१० लाख सुडानी आन्तरिक द्वन्द्वले विस्थापित
एजेन्सी,
विश्वमा राष्ट्रसंघका अनुसार औषधि आपूर्तिमा कमी र कृषि उत्पादनमा असहजताका कारण पनि सुडानको अवस्था भयावह बन्दै गएको छ । सुडानमा सेना र अर्धसैनिक बल आरएसएफबीचको लडाइँका कारण राजधानी खार्तुम पूर्णरूपमा ध्वस्त भएको छ । यस्तै डार्फरमा पनि जातीय हिंसा फैलिएको छ, जुन स्थान पहिले पनि गृहयुद्धका कारण अशान्त रहँदै आएको थियो । सुडानमा १ करोड ४० लाखभन्दा बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ । यस्तै, युद्धमा करिब ४ लाख युद्धमा संलग्न भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार सुडानबाट हालसम्म ३४ लाखभन्दा बढी व्यक्ति युद्धकै कारण विस्थापित भएका छन् । अफ्रिकी देश सुडानमा आन्तरिक द्वन्द्वका कारण १० लाख मानिस विस्थापित भएका छन् । खाद्यान्न संकट तथा अत्यावश्यक सेवाको कमीका कारण ठूलो संख्यामा सुडानीहरू छिमेकी देशमा शरण लिइरहेको संयुक्त राष्ट्रसंघले जनाएको हो । सुडानी सेना तथा अर्धसैनिक बल आरएसएफ दुवैले युद्धको क्रममा मानवअधिकार उल्लंघन गरेको राष्ट्रसंघ तथा अन्य मानवअधिकार सम्बन्धी समूहले जनाएका छन् । तर, दुवै सैन्य बलले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । राजधानी खार्तुम सहर अहिले युद्ध मैदानमा परिणत भएको छ । आरएसएफले सहरका घरहरूमा कब्जा जमाएको छ र त्यसलाई आफ्नो आधार क्षेत्र बनाएको छ । अर्कोतर्फ सेनाले तिनै आवासीय क्षेत्रलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ । युद्ध भइरहेका खार्तुम, डार्फर, कोर्दोफान लगायत क्षेत्रमा बाँकी रहेका सुडानीहरू पनि लुटपाट, विद्युत् कटौती, सञ्चार तथा खानेपानीको समस्याबाट गुज्रिरहेका छन् । राष्ट्रसंघले सुडानमा नै रहेका र विस्थापित भएकाहरूका लागि सहायता संकलन गर्दै आएको छ । तर, सुडानमा नै रहेकाहरूको सहायतका लागि साढे २ अर्ब अमेरिकी डलर सहयोगको आह्वान गरिए पनि त्यसको २७ प्रतिशत उठेको छ । यस्तै, विस्थापितहरूका लागि साढे ५० करोड डलर सहायता आह्वान गरिए पनि ३१ प्रतिशत रकम मात्र संकलन भएको छ । राष्ट्रसंघले निर्बाध राहत वितरणका लागि दुवै सैन्य संगठनलाई आग्रह पनि गरेको छ । तर, सेनाका प्रमुख अब्देल फत्ताह अल बुर्हानले सोमबारको वक्तव्यमा आरएसएफले देशलाई आधुनिक युगबाट पछाडि धकेल्न खोजेको आरोप लगाएका छन् । त्यसका लागि आरएसएफले जस्तोसुकै अपराध गरिरहेको उनको भनाइ थियो । आरएसएफले पनि पूर्वराष्ट्रपति ओमार अल बसिरको शासनशैलीलाई सेनाले निरन्तरता दिन खोजेको आरोप लगाएको छ । ‘युद्धमा मारिएकाको न शव संकलन गरिएको छ, न त पहिचान र अन्त्येष्टि भएको छ,’ राष्ट्रसंघको मानवअधिकारीसम्बन्ध आयोगका उच्च आयुक्त एलिजावेथ थ्रोसेलले भनिन् । दुई सैन्य बलबीच द्वन्द्व सुरु भएयता ४ हजारभन्दा बढी व्यक्ति मारिएको राष्ट्रसंघले जनाएको छ । तर, सुडानमा कार्यरत अभियन्ता तथा चिकित्सकहरूले भने मर्नेको संख्या अझै धेरै हुनसक्ने उल्लेख गरेका छन् । यस्तै, सुडानमा यौन दुर्व्यवहारको घटना पनि ५० प्रतिशतले वृद्धि भएको राष्ट्रसंघका अधिकारी लैला बेकरले बताइन् । दुवै सैन्य बलका नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि लडाइँ सुरु भएको थियो । छिमेकी देशहरू, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले सुडानमा युद्धविराम तथा युद्धरत दुवै पक्षलाई वार्ताका लागि पहल गर्दै आएका पनि सफल हुन सकेका छैनन् । यसबीचमा छोटो अवधिका लागि युद्धविराम भए पनि दुवै पक्षबीच द्वन्द्व अन्त्य हुने गरी सहमति हुन सकेको छैन । तर, सेना प्रमुख अब्देल फत्ताह र आरएसएफका प्रमुख हेमेत्तीबीच राज्य सञ्चालनको विषयलाई लिएर विवाद भइरहेको थियो । अहिले आरएसएफ मातहतका १ लाख अर्धसैनिकलाई सेनामा आबद्ध गर्ने विषयले द्वन्द्वको रूप लिएको हो । आरएसएफले यो भिडन्तलाई ‘आफ्ना जनताको अधिकार पुनःस्थापना गर्ने लडाइँ’ भन्दै आएको छ । विवादको अर्को कारण २००३ देखि डार्फर द्वन्द्वका क्रममा युद्ध अपराधको आरोप लागेका सेना र उसका सहयोगी कारबाहीबाट बच्न खोजिरहेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बसिर र अन्य सुडानी संदिग्धहरूका लागि मुद्दा चलाउन खोजिरहँदा यति बेला द्वन्द्व चर्किरहेको छ । सन् २०१९ मा प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको सामूहिक हत्यामा संलग्न सैन्य बलका नेताहरू पनि कारबाहीबाट बच्ने प्रयासमा छन् । सुडानमा राष्ट्रपतिको हैसियतमा सेनाका प्रमुख जनरल अब्देल फत्ताह अल बुर्हान छन् भने उनीपछिको दर्जामा आरएसएफ प्रमुखमा ‘हेमेत्ती’ भनेर चिनिने मोहम्मद हमदान दागालो छन् । सन् २०१९ मा सैन्य विद्रोह गरी तत्कालीन शासक ओमार अल बसिरलाई सत्ताबाट हटाउन उनीहरूले सहकार्य गरेका थिए । सन् २०२१ अक्टोबर २५ मा सैन्य कु भएपछि काउन्सिल अफ जनरलबाट देश सञ्चालन गर्न थालियो ।