आज विवाह पञ्चमी, षडानन्द जयन्ती
डा. के. बि. सम्राट/काठमाण्डौ, मार्ग २१
विवाह पञ्चमी
आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । राम सीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्साउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरूले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेष गरि जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ; सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरूको कीर्तिको गुणगान गाइन्छ ।
“सीताराम गुनगान करु,
धीरज धर्मक ज्ञान करु।
राम जनकपुर आबि रहला,
धार्मिक लीला सब केँ देखला।
हनुमान संग सेतु बनायल,
लंका पर विजय पताक उडायल।
सीताक आदर्श जग केँ देखायल,
रामराज्य सँ धर्म स्थापन भेल।”
मिथिलाके सियाराम जगतजननी एछ
सीतारामको गुनगान गर, धैर्यता र धर्मको ज्ञान लिउ, राम त जनकपुर आइरहन्छन्, धर्मको लीला सबले हेर्नेछन्, हनुमान संग सेतु बनाउन जाउ र लंकामा विजय पाउन हरसंभव गर । सीताको आदर्श बिश्वले देखेको छ, रामराज्य को स्थापना संगै धर्म पनि पूर्नस्थापित हुनेछ । मिथिलाके सियाराम जगतजननी एछ , अर्थात् मिथिलाकी छोरी सीता र उनका श्रीमान् राम जगतका जननी हुन् भन्ने उक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । रामायण कहिँ ज्यूँदो छ भनें मिथिलावासीको हृदयमा छ, विवाह पञ्चमीमा त्यो प्रष्ट देखिन्छ पनि । बरु भगवान् इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान् रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ । सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरूले मनाउँदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाइँदै आएको छ ।जनकपुरमा हरेक सन्ध्या सागरहरू छेउमा आरती गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसँगै सीताका महिमाहरू स्मरण गरिन्छ, रामका कृतिहरूको यश गाइन्छ । त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथि मानिन्छ । त्रेता युगको रामायणका प्रसङ्ग अन्तर्गत विवाह पञ्चमीको व्याख्या गर्न चाहयौं, मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको हो ।
सीता माताको जन्म: वाल्मीकि रामायण
राजा जनक को शब्द साभार गर्दै छु ।
अथ मे कृषत स् क्षेत्र लांगलादुत्थिता तत ॥ १३ ॥
क्षेत्रं शोधयता लब्धा नाम्ना सीतेति विश्रुता ।
भूतलादुत्थिता सा तु व्यवर्धत ममात्मजा ॥ १४ ॥
अर्थात् मैले हलो चलाउँदा फाली माथि उठ्यो, पृथ्वी वाट निस्केकी भएको कारणले मेरी छोरीको नाम सीता रहन गयो ।
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो । यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् । यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको र्यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ । आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चात्को रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ । २४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्ड भएको ठुलो खण्डकाव्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिबद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलित छ । रामायणका यिनै पङ्क्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्थ गराएका थिए । रामायणका पङ्क्तिहरू सुनेपछि रामले आफ्ना छोराहरूलाई ठम्याएका पनि हुन् । सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्त्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठुलो गुण लगाएको छ ।
सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् । इतिहास भन्दा अगाडिदेखिको यो पावन उत्सर्गको भक्ति मार्गमा विशेष महत्त्व छ, राम सीता अटुट छन् र रहन्छन् ।

बालागुरु षडानन्द जयन्ती
षडानन्द अधिकारी प्रसिद्ध नाम बालागुरु षडानन्द नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति थिए। पूर्वी नेपालको भोजपुर जिल्लामा संस्कृत पाठशाला स्थापना गर्ने कार्यका लागि उनी प्रसिद्ध छन्। षडानन्द अधिकारीको जन्म विक्रम सम्वत १८९२ साल मार्ग शुक्ल पञ्चमीका दिन नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। यिनका पिताको नाम लक्ष्मी नारायण अधिकारी तथा माताको नाम रुक्मिणी हो । दैवसंयोग उनी जन्मदै गर्भे टुहुरो बनी जन्मिएर दाजुभाइको रेखदेखमा र आमाका काखमा हुर्किएका देखिन्छन् । षडानन्द उनका मातापिताका कान्छा सन्तान हुन्। गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा यिनले आफ्ना पिताको लाडप्यार पाउन सकेनन् । मूलत: यिनको बाल्यकाल आमाको काखमा नै बित्यो । यिनको न्वारानको नाम षडानन हो। चल्तीमा षडानन्द रहेको छ। बाल्य कालमा यिनलाई खडु पनि भनिन्थ्यो भने पछि आएर आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि यिनका सान्निध्यका शिष्य र भक्तहरू बाला गुरु एवम् गुरु महाराज भन्न रुचाउँथे। ‘ष’ लाई ‘ख’ भन्ने चलन भएकाले षडानन्दलाई खडानन्द भन्दथे । खडानन्दलाई माया गरेर छोटकरीमा बोलाउँदा ‘खडु’ भएको हो। षडानन्द बाल्यकालमा सुनेको कुरा आफू गुरु बनेर अरूलाई सुनाउँथे रे। बालक कालमा नै उनले गुरु बनेर पढाएको हुँदा स्थानीय व्यक्तिहरूले उनलाई बाला गुरु भन्दा भन्दै यो नाम प्रसिद्ध भएको हो। उनी बालक कालदेखि नै आजीवन ब्रह्मचर्यमा रहेका हुनाले आबाल ब्रह्मचारी नामले चिनिए । त्यसैगरी ठुला गुरुलाई सम्मान जनाउन गुरु शब्दका अगाडि महाराज शब्द जोडेर भन्ने चलन थियो। तत्कालीन शासक राणाजीहरूले पनि मानेका उनी त्यस समयका ठुला गुरु थिए। त्यसैले उनलाई गुरु महाराज भनिन्थ्यो। अहिले पनि धेरै मानिसहरु उनलाई बाला गुरु र गुरु महाराज नामले नै बढी चिन्दछन्। षडानन्दले सर्वप्रथम जनकपुरको ब्रह्मचर्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गरे। यिनले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितहरूको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरेको बुझिन्छ। धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्हरूको सङ्गतमा गीता,ज्योतिष तथा वेदादिको अध्ययनकै क्रममा त्यहाँबाट यिनी बनारस गए। बनारसमा यिनले मुमुक्षु भवनमा बसेर पढेका हुन्,भनिन्छ। त्यहाँ आफ्नो अध्ययनलाई अझ गहन रूपमा अगाडि बढाए। यिनको आठ वर्षको उमेरमा यज्ञोपवीत संस्कार भयो। यज्ञोपवीत संस्कार भएपछि यिनी घरबार छोडी विद्याध्ययनका लागि जनकपुरतिर लागेका हुन् भनिन्छ । यति सानै उमेरमा कुन प्रेरणाबाट घर छोडे भन्ने सम्बन्धमा विभिन्न भनाइहरू आएकाछन्, तापनि एउटा कारण विश्वसनीय देखिन्छ । हाम्रो वैदिक परम्परा अनुसार द्विजातिको ब्रतबन्धभन्दा पहिल्यै गर्नुपर्ने चूडाकर्म, विद्यारम्भ र व्रतबन्धभन्दा पछि अध्ययन