कांग्रेससहित गठबन्धनको सत्तारोहण मधेस प्रदेशमा कहिले ?
रासंसा/धनुषा, बैशाख १६,
मुलुकमा केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलको गठबन्धन बनेको लामो समय बितिसके पनि मधेस प्रदेशमा सो गठबन्धन अनुसार सरकार विस्तार हुन सकेको छैन । मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपा बारा–२ को उपनिर्वाचनमा केन्द्रित भएका कारण पनि सत्ता गठबन्धनका दलहरुसँग यस बीचमा छलफल हुन नसक्दा सरकार विस्तार हुन नसकेको गठबन्धनका सांसदहरुको भनाइ छ । गठबन्धनमा रहेका दलहरुबीच सरकार विस्तारबारे छलफल नभएका कारण मधेसमा कांग्रेससहितका दल सरकारमा सामेल हुन नसकेको सांसदहरु बताउँछन् । मधेस प्रदेशमा यसअघि एमालेसहितको गठबन्धनबाट जसपाले सरकारको नेतृत्व पाएको थियो । तर जसपाकै नेतृत्वमा रहेको सरकारबाट एमाले बाहिरिएको पनि लामो समय भइसकेको छ । एमाले बाहिरिएपछि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने तयारीमा छन् । अहिले मधेस प्रदेशको सरकारमै रहेको जनमत पार्टी भने संघीय सरकारबाट बाहिरिएको अवस्था छ । मधेस प्रदेशमा सो पार्टी सरकारमै रहन्छ कि बाहिरिन्छ भन्नेबारे पनि प्रस्ट हुन सकेको छैन । ‘अहिलेसम्म संघीय गठबन्धनमा छलफल भएको छैन,’ कांग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले भने । केन्द्रबाट आउने निर्णय अनुसार नै आफूहरुले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । यद्यपि सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहेको उनले प्रस्ट पारे । ९ सांसदसहित गठबन्धनमा सहभागी लोसपाले पनि नेतृत्वमा दाबी गरिरहेको छ । लोसपा मधेस प्रदेश दलका नेता अभिराम शर्मा भन्छन्, ‘पाँच दलीय गठबन्धनको बैठक अहिले बसेको छैन । गठबन्धनको बैठक बस्दा दुई वटा मोडलमा छलफल हुने सम्भावना छ ।’ प्रदेशसभामा नेपाली कांग्रेस दोस्रो ठुलो दल हो । कांग्रेसका २२ सांसद छन् । यसअघिको गठबन्धनमा २४ सांसदसहित पहिलो दल रहेको एमालेले चार मन्त्री र एक राज्यमन्त्री पाएको थियो । एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालयमा मन्त्री र राज्यमन्त्री तथा महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको थियो । स्रोतका अनुसार एमालेले पाएकै मन्त्रालयमा कांग्रेसको दाबी रहनेछ । त्यस्तै ९ सांसदसहित गठबन्धनमा सहभागी लोसपाले पनि नेतृत्वमा दाबी गरिरहेको छ । लोसपा मधेस प्रदेश दलका नेता अभिराम शर्मा भन्छन्, ‘पाँच दलीय गठबन्धनको बैठक अहिले बसेको छैन । गठबन्धनको बैठक बस्दा दुई वटा मोडलमा छलफल हुने सम्भावना छ ।’ ‘राजनीतिक सहमति हुँदा लोसपाको नेतृत्वमा सरकार गठनको प्रकृयालाई अगाडि बढाउने सम्झौता भएको थियो,’ उनले भने, ‘त्यस बमोजिम पनि नेतृत्वमा लोसपाको दाबी रहेको हो ।’ उनका अनुसार राजनीतिक सहमतिको हिसाबमा जसपाको नेतृत्व परिवर्तन गरी अन्य दललाई नेतृत्व दिने एउटा मोडल हुनसक्छ भने अर्को मोडलमा यसै सरकारलाई निरन्तरता दिएर मन्त्रालय भागबण्डा हुन पनि सक्छ । यता नेकपा एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश दलका नेता गोविन्द बहादुर न्यौपानेले पनि सरकार विस्तारको विषयमा अहिले केही निर्णय नभएको बताए । उनले भने, ‘मुख्यमन्त्रीज्यू पनि चुनावमा व्यस्त हुनुहुन्थ्यो । त्यसैले यो विषयमा कुरा प्रारम्भ भएकै छैन ।’ न्यौपानेले सरकार विस्तारको विषयमा कुरा प्रारम्भ भएपछि मात्रै आफ्नो पार्टीले दाबी प्रस्तुत गर्ने बताए । तर, पार्टी अध्यक्ष माधव कुमार नेपालले भने शुक्रबार जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्दै सबै प्रदेशमा आलोपालो गरी नेतृत्व गर्नुपर्ने बताएका थिए । उनले संख्यात्मक रुपमा दलहरुबीच बाँडफाँटको खाका बन्ने बताए । मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीका सात सांसद छन् । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार चाँडै हुने बताए । उनले भने, ‘अध्यक्षज्यू शनिबार काठमाडौं जानुहुनेछ । त्यसपछि गठबन्धनका शीर्ष नेताहरुको छलफलपछि एउटा निर्णय हुन्छ, अनि सरकार विस्तार हुनेछ ।’ मधेस प्रदेशमा एमालेको २४, कांग्रेसको २२, जसपाको १९, जनमत पार्टीको १३, लोसपाको ९, माओवादीको ९, नेकपा एकीकृत समाजवादीको ७, नागरिक उन्मुक्ति र राप्रपाको एक-एक तथा स्वतन्त्र सांसद एक जना छन् । मुख्यमन्त्री यादवले यसै साता मन्त्रिपरिषद् विस्तार हुने बताए । अन्य दलले नेतृत्वमा दाबी गरिरहेको विषयमा उनले भने, ‘आखिरमा त्यो निर्णय पनि त केन्द्रबाटै हुने हो । केन्द्रबाट जे निर्णय भएर आउँछ, त्यही यहाँ कार्यान्वयन हुन्छ ।’