बजेटको आकार घटाउँदै त्रियुगाको १० औँ नगरसभा सम्पन्न
रासंसा/उदयपुर, पौष ३०,
मुलुकमा झण्डै २ दर्जन स्थानीय ऐन तथा कार्यविधिहरु पारित गर्दै त्रियुगा नगरपालिकाले ‘१० औँ नगरसभा ०७९’ सम्पन्न गरेको छ। शुक्रबार आयोजित नगरसभामा नगरप्रमुख बसन्तकुमार बस्नेतले पेश गरेको विभिन्न ६ वटा ऐन, १३ वटा कार्यविधि र २ वटा नीति तथा कार्ययोजना पारित गरेको छ। त्यस्तै मुसहर समुदायको सर्वाङ्गशीण विकास परियोजनातर्फ करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि ०७९, विषयगत समिति कार्य सञ्चालन कार्यविधि, सूचना तथा अभिलेख केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धी कार्यविधि र बाल अधिकार संरक्षण तथा संबद्र्धन सम्बन्धी कार्यविधि ०७९ पनि पारित गरेको छ। सभाले त्रियुगा नगरपालिका सामाजिक समावेशीकरण नीति ०७९ तथा लैंगित नीति र कार्ययोजना ०७९ पनि पारित गरेको छ। मेयर बस्नेतले सभामा निर्णयार्थ प्रस्तुत गरेका विभिन्न ऐनहरु नगर सभासदहरुले कर्तल ध्वनीका साथ पारित गरेका हुन्। जस अनुसार नगर शिक्षा ऐन (दोस्रो सशोधन), जलस्रोत ऐन, नगर कृषि ऐन, साझेदारी कार्यक्रम सञ्चालन व्यवस्थापन ऐन, वन तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी ऐन र संस्था दर्ता ऐन पारित गरेको छ। त्यस्तै ऐलानी जग्गा लगत संकलन सम्बन्धी कार्यविधि ०७९, भू–उपयोग कार्यविधि, स्वास्थ्य बिमा सम्बन्धी कार्यविधि, त्रियुगा अन्तरमावि रनिङ सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि, लैंगिक हिंसा उद्धार कोष सञ्चालन कार्यविधि, विपत आपतकालीन केन्द्र सञ्चालन कार्यविधि ०७९ पनि सभाले पारित गरेको छ। नयाँ ऐन तथा कार्यविधिरुहरु पारित भएपछि नगरको राजश्व वृद्धि हुनुका साथै अव्यवस्थित र कठिन विषयहरु समाधान हँुदै जाने अपेक्षा मेयर बस्नेतले गरेका छन्। भू–उपयोग कार्यविधि नहुँदा ऐलानी र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न तथा जमिनको लगत संकलनमा समस्या रहेकोमा अब त्यस्तो समस्या नहुने मेयर बस्नेतले बताए। त्यस्तै संघसंस्था दर्ता तथा नवीकरण सोझै जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थाले नगरपालिकामा के कति संघसंस्था कार्यरत छन् भन्ने विवरणसम्म खोज्नुपर्ने समस्या पनि अव हट्ने उनले बताए। अबदेखि संघसंस्था दर्ता वा नवीकरण गर्दा वडा कार्यालयको सिफारिस लिएर पहिला नगरपालिकामा पठाउन उनले निर्देशन दिए। नगरमा दर्ता र नवीकरण गरेपछि मात्र प्रशासनमा पठाउँदा स्थानीयतहभित्र क्रियाशील र नयाँ दर्ता भएका संघसंस्थाको सम्पूर्ण विवरण अद्यावधि गर्न सहज हुनुका साथै राजश्व पनि बढ्ने उनले बताए। सभाले नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०७९÷८० को संशोधित बजेट पनि स्वीकृत गरेको छ। जस अनुसार चालु वर्षको १ अर्ब २३ करोड रुपैयाँ वार्षिक बजेट ३ करोड १५ लाख रुपैयाँ संशोधन गरी १ अर्ब २० करोड रुपैयाँमा झरेको छ। नवौँ नगरसभामा तर्जुमा गरिएको बजेट तथा नीति कार्यक्रममा कतिपय अत्यावश्यक शीर्षकमा कम बजेट पर्न गएकाले थप्नै पर्ने अवस्था आएको तथा कुनैमा आवश्यक्ता भन्दा बढी रकम पर्न गएकाले संशोधन गर्नु परेको नगर उपप्रमुख राईले बताइन्। उपमेयर राईका अनुसार संशोधन गरिएका बजेट सबै पुँजीगततर्फको शीर्षक अन्तर्गत रहेका छन्। ऐन र कार्यविधि नहुँदा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक असमानता, वन तथा बिपत व्वस्थापन, कृषि, घर बहाल करजस्ता समस्याहरु यो सभापछि समाधान हुने ढोका खुलेको छ। सभामा वडाध्यक्ष तथा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मेयर बस्नेतले चालु वर्षको ६ महिना बित्दासम्म सोचेजस्तो काम गर्न नसक्नुका विभिन्न कारणहरु रहेको बताए। चाहेजस्तो काम गर्न नसक्नुमा साउन र भदौ वर्षा बाढीको समस्या, असोज र कात्तिक दसैं, तिहार, छठजस्ता चाडपर्व तथा मंसिर र पुस प्रतिनिधिसभा र प्रदेशसभा चुनाव र चुनावपछि नयाँ सरकार गठन मुख्य कारण रहेको उनले खुलाए। सभामा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले नगरपालिकाको आन्तरिक आय प्रक्षेपण गरिएको दाँजोमा हालसम्मको संकलनले लक्ष्य नछुने संभावना भएको, संघ र प्रदेशबाट आउने राजश्व बाँडफाँडको रकम प्राप्त नभएको तथा अन्य विविध कारणले चालु वर्षको बजेटको आकार घटाउने गरी संशोधन गर्नु परेको बताए। उनका अनुसार चालु वर्ष १२ करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरिएकोमा अहिलेसम्म लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएको छ। त्यसैगरी संघ र प्रदेशबाट प्राप्त हुनुपर्ने बजेट ६० प्रतिशत निकासा हुनुपर्नेमा हालसम्म ३३ प्रतिशत मात्र निकासा भएको प्रमुख प्रशासकीय अधिकृत वनले बताए। नगरपालिकाले २ दर्जन हाराहारी कर्मचारीलाई प्रशंसापत्र दिएर सम्मान पनि गरेको छ। राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको प्रशासन शाखा प्रमुख श्यामकुमार सुन्दासले बताए। सम्मानित कर्मचारीलाई मेयर बस्नेत, उपमेयर राई र प्रमुख प्रशासकीय अधिकृत वनले प्रसंशापत्र प्रदान गरेका थिए। नगरपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी विश्वजीत राईले चालुतर्फको कार्यक्रम गर्न पैसा अपुग देखिएकाले पुँजीगततर्फको बजेट रकमान्तर गर्नु परेको बताए। उनका अनुसार संशोधित बजेट अनुसार १६ वटै वडा प्रत्येकबाट ५ लाखका दरले कटौती गरिएको छ। त्यस्तै लागत सहभागितावापत बिनियोजित ५० लाख र १६ नं. वडामा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको वडा प्रशासनिक भवनका लागि विनियोजित २८ लाख शीर्षकान्तर गरिएको राईले बताए। नवौँ नगरसभाले प्रत्येक वडालाई १ करोड २५ लाखका दरले दिने गरी विनियोजन गरेकोमा अब १ करोड २० लाख मात्र पाउने अधिृकत राईले बताए।