सकेर गर्नुपर्ने समावर्तन समेत सबै कर्म व्रतबन्धकै दिन गरिन्छ । व्रतबन्धपछि देशान्तर लाने चलन छ । त्यही देशान्तर जाने समय भएपछि षडानन्द अधिकारी व्रतबन्धस्थलबाटै जनकपुरतिर लागेका हुन् भन्ने लाग्छ । आजीवन ब्रह्मचर्यमा रहेका षडानन्दले भारतको बनारसमा अध्ययनका साथै योग साधना समेत गरेको देखिन्छ। योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए। षडानन्दका त्यस वेलाका शिष्यहरूको भनाइ अनुसार उनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए। यसै क्रममा यिनले बाग्मती नदी किनारको पत्थर घट्टामा बसी तपस्या गरेका थिए भनिन्छ। त्यस्तै देवघाट हुँदै केही वर्ष सेती किनार, पोखरामा बसेर पनि अष्टाङ्ग योग साधना गरेको चर्चा सुनिन्छ। यिनी एउटै थलामा तिन वर्षसम्म बसेर अनेकन कष्टप्रद साधना तथा तपश्चर्या गर्थे भन्ने भनाइ छ। यिनी पट्टल बाँधेर योग साधनामा रहँदा भुँइबाट एक हातमाथि आकाशमा समेत उठ्तथे भनिन्छ। यिनी आफ्नो अध्ययन पुरा गरी योग साधकका रूपमा स्थापित भएपछि मातृभूमिका लागि केही गर्न विक्रम सम्वत १९३१ मा आफ्नो जन्मस्थल दिङ्ला फर्केको देखिन्छ । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ । यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम(आसाम) समेतका विद्यार्थीहरु आई अध्ययन गर्दथे। यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन अध्यापनका लागि छुट्टा छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो। त्यसै गरी विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो। अद्यापि केही दुर्लभ ग्रन्थहरु त्यहाँ सुरक्षित रहेका छन्। बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल राम नवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भन्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे। प्रारम्भका वर्षहरूमा आफैले अध्यापन कार्य सञ्चालन गरेका थिए। कुनै पनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतीपूर्ण हुन्छ त्यसको संरक्षण तथा अनन्त कालसम्म सञ्चालन गर्ने व्यवस्था गर्नु पनि त्यति नै चुनौतीपूर्ण हुन्छ । आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, विद्यालय, पुस्तकालय, बरबगैंचा आदि कार्यहरु सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ । गुठीका नाममा लाल मोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००/१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ । २०३६ सालको नापी अनुसार सो गुठीको क्षेत्रफल १७५३ रोपनि रहेको बुझिएको छ। नयाँ तथ्याङ्क प्राप्त अभिलेख अनुसार खेत १०२३-०२-१ (एक हजार तेइस रोपनि दुई आना एक पैसा) र पाखो बारी ७७६-१५-२-२ (सात सय छयहत्तर रोपनि,पन्ध्र आना,दुई पैसा,दुई दाम) गरी जम्मा २९००-१-३-२ (दुई हजार नौ सय रोपनि,एक आना,तिन पैसा,दुई दाम) गुठीको क्षेत्रफल रहेको छ। यिनले यस खेतको आम्दानीबाट यस मन्दिरको संरक्षण र पूजनादि कार्य गर्ने,यस खेतको आयबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा,नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने, पर्व पर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि यस खेतबाट यति खर्च बेहोर्ने आदि कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर राख्ने व्यवस्था गरे। उक्त किसिमको अभिलेख