अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्रीबीच भारतमा भेटवार्ता
रासंसा/काठमाण्डौ, श्रावण २,
मुलुकमा अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो। यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उनीहरूबीच छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा उनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू समयमा अघि बढ्न नसकेकामा अब चाँडै अघि बढ्ने विश्वास पनि त्यस वार्ताका क्रममा दुवै पक्षले व्यक्त गरो थिए। त्यस वार्ताका क्रममा चिनियाँ अर्थमन्त्री लिउले नेपालको विकासका क्षेत्रमा चीन सदैव सहयोगी हुन चाहेको उल्लेख गर्दै दुई देशबीचका सहयोग परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए। मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो । उनले सुरुङमार्गका प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने आशा पनि व्यक्त गरे।