फेरि गर्मीको चपेटामा युरोप

Share to:

एजेन्सी,

मुलुकमा गर्मीका कारण युरोप फेरि चपेटामा परेको छ । गर्मी बढेसँग युरोपका विभिन्न मुलुकमा पानीको संकट, आगलागी र कृषि उत्पादनमा कमी आएको छ । केही सातादेखि पोर्चुगल, स्पेन, इटाली, फ्रान्स र ग्रिसका विभिन्न क्षेत्रमा भीषण आगलागी भइरहेको छ । स्विस र फ्रान्सेली मौसम एजेन्सीहरूका अनुसार उच्च तापक्रम कम्तीमा अर्को हप्तासम्म स्पेनबाट मध्य युरोपमा विस्तार हुने अपेक्षा गरिएको छ । अफ्रिकी महादेशबाट युरोपतिर सरेको तापले दक्षिणी फ्रान्स, स्विजरल्याण्ड, दक्षिणी जर्मनी र उत्तरी इटालीलाई घेरेको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले जलवायु परिवर्तनले गर्मीको लहरलाई झन् तीव्र र बारम्बार दोहोरिरहने बनाउने पुष्टि गरेको छ। मौसमविद्हरूले इटालीमा ४२ डिग्री सेल्सियस, फ्रान्समा ४० डिग्री सेल्सियस र स्विजरल्याण्डमा ३७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरेका छन् । अफ्रिकी महादेशबाट आएको उच्चचापीय प्रणालीका कारण यस्तो अवस्था आएको मौसमविद्हरूको भनाइ छ । इटाली यस साताको अन्त्यमा गर्मीको तेस्रो लहरबाट प्रभावित हुनेछ। मौसमविद्हरूले शनिबार र आइतबार तापक्रम चरम अवस्थामा पुग्ने र आद्रता २० मा पुग्ने हुँदा ‘आगोको सप्ताहन्त’ बन्ने पूर्वानुमान गरिरहेका छन् । बढ्दो तापक्रम अफ्रिकाको सहाराबाट निस्किएर अल्जेरिया र मोरक्कोमा भित्रिने र त्यहाँको न्यानो हावासहित युरोप भित्रिने उनीहरूको भनाइ छ । फ्रान्सको दक्षिणपूर्वका सात विभागहरूलाई आगामी गर्मीको आँधीबेहरी र यस सप्ताहन्तमा बढ्दो तापक्रमको लागि उच्च सतर्कतामा राखिएको छ । भूमध्यसागरीय तट र रोन नदीको उपत्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये पर्ने छन् । त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस पुगिसकेको छ। जर्मनीमा, यस हप्ताको सुरुमै राजधानी बर्लिनमा गर्मीबाट क्षति पुग्नसक्ने भन्दै सतर्क रहन चेतावनी जारी गरिएको थियो। सप्ताहन्तमा त्यहाँको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी इटालीको मैदानी क्षेत्रहरू र टेर्हेनियन सागरको तटवर्ती हुनेछन् जहाँको तापक्रम ४० डिग्री र सार्डियामा ४२ डिग्री पुग्ने बताइएको छ । एजेन्सीहरूले फ्लोरेन्स, रोम, बोलोग्ना, फेरारा, बोलजानो, अलेसेन्ड्रिया र टर्नीलगायतका सहरहरूमा गर्मीका सतर्कताहरू जारी गरेका छन् । पूर्वानुमानअनुसार बढ्दो तापक्रम अगस्ट २७ सम्म रहन सक्ने र त्यसपछि युरोपमा फेरि आँधी आउने अनुमान गरिएको छ ।

Like