पाँच वर्षमा क्षयरोग संक्रमण र मृत्युदर अढाई गुणा वृद्धि
रासंसा/काठमाण्डौ, आषाढ ३,
मुलुकमा दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०३० सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने उद्देश्य राखेको छ, तर नेपालमा क्षयरोग फेरि तीव्र गतिमा बढ्न थालेको छ । क्षयरोगका बिरामी सन् २०१७ मा वार्षिक ३१ हजार ६४ रहेकामा सन् २०२३ सम्म यो संख्या बढेर ६९ हजार पुगेको छ । जबकि क्षयरोग नियन्त्रणमा सरकारी मात्र होइन, ग्लोबल फन्डले ठूलो लगानी गरेको छ । भक्तपुरस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार लक्षण देखा परेर पनि उपचार नगरिक बस्नेको संख्या ३१ हजार जना छन् । यो तथ्यांक पनि सन् २०१७ को भन्दा दोब्बर बढी हो । क्षयरोग विशेषज्ञहरूका अनुसार ३१ हजारमध्ये कतिपय निजी अस्पतालमा गएका हुन सक्छन्, तर धेरैजसो भने आर्थिक अवस्था र स्वास्थ्य चेतनाका कारण उपचारको पहुँचमा छैनन् । यसले मृत्युदर पनि बढिरहेको छ । अहिले क्षयरोगबाट दैनिक ४७ जनाको मृत्यु भइरहेको छ, जबकि यो संख्या पाँच वर्षअघिसम्म १९ थियो । सन् २०१७ सम्म नेपाली जनसंख्यामा १ लाखमा १०६ जनालाई क्षयरोग थियो भने अहिले त्यो अनुपात २२९ पुगेको छ । मृत्युदर पनि त्यही अनुपातमा बढेको छ । पाँच वर्षअघि क्षयरोगबाट वार्षिक मृत्यु हुनेको संख्या सात हजार थियो, अहिले यो संख्या पनि बढेर १७ हजार पुगेको छ । केन्द्रको तथ्यांकअनुसार सन् २०२३ मा क्षयरोगकै कारण दैनिक झन्डै ४७ जनाको मृत्यु भइरहेको छ । मृत्यु हुनेमा पुरुष ६७ प्रतिशत र महिला ३३ प्रतिशत रहेको छ । भने नयाँ बिरामी बर्सेनि ६९ हजारको दरले थपेको छ । सन् २०१७ मा दैनिक मृत्यु हुनेको संख्या १९ जना थियो । केन्द्रका चिकित्सकहरूका अनुसार सास फेर्न गाह्रो हुने, कहिलेकाहीं स्वर बन्द हुने, सुत्न गाह्रो हुने, छाती दुख्नेजस्ता समस्या देखा परे पनि कतिपय बिरामी उपचार नगरी बस्ने गरेका छन् । तर, असाध्य भएपछि मात्र उपचारमा आउने बिरामीमध्ये धेरै जना विपन्न र असहाय छन् । यसले ज्यानको जोखिम बढाएको छ । क्षयरोग नियन्त्रण केन्द्रका चिकित्सकहरूका अनुसार नयाँ बिरामी सम्पर्कमा आए पनि रोग पत्ता लागेपछि सम्पर्कमा नरहने समस्या छ । लगातार दुई सातासम्म खोकी लागेर खकारमा रगत देखिएपछि रामेछापबाट राजधानी आएका आएका एक बिरामी शुक्रबार केन्द्रमा थिए । यसअघि उनलाई खाना नरुच्ने, तौल घट्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखा परे पनि उपचारमा बेवास्ता गर्दै आइरहेका थिए, किनकि उनलाई यो क्षयरोग हुन सक्छ भने चेतना र आशंका नै थिएन ।सबैभन्दा डरलाग्दो पक्ष, ‘औषधि प्रतिरोधी क्षयरोग’ को प्रभाव पनि बढेको छ । अहिले औषधिको असर नहुने यस्ता बिरामीको संख्या झन्डै तीन हजार रहेका छन् । यो संख्या नेपालको कुल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै भएको वरिष्ठ छातीरोग विशेषज्ञ डा.नवीनप्रकाश शाहको भनाइ छ । उनी भन्छन्, ‘शिक्षा र चेतनाको अभाव, आयस्रोतको कमी र सामाजिक संरचनाले क्षयरोग बढाउँछ, क्षयरोग रोकथाम गर्न विश्वव्यापी र क्षेत्रीय प्रतिबद्धताहरू पर्याप्त छन् । तर व्यवहारमा काम गर्न अझै बाँकी छ ।’ विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । क्षयरोग लागेका बिरामीलाई लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छन् । औषधि प्रतिरोधी क्षयरोगको लक्षण पनि उस्तै हुन्छ । यो संक्रमण भएमा क्षयरोगमा प्रयोग गरिने धेरैजसो औषधिले काम गर्दैन । सार्क राष्ट्रहरूले पनि एसडीजीका लक्ष्यहरूलाई पछ्याइरहेका छन् । तर, डा. शाहका उनका अनुसार औषधि प्रतिरोधी क्षयरोगका करिब ७५ प्रतिशत बिरामीसँग सिधा सम्पर्कमा ल्याउन सकिएको छैन । ‘औषधि प्रतिरोधी क्षयरोगकै कारण बढी मृत्यु हुने गरेको छ, बिरामीमा जसरी क्षयरोगको औषधिप्रति प्रतिरोध बढ्दै जान्छ, त्यही अनुपातमा मृत्यु दरसमेत बढ्दै जान्छ,’ उनी भन्छन् । अन्य मुलुकमा त्यस्ता बिरामीमध्ये ५० प्रतिशत मात्र पूर्णरूपमा निको हुने गरेका छन् । औषधि प्रतिरोधी क्षयरोगको उपचार ९ महिनादेखि १८ महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । त्यस्ता बिरामीलाई उपचारमा जान प्रेरित गर्न सरकारले पोषण तथा यातायात खर्चका रूपमा ३ हजार रुपैयाँसमेत दिने गरेको छ । तर, यसको वस्तुगत अनुगमन नभएकाले क्षयरोगको प्रभाव र मृत्युदर बढिरहेको छ । क्षयरोग संक्रामक रोग हो, यसले मुख्यतः फोक्सोलाई असर गर्छ । खोक्दा र हाच्छिउँ गर्दा ब्याक्टेरिया हावामा निस्कने स–साना कणहरूमार्फत सर्छ । तर प्रभावकारी पहल भएमा क्षयरोगको रोकथाम र उपचार गर्न सकिने रोग हो । स्वास्थ्य मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ । क्षयरोग निवारण गर्न आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा बजेट घटे पनि केन्द्रको भने बढेको छ । गत वर्ष अर्थ मन्त्रालय र ग्लोबल फन्डको गरेर ७० करोड रुपैयाँ छुट्याएकोमा यस वर्षका लागि बढाएर १ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । यो बजेट स्थानीय तह र प्रदेश सरकारको बाहेकको हो । यसले क्षयरोग निवारण गर्न मद्दत गर्ने केन्द्रको विश्वास लिएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोगको रेफरल उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन् । तर, यी योजना अलपत्रजस्तै छन् । भक्तपुरमा ५० बेडको केन्द्रीय छातीरोग अस्पतालको भवन बने पनि अझै सञ्चालनमा ल्याउन सकेको छैन । लुम्बनी प्रदेशमा बाहेक अन्य प्रदेशमा रेफरल अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन ।