एकल अंकमा ब्याजदर, तर बैंकमै थुप्रियो साढे ७ खर्ब
रासंसा/काठमाण्डौ, मार्ग २१,
मुलुकमा बैंकहरूले कर्जामा आकर्षण बढाउनका लागि ब्याजदर एकल अंकमा झारे पनि बंैकहरूलाई कर्जा लगानी गर्न सकस यथावत नै रहेको छ । अहिले बैंकहरूसँग लगानीयोग्य रकम मात्रै साढे ७ खर्ब रुपैयाँभन्दा बढी थुप्रिएको छ । विगतमा सहकारीमा जाने निक्षेप रकम सहकारीमा समस्या देखिएसँगै बैंक तथा वित्तीय संस्थामा आउन थालेको र नेपालमा लगानी सुरक्षित छैन भन्ने भाष्य स्थापित गरेकाले कर्जा वितरणमा सकस हुन थालेको बुझाइ बैंकरहरूको रहेको छ । नेपाल राष्ट्र बैंकले निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरे पनि बैंकहरू ७८ प्रतिशतभन्दा माथि उक्लिन सकेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थामा ६६ खर्ब ३७ अर्ब निक्षेप संकलन भएको छ । कर्जा परिचालन भने ५३ खर्ब ९ अर्ब मात्रै रहेको छ । ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग मात्र निक्षेप ५९ खर्ब २ अर्ब रहेको छ । ती बंैकले जम्मा ४७ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको तथ्यांक राष्ट्र बैंकसँग रहेको छ । ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंकहरूले भने ७ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेका छन् । ती निकायबाट ६ खर्ब ७ अर्ब कर्जा प्रवाह भएको छ । उद्योग र निर्माण क्षेत्रबाट कर्जा माग नभएको र सरकारको पुँजीगत खर्च गर्ने क्षमता कमजोर भएकाले रकम थुप्रिएको भनाइ बैंकर्सहरूको रहेको छ । कर्जाको माग कम भएकै कारणले अन्तरबैंक कर्जादर ३ प्रतिशतमै सीमित रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुनेगरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था भए पनि बिहीबारको सीडी रेसियो ७८ दशमलव ६४ प्रतिशत मात्रै रहेको छ । होटल, पर्यटन, कृषि, साना तथा ठूला उद्योग र निर्माण क्षेत्रलगायतका कुनै पनि क्षेत्रमा कर्जाको माग नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । विकास बैंकतर्फ निर्माण क्षेत्रमा ४ प्रतिशतले कर्जाको माग घटेको छ । विद्युतीयमा पनि ५ प्रतिशतले घटेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि गत आइतबार पनि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप तानेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकले रकम तान्ने गरेको छ । वित्तीय प्रणालीमा रकम धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो । बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब ५५ करोड रुपैयाँ राख्न प्रस्ताव गरे । राष्ट्र बैंकले औसत २ दशमलव ९७ ब्याजदर दिनेगरी ५० अर्ब निक्षेप संकलन गरेको छ । यो निक्षेप २१ दिनका लागि लिएको हो, जुन आगामी ७ पुसमा परिपक्व हुनेछ । उद्योग, निर्माण, थोक तथा खुद्रा व्यवसायलगायत क्षेत्रमा ३ वर्षदेखि ऋणको माग बढ्न नसकेको तथ्यांक राष्ट्र बैंकको छ । यही क्षेत्रमा कर्जा माग र व्यापार नबढ्दा समेत बैंकमा रकम थुप्रिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको असोजसम्मको तथ्यांकअनुसार कृषि, विद्युतीय उपकरण, ओभरड्राफ्ट, सवारीसाधन कर्जा, सुनचाँदी कर्जा ऋणात्मक रहेको छ । कात्तिक मसान्तसम्म सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो सबैभन्दा कम ६३ दशमलव शून्य १ प्रतिशत रहेको छ । बैंकले ४ खर्ब २५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब ६७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो बैंकसँग मात्रै १ खर्ब १४ अर्ब ९२ करोड रुपैयाँ लगानीयोग्य रकम बाँकी रहेको छ । तरलता बढेसँगै बैंकहरूले विभिन्न योजनामार्फत कर्जा प्रवाहलाई तीव्रता दिने कोसिस गरे पनि कर्जा माग बढ्न भने सकेको छैन । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६८ दशमलव ८३ प्रतिशत रहेको छ । नेपाल एसबीआई बैंकको ७० दशमलव १८ प्रतिशत, कृषि विकास बैंकको ७३ दशमलव ६२ प्रतिशत, नेपाल बैंकको ७४ दशमलव ४५ प्रतिशत, प्रभु बैंकको ७५ दशमलव ३५ प्रतिशत, हिमालयन बैंकको ७५ दशमलव ७४ प्रतिशत र ग्लोबल आईएमई बैंकको ७७ दशमलव ३७ प्रतिशत सीडी रेसियो कायम रहेको छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले पनि निक्षेप बढेको बताइएको छ । कर्जा लगानी बढाउन नसकेपछि बैंकहरूको ३ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ९ दशमलव ३३ प्रतिशत कायम भएको छ । त्यसैगरी, बैंकहरूको औसत आधार दर घटेर ७ दशमलव २९ प्रतिशतमा झरेको छ । तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने बैंकहरूले अहिले १ डेढ प्रतिशत प्रिमियम थपेर कर्जा दिन थालेका छन् । चालू आव सुरु भएयता १६ मंसिर आइतबारसम्म बैंकहरूले निक्षेप संकलन उपकरणमार्फत २८ पटक गरेर ९ खर्ब ८४ अर्ब ४५ करोड बुझाएका छन् । त्यस्तै, यही अवधिमा बैंकहरूले १०७ खर्ब ८८ अर्ब २० करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) लिएका छन् ।