय भएको होइन केन्द्रीय सदस्यहरूको हकमा मात्र निर्णय लागु हुन्छ । समान हैसियतको कुरा गरेको हो । त्यसमा योग्यता, क्षमता र हैसियत हेरिन्छ । पार्टी एकता गर्ने निर्णय भएपछि पछि हट्न नमिल्ने भएकाले एकता वा समायोजनमा आउने पार्टीका लागि सजिलो होस भने पार्टीले निर्णय गरेको हो’, गजुरेलले भने । यद्यपि स्थायी समिति बैठकले गरेको निर्णयबारे प्रस्टीकरण दिँदै अर्का उपमहासचिव हरिबोल गजुरेलले केन्द्रीय समितिको हकमा समानस्तरमा समायोजन हुने भनिएको तर पदाधिकारीको हकमा निर्णय नभएको बताए । माओवादीमा अहिले एक अध्यक्षसहित २२ पदाधिकारी र ४११ जना केन्द्रीय सदस्य रहेका छन् । तीन सयको हाराहारीमा वैकल्पिक सदस्यहरू रहेका छन् । पार्टीविधान विपरीत सबैलाई खुसी पार्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि, पद्धति, विधान मिचेको आरोप लाग्दै आएको छ । स्थायी समिति बैठकले गरेको निर्णयबारे थप स्पष्ट पार्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एकता प्रक्रियामा जोडिने व्यक्तिहरूको व्यवस्थापन उनीहरूको योग्यता र क्षमताको आधारमा हुने बताए । गत फागुनको पहिलो हप्ता सम्पन्न विधान अधिवेशनले केन्द्रीय समिति चुस्तदुरुस्त बनाउन सुझाव दिएको थियो । मस्यौदा समितिले नयाँ केन्द्रीय समिति १५१ सदस्यीय बनाउन प्रस्ताव गरेको थियो । तर, त्यसलाई लत्त्याउँदै २९९ सदस्यीय बनाउने निर्णय गर्‍यो । पार्टीको नयाँ विधानमा ११ जना पदाधिकारी हुने उल्लेख छ । ‘अन्य पार्टीबाट जुन स्तरका आएका छन्, त्यही स्तरमा समायोजन गर्ने निर्णय समान हैसियतमा भनिएको हो । समायोजन हुँदा केन्द्रीयस्तरकै विभिन्न निकाय छन्’, सापकोटाले भने, ‘केन्द्रीय सल्लाहकार, केन्द्रीय निकाय वा त्यही स्तरको समायोजन हो । सम्बन्धित पार्टीबाट एकतामा आएमा व्यक्तिहरूको योग्यता र क्षमता हेरेर केन्द्रीय सदस्य नै बनाउन पनि सकिन्छ ।’ यता विधानमा देखिएको अस्पष्टता हटाउनका लागि माओवादीले यसअघि नै तीन सदस्यीय कार्यदल बनाएको छ । तर कार्यदलले अहिलेसम्म सुझाव प्रतिवेदन पेस नगरेको उपमहासचिव एवं कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए । मंसिर ४ गते प्रचण्ड निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले शर्मासहित महासचिव देव गुरुङ, अर्का उपमहासचिव वर्षमान पुन रहेको कार्यदल बनाएको थियो । पदाधिकारी तहका समायोजन कसरी हुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट खुलाएनन् । यस सम्बन्धमा अर्को बैठकमा छलफल हुनसक्ने उनले संकेत गरे । एकता र समायोजनका नाममा प्रचण्डले पदाधिकारी र केन्द्रीय समिति बढाउन सक्ने नेताहरूले आशङ्का गरेका छन् ।

Like