मुलुकमा राजनीतिक आवरणमा अपराधै अपराध

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक ०४,

मुलुकमा पछिल्लो समय स्वयम् गृह मन्त्रालयको नेतृत्व सम्हाल्ने गृहमन्त्री नै गैरकानुनी गतिविधि र जघन्य अपराधका घटनामा संलग्न हुँदा शान्ति सुरक्षासँगै सुशासनमाथि नै प्रश्न उठने गरेको छ । नेपालमा बेलाबखत यस्ता घटना र गलत प्रवृत्ति राज्य सञ्चालनको जिम्मेवार उच्च पदमा आसीन व्यक्तिबाट नै आपराधिक गर्ने गरेको पछिल्ला केही घटनाक्रमबाट नै स्पष्ट हुन्छ । शान्ति सुरक्षा, सुशासन, सामाजिक न्याय जस्ता विशेष जिम्मेवारी गृह मन्त्रालय अन्तर्गत पर्छ । कुनै पनि प्रकारको अपराध हुन नदिने र भएमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने मुख्य जिम्मेवारी पनि सोही मन्त्रालयकै हो । सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचत अवैध रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याई हिनामिना गरेको आरोपमा प्रहरीले शुक्रबार तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्‍यो । पोखराका १८ हजार ७५० सर्वसाधारणले सूर्यदर्शन सहकारीमा जम्मा गरेको झन्डै ६५ करोड रुपियाँ अवैध रूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याई अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीलगायतका सञ्चालकले हिनामिना गरेको आरोपमा प्रहरीले लामिछानेलाई ठगी र सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु गरेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री लामिछानले कम्पनीको स्वेट सेयर (पसिनाको हिस्सा) भनेर सर्वसाधारणले जम्मा गरेको ६५ करोड ५४ लाख सहकारीमा ल्याएर चेक काटी अनधिकृत रूपमा खर्च गरेको संसदीय छानबिन समिति र प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । यसबाहेक गोर्खा मिडियामा लामिछानेसहितका सञ्चालकले पोखरा, बुटवल, चितवन र काठमाडौँका विभिन्न सहकारीको अवैध रूपमा झन्डै ८६ करोड रुपियाँ भित्र्याएर सङ्गठित रूपमा गोर्खा मिडियाबाट हिनामिना गरेको खुलेको छ । सोही सहकारीको रकम हिनामिना गरेको अभियोगमा गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् भने अर्का सञ्चालक तथा पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सङ्गठित अपराधको आरोपमा अनुसन्धान गरिरहेको छ । जिबी राई भने फरार छन् । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, पूर्वप्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सूर्यदर्शन सहकारीबाट ठगिएका बचतकर्ताले २०८० माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक उजुरी दिए पनि लामिछाने नै गृहमन्त्री भएकाले अनुसन्धान अघि बढ्न सकेको थिएन । जिल्ला सरकारी वकिलको कार्यालयले एक अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै गोर्खा मिडियाका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा दायर भएको मुद्दा विचाराधीन छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २०८० वैशाख २७ गते उहाँकै निवास काठमाडौँको मैजुवहालबाट पक्राउ गर्‍यो । यसै प्रकरणमा नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री ऊर्जामन्त्री टोपबहादुर रायमाझी हाल पुर्पक्षका लागि कारागारमा हुनुहुन्छ । सोही घटनामा रायमाझीका छोरा सन्दीप, बादलका छोरा प्रतीक थापाविरुद्धको मुद्दा विचाराधीन छ । नेपाली युवालाई अवैध रूपमा अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाणले सहयोग आरोप लागेको छ । आर्थिक लाभ लिएर तत्कालीन गृहमन्त्री खाणले गिरोहलाई सहयोग गरेको भनी ललितपुरका सानु भण्डारीले दिएको बयानपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँको संयुक्त टोलीले खाणलाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा खाणसँगै उहाँका स्वकीय सचिव नरेन्द्र केसी, अर्का तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेमाथिको अभियोग अदालतमा विचाराधीन छ । नेपालमा हुने अवैध सुन तस्करी प्रकरणमा प्रहरीले गत वैशाख ७ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कृष्णबहादुर महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले पक्राउ गर्‍यो । तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको निर्देशनमा सिआइबिले महरा बाबुछोरालाई गत भदौ १३ गते पक्राउ गरेको थियो । महरालगायतका अरोपी सुन तस्करीका मुख्य योजनाकार चिनियाँ गिरोहसँग पटक पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । सुन तस्करीको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले ब्रेक सुभित्र लुकाएर ल्याएको ६० केजी तथा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा कृष्णबहादुर महरा, छोरा राहुल महरा, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहितलाई कारबाहीको सिफारिस गर्‍यो । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा तत्कालीन बहालवाला सभामुख कृष्णबहादुर महरा २०७६ असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ पर्नुभयो । महरामाथि पीडित महिलाले महरा जबरजस्ती निवासमा छिरेर बलात्कारको प्रयास गरेको दाबी गर्नुभएको थियो । महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सिडिआर), सिसिटिभी फुटेजलगायतको विश्लेषणबाट प्रहरीले महरा त्यस दिन काठमाडौँको सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकालेको थियो तर महिलाले पछि अदालतमा बयान परिवर्तन गरेपछि भने महरा धरौटीमा रिहा हुनुभयो । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद सजाय सुनाएको थियो । जोशी २०४८ सालदेखि २०५९ सालसम्म गृहमन्त्रीसहित विभिन्न उच्च पदमा रहँदा तीन करोड ९३ लाख ६२ हजार भ्रष्टाचार गरेको ठहर अदालतले गरेको थियो । त्यसअघि तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका दिवङ्गत नेता खुमबाहदुर खड्का पनि भ्रष्टाचारमा सर्वोच्च अदालतबाटै दोषी ठहर हुनुभएको थियो । पूर्वसञ्चारमन्त्री जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्ले पनि भ्रष्टाचार प्रकरणमा दोषी ठहर हुनुभएको छ । पूर्वगृहमन्त्री रवि लामिछानेको गिरफ्तारी यसको पछिल्लो उदाहरण रहेको बताउँदै खतिवडाले लामिछाने पक्राउ पर्नु कुनै नौलो विषय नै नभएको पनि बताउनुभयो । राजनीतिक विश्लेषक डम्बर खतिवडा राजनीतिको आवरणमा पछिल्लो समय अपराधीकरण मौलाउँदै जानुमा आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्य संयन्त्रमा भएको राजनीतीकरण प्रमुख रहेको बताउनुहुन्छ । सहकारीमा सर्वसाधारणले बचत गरेको ठुलो रकम हिनामिनाको अरोप लागेका गोर्खा मिडियाका अध्यक्ष जिबीलाई आफू गृहमन्त्री हुँदा पक्राउ गरेर अनुसन्धान नगर्नु सोही मिडियाका सञ्चलकद्वय कुमार रम्तेल र छविलाल जोशीमाथि अनुसन्धान भइरहँदा रवि लामिछाने उम्किने सम्भावना नै थिएन । त्यसैले रविको पक्राउ स्वाभाविक हो । उहाँले राज्यका संयन्त्र दलीयकरणमा फस्दै जाँदा नेतामा हामीले जे गरे पनि हुन्छ, हामीलाई कसले के गर्न सक्छ ? भन्ने मानसिकता बढ्दै गएको भन्दै नेपाल जस्तो अतिकम विकसित मुलुकमा आर्थिक अभाव, पार्टीको आन्तरिक लोकतन्त्र कमजोर हुनु र खर्चिलो चुनावी प्रणालीका कारण पनि यस्ता घटना दोहोरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रका लागि लडेका नेतामा नै उच्च तहमा पुगेपछि राज्यको स्रोत दोहन कसरी गर्ने, कसरी पैसा कमाएर चुनावमा खर्च गर्ने मानसिकता हाबी हुँदै गएको छ । त्यसैले घटना दोहोरिरहेका छन् ।”

Like