डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियानमा वीरगन्ज महानगरपालिका

Share to:

रासंसा/पर्सा, भाद्र ३०,

मुलुकमा पछिल्लो एक सातामा वीरगन्जमा डेंगुको संक्रमण ह्वात्तै बढेपछि वीरगन्ज महानगरपालिकाले डेंगुको प्रकोप नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान चलाएको छ। यसका साथै महानगरपालिकाको टोलीले बाहिरबाट लामो दूरी तय गरेर वीरगन्ज आउने यात्रुवाहक बसभित्र कीटनाशक विषादी ‘बायो डाट’ छर्ने काम शनिबारदेखि सुरु गरेको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखा र सरसफाई शाखाको टोलीले विगत एक सातायतादेखि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान पहिचान गर्दै त्यसलाई नष्ट पार्न अभियान चलाएको हो। अभियान अन्तर्गत महानगरको टोलीले डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान रहने गाडीका पुराना टायर पसल र ग्यारेजहरूमा पुगेर पानी जमेका टायरहरू हटाउने गरेको स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले बताए। डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भाको बासस्थान भएका जोखिमपूर्ण क्षेत्र (टायर पसल,ग्यारेज, सरकारी कार्यालय, बाहिरबाट आउने यात्रुवाहक बस , घरका पानीट्यांकी , गमला इत्यादि) मा पुगेर डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा मार्ने ‘बायोडाट’ नामक विषादी छर्कने काम भइरहेको उनले बताए। त्यसक्रममा शनिबार बिहान सम्म विभिन्न स्थानका टायर पसल र ग्यारेजमा गरि ५ सय ७३ वटा पुराना टायरमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा भेटिएको कुशवाहाले जानकारी दिए। टायर पसल र ग्यारेजमा टायरमा जमेको पानी फाल्ने र सम्बन्धित पसलेलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको उनले बताए। यसकासाथै बाहिरबाट लामो दूरी तय गरि वीरगन्जमा आउने यात्रुवाहक बसमा पनि ‘बायोडाट’ विषादी छर्कन सुरु गरिएको जानकारी उनले दिए। शनिबार ८२ वटा बसभित्र ‘बायोडाट’ विषादी छर्क गरिएको उनले बताए। यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्यांकी, गमला, एसी, पानीका बोतल आदिमा डेंगु सार्ने लामखुट्टे र त्यसका लार्भा खोजेर नष्ट गर्ने गरिएको जानकारी उनले गराए। नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहका अनुसार वीरगन्जका क्लिनिक र अस्पतालहरूमा गत साउनदेखि नै डेंगुको बिरामी उपचारका लागि आउन थालेका थिए। तर भदौ तेस्रो साता यता भने बिरामीको संख्या ह्वात्तै बढेको अवस्था रहेको डाक्टर सिंहले बताए। तीमध्ये वीरगन्जका २२ जना, अन्य जिल्लाका ६ जना र बाँकी ३ जना भारतीय नागरिक रहेको उनले बताए। नारायणी अस्पतालमा हाल डेंगुको संक्रमण भएका दुई जना बिरामी उपचाररत रहेको डाक्टर सिंहले बताए। अन्य संक्रमतिमध्ये केही उपचारपश्चात निको भएको र केहीले भने घरमै रहेर औषधी सेवन गरिरहेको डाक्टर सिंहले बताए। महानगरपालिकाको स्वास्थ्य महाशाखाका सहसंयोजक कुशवहाका अनुसार वीरगन्जमा भदौ २३ देखि शनिबार बिहानसम्म ३१ जनामा डेंगुको संक्रमण भेटिएको छ। यहाँ रहेका अस्पताल र क्लिनकहरूमा उपचारका लागि आएका बिरामीहरूमा स्वास्थ्य परीक्षण गर्ने क्रममा उनीहरूमा डेंगुको संक्रमण पुष्टि भएको कुशवाहाले बताए।

Like