राख्नका लागि काठमाडौँबाट रत्नमान शाक्य नामक कलाकार लगी गुठियार दाताहरूको स्पष्ट विवरण तयार पारी शिलालेखमा अङ्कित गराउने काम पनि गरे। बाल ब्रह्मचारी षडानन्द कति दूरदर्शी र व्यवस्थापकीय दृष्टि भएका व्यक्तित्व थिए भन्ने कुरा आजसम्म सो व्यवस्था जीवन्त रहनुले पनि बुझ्न सकिन्छ। अहिलेसम्म पनि उनले गरेको व्यवस्था अनुसार त्यहाँको विद्यालय सञ्चालन, पूजाआजा र पुराण प्रवचन भइरहेको छ। यहाँ सम्म कि उनले भगवान्लाई पहिर्याउने लुगाको विषय समेत लेखाएका छन्। षडानन्दले पाठशाला र मन्दिरको वार्षिक खर्च र विशेष पर्व सञ्चालनको वार्षिक खर्च यति यति गर्नु र यसरी यसरी यो संस्था सञ्चालन गर्नु भनेर स्थानीय भद्रभलाद्मीहरुका रोहबरमा गुठी सञ्चालानको विधि प्रक्रिया शिलालेख, ताम्रपत्र र धर्म पत्रिका आदिमा उल्लेख गराएका छन्। साथै प्रत्येक साल त्यस अनुसार चले नचलेको सरकारले जाँच गर्नै व्यवस्था मिलाएर उनी दिङ्लाबाट विदा भएका देखिन्छन्। त्यही विधि प्रक्रियाबाट षडानन्द सीताराम गुठी २०५१ सालसम्म चलि रहेको थियो। २०५१ सालमा गुठीको नयाँ विधान जिल्ला प्रशासन कार्यालय भोजपुरबाट स्वीकृत भए पनि त्यस विधान अनुसार समिति बन्न नसकी पुरानै व्यवस्था अनुसार गुठी सञ्चालन भइ रहेको थियो । २०५२ सालमा सुरु भएको माओवादी जनयुद्धका कारणले उक्त गुठी केही वर्ष अस्तव्यस्त रह्यो। विक्रम सम्वत २०६८(६९ ?) सालदेखि २०५१ सालको विधान अनुसार समिति बनेर गुठी व्यवस्थित गर्ने प्रयास हुँदै गरेको कुरा बुझिएको छ। विद्यार्थी सङ्ख्यामा प्रशस्त वृद्धि हुन थालेपछि विक्रम सम्वत १९५५ मा विद्यालयलाई कैलास डाँडाबाट भन्ज्याङको समतल र केही फराकिलो ठाउँमा स्थानान्तरण गरियो। त्यसपछि सोही विद्यालय परिसरमा उत्तरतर्फको चोकमा गुम्बज शैलीका कलात्मक दुई गुम्बज जोडिएका युग्म मन्दिरमा पूर्वपट्टि शिव पाञ्चायनका रूपमा षडेश्वर र पश्चिमपट्टि राम मन्दिर निर्माण गरी तिनमा शिवलिङ्ग तथा राम, सीता र लक्ष्मणका मूर्तिहरु स्थापना गरिए। यी मूर्तिहरु षडानन्द आफैले भारतको हरिहर क्षेत्र तथा उज्जैनबाट ल्याएका हुन् भन्ने बुढापाकाहरूको भनाइ छ। उक्त मन्दिर परिसरमा नन्दी र हनुमानका ठुला प्रस्तर मूर्तिहरुका साथै कीर्तिमुख भैरवको समेत स्थापना गरेका थिए। त्यस चोकभन्दा बाहिर दक्षिणपट्टि अर्को ठुलो चोक थियो। जसलाई पूर्व पश्चिम लमाइको झिँगटीको छानो भएको एकतले पुराणशालाले छुट्याएको थियो। यस बाहिरी चोकको पश्चिमपट्टि दुईतले भवन बनाएर दुबै तलामा कक्षा सञ्चालनको व्यवस्था गरिएको थियो। यस चोकको पूर्वपट्टि राधाकृष्ण मन्दिर तथा अन्य स-साना मन्दिरका साथै शिवलिङ्गहरु पनि स्थापना गरिएका थिए। राधाकृष्ण मन्दिरभन्दा दक्षिण पूर्वपट्टि मूल प्रवेशद्वार नजिकै झिँगटीले छाएको तिनतले कलात्मक एउटा धर्मशाला (पाहुना घर) थियो। यस चोकको बीचको भाग चाहिँ अलिक खुला र फराकिलो थियो, जसलाई धान्यपर्व, तोलादान, यज्ञयागादि कर्मका लागि प्रयोग गरिन्थ्यो । विद्यालय परिसरको आसपास र भन्ज्याङ बजारको छेउमा गुम्बज शैलीमा सरस्वती मन्दिर,गणेश मन्दिर तथा लक्ष्मी मन्दिर समेत बनाइएका थिए। विद्यालय र मन्दिर एउटै परिसरमा एकीकृत रूपमा रहेका थिए। उक्त परिसरलाई तिन ओटा चोकमा विभाजन गरी निर्माण गरिएको देखिन्छ। सबभन्दा पछाडि उत्तरतिरको पहिलो चोकमा राम मन्दिर र शिव मन्दिर थिए भने त्यसको