प्रधानमन्त्रीमा बाँडफाड हुँदै सट्टा समिकरणमा प्रचण्ड, नेपाल र ओली क्रमशः १३–१३ महिना प्रधानमन्त्री

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण ३०,

मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिनुसार नेपाल पनि प्रधानमन्त्री हुने भएका हुन् । सो छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने अलिखित सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा सातबुँदे सहमतिपत्र सार्वजनिक हुनुभन्दा अघि छलफल भएको थियो । ‘यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा भएको सहमतिनुसार नै अब एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका बीचमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो,’ ती नेताले भने, ‘अबको ४ वर्षमा आमनिर्वाचन हुन्छ, यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।’ यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ । नेपालले कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमति उल्लेख गर्दै अबको दिनमा नयाँ गठबन्धनले कसरी अगाडि बढ्ने र पावर सेयरिङ हुने’boutमा जिज्ञासा राखेका थिए । सत्ता र शक्तिको बाँडफाँटमा नेपालको जिज्ञासानुसार प्रचण्ड र ओली पनि त्यस्तै सहमति गर्न सहमत भएका बताइएको छ । नेपाल नयाँ गठबन्धनमा नआउँदा गठबन्धन भत्किनसक्ने भएकाले पावर सेयरिङका विषयमा तीन नेताका बीचमा सहमति जुटेको हो । तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १३÷१३ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए । प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ । यसअघि सत्तारूढ चार दलबीच भएको सहमतिनुसार एमालेले राष्ट्रिय सभा उपाध्यक्ष पाउने भए पनि सातबुँदे सहमतिमा सो कुरा उल्लेख छैन । शीर्ष नेताबीच भएको सहमतिनुसार राष्ट्रिय सभा उपाध्यक्ष एकीकृत समाजवादीले पाउने भएको छ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालका बीचमा भएको समझदारीपश्चात् पाँच दलका बीचमा सातबुँदे सहमति लिखित रूपमा भएको पत्र सार्वजनिक भएको छ । ‘यसअघि चार दलका बीचमा भएको सहमतिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने भनिएको थियो, तर एकीकृत समाजवादीसहितको पाँच दलका बीचमा भएको सातबुँदे सहमतिमा उपाध्यक्ष’bout केही उल्लेख गरिएको छैन, त्यो बुझ्ने कुरा हो, त्यो भनेको एकीकृत समाजवादीले पाउने हो,’ एकीकृत समाजवादी उपाध्यक्ष पाण्डेले राजधानीसँग भने, ‘यसअघि नयाँ र पुरानो गठबन्धनमा रहेका शीर्ष नेताका बीचमा भएको अलिखित सहमतिनुसार पावर सेयरिङका पनि सहमति भएको हुन्छ ।’ यसअघि २१ फागुनमा चार दलका बीचमा आठबुँदे सहमति भएको पत्र सार्वजनिक भएको थियो । २१ फागुनको सहमतिपत्र सार्वजनिक हुँदा एकीकृत समाजवादी सहभागी थिएन् । तर, मंगलबार एकीकृत समाजवादीले उठाउँदै आएको माग सम्बोधन हुनेगरी सहमति भएको छ । २१ फागुनको सहमतिपत्रमा एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्र सार्वजनिक गरेका थिए । त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष÷उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वयनलगायत आठबुँदे सहमति गरेका थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)सहित पाँच दलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार भने एकीकृत समाजवादी पार्टीका मुद्दासमेत सम्बोधन गरी सातबुँदे सहमति सार्वजनिक भएको हो । यसअघि र मंगलबारको सहमतिको बुँदा नम्बर ६ मा केही परिमार्जन गरिएको छ । यसअघि २१ फागुनमा भएको सहमतिको बुँदा नम्बर ६ मा पनि उस्तै कुरा भए पनि भाषा भने अलि फरक थियो । ‘सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्नेगरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने’ यसअघिको सहमतिमा भनिएको थियो । मंगलबार दलहरूले संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति गरेका छन् । ‘देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्नेगरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने’ मंगलबारको सहमतिको बुँदा नम्बर ६ मा उल्लेख गरिएको छ । यस्तै, जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सहमत भएको उल्लेख गरिएको छ । यसैगरी, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र मुलुकमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमतिपत्रमा उल्लेख गरिएको छ । यसैगरी, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने भनिएको छ । यसअघिको सहमतिपत्रमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख गरिएको थियो । तर, एकीकृत समाजवादीसहित पाँच दलबीचमा भएको सहमतिपत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार कुन दलको हुने भन्ने विषय उल्लेख गरिएको छैन । स्रोतका अनुसार अब उपाध्यक्ष एकीकृत समाजवादीले पाउनेछ । मंगलबार बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष एकीकृत समाजवादीलाई दिन सहमत भएको बताइएको छ । ‘हामी पाँच राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौंं,’ सहमतिपत्रमा उल्लेख गरिएको छ । सो सहमतिपत्रमा हस्ताक्षर हुनुअघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच मिलेर अगाडि बढ्ने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको तीन शीर्ष नेताबीचको छलफलमा आगामी दिनमा मिलेर अघि बढ्ने समझदारी भएको हो ।

Like