तिहारको रौनक भूकम्प प्रभावित क्षेत्रमा छैन

Share to:

टिकाराम सिङ/जाजरकोट, कार्तिक २९,

मुलुकमा हिन्दु नेपालीहरूको महान चाड तिहारको रौनक देश विदेशमा छाइसकेको छ। देउसी भैलो खेल्ने, सेल रोटी पकाउने, नाचगान गर्ने, सयपत्रीका माला उन्ने लगायतका उल्लास पूर्ण कार्य भइरहे पनि भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भने तिहारको कुनै रौनक छैन। यसपाली प्रभावित क्षेत्रमा देउसी भैलो खेलिएन। सयपत्री फुलेको छ। तर मनिसालाई यतिबेला न सयपत्री जोगाउने चासो छ न माया नै। उनी आफ्नो ज्यान कसरी जोगाउने भन्ने पिरोलोमा छन्। उनको ५ जनाको परिवार घरविहीन भएको छ। ‘श्रीमान कालापार(भारत)जानु भएको छ। चार छोरा छोरीको लालनपालन गर्दै आएकी उनको भूकम्पले घर भत्कियो। भएको लत्ताकपडा र खाद्यान्न सबै पुरियो। कमाई छैन। छोराछोरी साना छन्। के खाएर बाँच्ने हो’ उनले भनिन ‘जेठी छोरी हिजो देखि बिरामी छ। चिसोले १७ वर्षकी छोरीलाई ज्वरो आउन थालेको छ। यस्तो अवस्थामा कसरी तिहार मनाउनु। भूकम्पले हामी सबैको सातो लगेको छ। फेरि पनि हल्लाइरहेको छ। छोराछोरी त्रासमा छन्। यस्तो अवस्थामा आएको तिहारले हामीलाई गिज्याइरहेको जस्तो लागिरहेको छ।’ पीडितले न त सेल रोटी नै पकाए। पीडितलाई त्रिपाल मुनी कसरी बाँच्ने भनेर चिन्ता परिरहेको बेला आएको तिहारको कुनै रौनक छैन। गाउँहरू सुनसान छन्। भूकम्पको झट्काले घरभत्किएपछि तिहारका लागि भनेर लगाइएका सयपत्री समेत ओइलाउन थालेका छन्। बस्ने घर भत्किएपछि भेरी नगरपालिका-१ रिम्नाकी मनिसा चलाउने खुला चौरमा त्रिपाल टाँगेर गुजारा चलाउन बाध्य छन्। पश्चिम रुकुम आठविसकोट नगरपालिका-१४ छेपारेकी ६० वर्षीया सरस्वती जैसी यतिबेला शोकमा छन्। तीन नाती नातिनी र बुहारी गुमाएकी उनी गहिरो पीडामा छन्। तिहारको कुनै रौनक छैन। त्रिपालमुनि वास छ। ‘घर भत्किएर काठ र ढङ्गाको भग्नावशेष मात्र छ। छोरो कालापार भारत गएको थियो। ८ वर्षकी नातिनी र म सँगै सुतेको थियौं। बुहारी र अरू नातीनातिनी अर्को कोठा सुतेको थिए। १७ कार्तिकमा मध्यरातमा एक्कासि आएको भूकम्पले चार जनाको ज्यान एकै चिहान बनायो। म काठले छेकेर बाँचे। साना लालावाला मरेर म बाँच्नुको के नै अर्थ छ र उनले भनिन ‘यस्तो बेला आएको तिहारले मन धरधरी रुन्छ। के गर्नु पापी दैवले हाम्रो सबै खुसी खोस्यो।’ उनका साथीभाइ पनि पीडामा छन्। यी त केही प्रतिनिधि पात्र मात्र हुन्। जाजरकोट र रुकुम पश्चिममा गरी करिब ६० हजार बढीले घर छोडेर त्रिपालमा बसेका छन्। केहीले त्रिपालमै टीकाटालो गर्ने योजना बनाएका छन्। सदरमुकाम खलंगास्थित कस्तुरी बोडिङ्गको चौरमा त्रिपालमा बसिरहेकी कल्पना खत्रीले भाइलाई बोलाएर त्रिपालमै टीकाटालो गर्ने योजना बनाएकी छन्। जताततै शोक छ। भूकम्पमा घर भत्किएपछि नलगाड नगरपालिका-१ पालीकी १६ वर्षीय भूमिका पुन घरमै पुरिइन्। गाउँलेले उद्धार गरेर बचाए। सँगै सुतेकी बहिनी विनिताको मृत्यु भयो। अहिले पनि भूमिकालाई त्यही घटनाले पछ्याइरहेको छ। बहिनी गुमाउँदाको पीडा एकातिर छ भने आफैं पनि घटनामा परेकोले उनी बेलाबेला त्यही घटना सम्झेर झस्किने र बर्बराउने गर्छिन्। उनको घरमा ढपक्क सयपत्र फुलेका छन् तर बहिनीको शोकमा उनीहरूको तिहार यसपालि हुने छैन। उनको गाउँमा तिहारको कुनै रौनक छैन। बहिनी सहित यसपाली उनीहरू देउसी खेल्ने तयारी गरिरहेका थिए। तर देउसी खेल्ने सपना पुरा नहुँदै भूकम्पले बहिनीलाई निल्यो। तर पनि आफ्नो परम्परा त्रिपालमै भएपनि निरन्तरता दिने योजनामा कल्पना छन्। बाहिर तिहारको रौनक नभएपनि त्रिपाल भित्रै भएपनि सामान्य टीकाटालो गर्ने योजनामा धेरै भूकम्पपीडित रहेको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तले बताए। कतिपयले भने भूकम्पको पीडामा यसपाली टीकाटालो नगर्ने बताएका छन्।

Like