पहिलो पटक नेपालमा मंकीपक्स संक्रमण पुष्टि

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २,

मुलुकमा नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका हुन् । थप खोज अनुसन्धान तथा उपचार कार्य जारी रहेको पनि प्रवक्ता अधिकारीले बताएका छन् । नेपालसहित अहिलेसम्म विश्वका १११ देशमा यो रोगको संक्रमण देखिएको पनि उनले जनाए । सहप्रवक्ता अधिकारीले ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमुनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स संक्रमण पुष्टि भएको जनाएका छन् । ती महिला अहिले सामान्य स्वास्थ्य अवस्थासहित चिकित्सकको निगरानीमा रहेको पनि उनले जनाए । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२ – २०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् । एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा – विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ । यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ । कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिन पनि प्रवक्ता अधिकारीले आग्रह गरेका छन् ।

Like