बेइजिङबाट प्रधानमन्त्री ओली नेतृत्वको टोली स्वदेश प्रस्थान
रासंसा/काठमाण्डौ, मार्ग २०,
मुलुकमा चीनको चारदिन लामो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वदेशका लागि उडेका छन्।ओली नेतृत्वको टोली नेपाली समय अनुसार विहान पौने ९ बजे बेइजिङ्गबाट नेपाल उडेको हो। चीनको चारदिन लामो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कन लागेका हुन्। प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका छन्। ओली नेतृत्वको टोली नेपाली समय अनुसार अपरान्ह साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो। नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन्। यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ। चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ। यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्। दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ। भ्रमणका अवसरमा स्वयमसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन्। सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि दुई देशबीच छलफल भएको छ। यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।