उत्तर र पूर्वमा झिँगटीले छाएका तिनतले छात्रावास भवन थिए। बीचको चोकको माझमा मण्डप र त्यसको पूर्व र पश्चिम लङमा पनि झिँगटीकै छानो भएका तिनतले छात्रावास भवन थिए। यही चोकको उत्तर र मन्दिर चोकको दक्षिणतिरको तिनतले भवनको भुइँतलामा वेदाध्यायीहरुका लागि फलेक छापिएको खुला कक्ष थियो। यसको माथिल्लो तलामा भने भण्डार थियो। यस घरलाई जगेडा घर पनि भनिन्थ्यो। यस घरको भुइँतलाको पूर्वपट्टि नगरा राखिएको थियो। यस किसिमको योजनाबद्ध ढङ्गले निर्माण गरिएको वृहत्तर संरचनालाई अहिले पनि भत्के बिग्रेको अवस्थामा देख्न सकिन्छ। विक्रम सम्वत २०१६ सालमा विद्यालय प्रधान पाठशालामा परिणत भएपछि विद्यार्थी सङ्ख्या अत्याधिक रूपमा वृद्धि भयो र २०२१ सालदेखि विद्यालय पूर्वतर्फको डाँडामा नव निर्मित तिनतले भवनमा सारियो। २०२२ सालदेखि केही वर्ष महाविद्यालयका रूपमा उत्तर मध्यमा तहको पठन पाठन पनि भएको थियो। उक्त भवनमा षडानन्द संस्कृत माध्यमिक विद्यालयको पठन पाठन अद्यापि भइ रहेको छ। १९३२ सालमा स्थापित विद्यालयको नाम २०१५ सालसम्म पाठशाला थियो। २०१६ सालमा षडानन्द संस्कृत प्रधान पाठशाला नामकरण भयो। २०२१(२२) सालमा षडानन्द संस्कृत महाविद्यालय प्रस्तावित भएको थियो। त्यो प्रस्तावमा मात्र सीमित रह्यो। २०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि षडानन्द संस्कृत माध्यमिक विद्यालयका रूपमा अद्यापि सञ्चालन भइ रहेको छ। विक्रम सम्वत १९३२ मा गडीगाउँको कैलासमा स्थापित विद्यालय १९५५ सालामा भन्ज्याङमा सारियो। विद्यार्थी सङ्ख्या अत्याधिक रूपमा बढेर मन्दिर परिसरमा पठन पाठन सञ्चालन गर्न कठिनाइ भएपछि २०२१\२२ ? सालमा मन्दिर परिसरदेखि पूर्वतिरको डाँडामा नयाँ भवन निर्माण गरी प्रधान पाठशाला सारियो। उक्त विद्यालय हाल पनि त्यही भवनमा सञ्चालन भइ रहेको छ। पाठ्यक्रम : प्रारम्भमा चण्डी, रुद्री, वेद, लघु कौमुदी, अमर कोश, ज्योतिष आदिको पठन पाठन हुने गरेको थियो। पछि …….सालमा तह छुट्याएर पढाउन आफ्नै पाठ्यक्रम बनाइएको र सो अनुसार परीक्षा लिने व्यवस्था भएको देखिन्छ। ‘जो विद्याको पढनाको इच्छा हुन्छ, सो सुबिस्तासाथ पढून्….’ भन्ने धर्म पत्रिकाको कथन अनुसार संस्कृतका अतिरिक्त व्यावहारिक जीवनका लागि आवश्यक स्रेस्ता, गणित आदि विषयको पनि पठन पाठन हुने गर्थ्यो भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएको छ । विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैंचा पनि निर्माण गराएका थिए। जुन बगैंचामा विभिन्न जातका फलका बिरुवाहरु, विभिन्न याममा फुल्ने फुलहरु, स्थानीय जङ्गलमा पाइने विभिन्न बोट बिरुवाहरु विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए। भनिन्छ, यस बगैंचामा १००८ प्रजातिका बोट बिरुवा रोपिएका थिए। बगैंचा संरक्षणका लागि काठमाडौँ तथा भक्तपुरबाट प्राविधिक झिकाई तेलिया इँट र सुर्कीको विशाल पर्खाल बनाएर घेरिएको थियो। भित्री बगैंचाको दक्षिण पश्चिम र बजारको उत्तर पूर्वमा बाहिरी बगैंचा बनाइएको थियो, जुन अवशेषका रूपमा आज पनि देख्न पाइन्छ। षडानन्दले विद्यालय र मन्दिर परिसरतिर आउजाउ गर्नका लागि आसपासमा बाटो निर्माण गराए। मन्दिर परिसरदेखि भन्ज्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्ने खालको फराकिलो बाटो बन्यो। नारायण धारो, राम धारो जाने आउने बाटो र गडीगाउँदेखि