दुग्ध सरकार र दुग्ध किसानबीच पाँचबुँदे सहमति बक्यौता किसानको पुस मसान्तसम्मको रकम चैत २१ गतेभित्र भुक्तानी गरिने

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २०,

मुलुकमा सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे सहमति भएको छ । दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौता चैत २१ गतेभित्र गरिसक्नुपर्ने सहमति भएको हो । त्यस्तै दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने र दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवद्र्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । शनिबार कृषिमन्त्री बेदुराम भुसालको उपस्थितिमा वार्ता टोलीले प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुने गरी निरन्तर खरिद गर्ने सहमतिसमेत भएको हो । त्यस्तै सरकारले पशुपालक किसानलाई दिइरहेको कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघको मागलाई सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो । दुई पक्षबीच सहमति भएसँगै निर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । दुग्ध किसानहरूले बक्यौता रकमको माग गर्दै गत फागुन ८ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।

Like