टुँडीखेलको नजिकबाट भन्ज्याङ आउने चौडा बाटो समेत यिनकै निर्देशनमा बनेका थिए। षडानन्दले भन्ज्याङ बजार परिसरको बाहिरी बगैंचामा सुन्दर पार्वती(?) कुण्ड (ठुलो पोखरी) निर्माण गराए। त्यस कुण्डमा विभिन्न जातका माछाहरु पालिएका थिए। साथै बाहिरी र भित्री बगैंचामा सीता कुण्ड, गौरी कुण्ड, हनुमान कुण्ड आदि कुण्डहरूको निर्माण गराएका थिए। विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चोकको नजिकमा नारायण धारो तथा भन्ज्याङबाट फालीकोटतिर जाने बाटामा राम धारो र लक्ष्मण धारो जस्ता धाराहरु पनि बनाइएका थिए। उनले सामूहिक, समाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न चौरहरु र गौचरनहरूको पनि व्यवस्था गरेका थिए। तीमध्ये नारायण चौर र गौचरन अझै पनि छँदै छन्। बस्ती विस्तार भएपछि तथा शैक्षिक एवम् समाजिक गतिविधि बढेपछि सुरक्षाको पनि विशेष आवश्यकता पर्छ। तसर्थ यिनले तत्कालीन शासकहरूसँग हारगुहार गरेर छोटी जङ्गी अड्डा स्थापना गराए र सिपाहीहरूलाई परेड खेल्न गडीगाउँको डाँडामा टुँडीखेल बनाउन लगाए। त्यो टुँडीखेल अहिले पनि यथावत् छ। षडानन्दले एउटा विशाल वनको स्थापना गराएका थिए। जसमा स्थानीय रूपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, पात्ले, ढाल्ने, झिँगनी, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरु थिए। साथै यहाँ रुद्राक्षको वन सघन रूपमा हुर्काइएको थियो। यी बोट बिरुवा धार्मिक तथा समाजिक रूपमा दैनिक आवश्यकतासँग आबद्ध थिए। पछि आएर यो वन रुद्राक्ष वनका रूपमा चर्चित हुन पुग्यो। यसलाई ‘जगेडा वन’ पनि भनिन्छ। यसलाई सामुदायिक धारणा अनुरूप संरक्षित ‘नेपालको पहिलो सामुदायिक वन’ मानिन्छ। बाला गुरुले मार्ग कृष्ण चतुर्दशीमा पशुपतिमा शतबीज छरे जस्तै दिङ्लामा पनि शतबीज छर्ने चलन चलाए। उनले त्यो चलन चलाएका हुनाले उक्त चतुर्दशीको नाम बाला चतुर्दशी रहन गएको कुरा इतिहासविद्हरु बताउँछन्। बालागुरु षडानन्दले दिङ्ला भन्ज्याङमा बजार बसाई साप्ताहिक हाट बजार र वार्षिक रूपमा मेला लाग्ने थिती बसाए। सो भन्ज्याङमा बाला चतुर्दशी (मार्ग कृष्ण चतुर्दशी)का दिन सद्मी मेला लाग्ने गर्छ। सो दिन मृत व्यक्तिहरूका आत्माको शान्तिका लागि रथयात्रा सहित शतबीज छर्ने चलन छ। त्यस्तै चैत्र शुक्ल नवमीका दिन राम नवमी मेला लाग्छ। प्रत्येक शनिबार हाट लाग्ने व्यवस्था समेत छ। अहिले पनि पर्व पर्वमा ती मेला र साप्ताहिक हाट लाग्ने गर्दछन्। शनिबारको हाट तथा मेलामा गृहस्थी जीवनसँग सम्बन्धित स्थानीय उत्पादन चामल, दाल, चिउरा, सागसब्जी, घिउ, कुराउनी, सक्खर तथा फलफुलहरु किनबेच हुने गर्दछन्। त्यस्तै स्थानीय सिपबाट उत्पादित डोका, डाला, थुन्से, डेली, ठेकी, गुप्ते, दुधेरो, भुने, भकारी, मान्द्रो, नाङ्लो, ढकी, महला, घुम, नाम्लो, खकन, दाम्लो, फिपी, पिचा, मुर्चुङ्गा, मादल, बिनायो, राडी, पाखी, लुकुनी, खुकुरी, कर्द, चकमक, कोदालो, कोदाली, फाली, करुवा आदि र यस्तै अरू स्थानीय भाँडाकुँडाको समेत प्रशस्त किनबेच हुन्छ। यसरी नै मेलामा बालन, भजन, सँगिनी आदि गाएर रातभर जाग्राम बस्ने चलन पनि छ। बालागुरु षडानन्दले समाज सुधारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन्। उनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा विक्रम सम्वत१९४० सालतिरै सती प्रथा उन्मूलन गराएका थिए। पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरूको सहयात्राको सुरुआत पनि यिनले गरे। संस्कृत भाषा बाहुनले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो। त्यस्तै छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रसार गरेका थिए। राज्यबाट सती प्रथा र दास प्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्र शमशेरले यिनैबाट पाएका थिए, भनिन्छ । समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ बटुकहरूको सामूहिक व्रतबन्ध स्थानीय नारायण चौरमा गराई सामूहिक कार्य गर्ने व्यवस्था समेत गरे। विद्यालयबाट शिक्षा हासिल गर्नु त छँदै छ, त्यसका अतिरिक्त आध्यात्मिक एवम् नैतिक ज्ञान समेत प्रदान गरी समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व पर्वमा नैतिक प्रवचन दिने व्यवस्था समेत भएको थियो। षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्धि र क्षमताबाट भारतीय विद्वद् समाजमा भलीभाँती परिचित थिए। उनको योग्यताको कदर गर्न वाराणसीको विद्वद् गणले उनलाई श्री १०८ उपाधिले सम्मानित गरेको थियो। यिनका विषयमा अनेकन् किंवदन्तीहरु छन्। यिनी आज काठमाडौँमा थिए भने भोलिपल्ट दिङ्लामा हुन्थे, भनिन्छ। त्यस्तै अरुण नदीमा रुमाल बिछ्याएर नदी पार गर्थे पनि भनिन्छ। आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबिसपल्ट गायत्री पुरश्चरण (विधिपूर्वक चौबिस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ) गरी अष्टसिद्धि तथा गायत्री साधना समेत गरेका थिए। कतिपय त यिनको गायत्री जप गर्ने कोठामा गायत्री मातासँग साक्षात् वार्ता भएको हामीले पनि सुनेका थियौं भन्ने पनि थिए रे ! त्यस्तै यिनले जीवनको उत्तरार्धमा साधना गरेको र देहावसान भएको काठमाडौँ, टेकुको पचली घाटमा बर्खे भेल आएको वाग्मती नदीमा खराउ लगाएर पानीमाथि हिँड्दै वारपार गर्थे भन्ने पनि विश्वास गरिन्छ। यिनी योग साधनारत रहेरै दिवङ्गत हुनु, त्यतिखेरको समयमा राष्ट्रले पनि गर्न नसक्ने समाज सुधार तथा शिक्षा केन्द्र स्थापनाका लागि विशाल निर्माण कार्य गरिनुले उनमा विशिष्ट सिद्धि थियो भन्नुमा दुई मत रहँदैन। यति मात्र होइन, राणा शासकहरु आबाल ब्रह्मचारी षडानन्दको अनुसरण गर्नु आफ्नो धर्म ठान्दथे। त्यसैले विक्रम सम्वत १९३४ सालमा दिङ्लाकै जस्तो संस्कृत पाठशाला काठमाडौँमा खुल्यो। यसरी नै राज्यबाट सती प्रथा र दास प्रथा उन्मूलन गर्ने सरकारी घोषणा पनि भयो। यिनको ख्याति तथा सिद्धिबाट तत्कालीन शासकहरु पनि भलिभाँती परिचित थिए । तत्कालिक शासकहरु पनि सिद्ध पुरुष षडानन्दका भक्त थिए । त्यसैले षडानन्दले भने गरेका समाजिक कार्यमा तत्कालीन शासकबाट लाल मोहर गरी दिएको देखिन्छ। उनले आफूले स्थापना गरेको गुठीको लाल मोहर विक्रम सम्वत १९३५ सालमा नै गराएका थिए। आबाल ब्रह्मचारी षडानन्दले वाराणसीको मुमुक्षु भवनमा गुरु ……..सँग विशेष शिक्षा एवं दीक्षा लिएका थिए। वाराणसीमा उनको ठुलो प्रभाव थियो। त्यसैले त्यहाँको तत्कालीन विद्वद् समाजले सिद्ध जोगीहरूलाई सम्मान गर्ने परम्परा अनुसार षडानन्दलाई श्री १०८ को उपाधिले सम्मान गरेको थियो,भनिन्छ। विक्रम सम्वत १९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किए र विक्रम सम्वत १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै ब्रह्मलीन भए।
