दलको आफ्नै उम्मेदवारसँग छल
रासंसा/काठमाण्डौ, मार्ग २५,
मुलुकमा आफैंले बुझाएको बन्दसूचीको क्रम मिचेर राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । दलहरूले आफैं निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा क्रमसंख्याको तलतिर भएका नाम आयोगमा पेस गरेका हुन् । मधेसमा कांग्रेसले अल्पसंख्यक दुई जनाको मात्र नाम दिन पाउनेमा क्रमसंख्या मिचेर तीन जनाको नाम छनोट गरेको हो । उसले नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकमा पेस गरेको छ । आयोगले दललाई शनिबार अपराह्न ४ बजेसम्म बन्दसूचीमा रहेका व्यक्तिको नाम छनोट गर्न समय दिएको थियो । निर्धारित समय गुज्रिएको १० घण्टापछि राति २ बजे नाम पेस गरेको कांग्रेसले मधेस प्रदेशमा आवश्यकभन्दा बढी अल्पसंख्यकको नाम राखेको छ । दलहरूले माथिल्लो क्रमसंख्याबाट छनोट नगरी तलबाट तानेका मात्र छैनन्, पाउने सिटभन्दा बढी व्यक्तिको नाम पनि सिफारिस गरेका छन् । समावेशी समूह नमिलाएका र महिलाको संख्यासमेत नपुर्याई पेस भएको छ । एमालेले पनि मधेसमा अल्पसंख्यकको नाम क्रमसंख्या मिचेर पेस गरेको छ । अल्पसंख्यकमा जैनब खातुन पहिलो प्राथमिकतामा हुनुपर्नेमा क्रमसंख्यामा तल रहेकी नाजिमा खातुनलाई सिफारिस गरिएको छ । जैनब प्रभु साहनिकट भएको र निर्वाचनमा असहयोग गरेको भन्दै उनको सट्टा नाजिमालाई सिफारिस गरेको एमाले स्रोतले जनाएको छ । जनता समाजवादी पार्टीले मधेसमा ७ जना छनोट गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको छ । उसले मधेसी चार जना पेस गर्नुपर्नेमा ५ जनाको नाम सिफारिस गरेको छ । दलित १ जना हुनुपर्नेमा २ जनाको नाम पठाएको छ । पुरुष १ जना मात्रै चाहिनेमा मनीषकुमार सुमन र चन्द्रेश्वर सदालाई सिफारिस गरेको छ । नेपाल संघीय समाजवादी पार्टीले मधेसी महिला छनोट १ नम्बरको हुनुपर्नेमा तलतिरबाट तानेर पठाएको छ । बन्दसूचीमा समावेश भएका व्यक्तिलाई कारबाही गरेर अर्को पठाउन नमिल्ने आयोगले जनाएको छ । सांसद भएपछि भने कारबाही गर्न सकिने आयोगले दललाई सुझाव दिएको छ । माओवादीले मधेसमा मुस्लिम समुदायबाट प्राथमिकतामा १ नम्बरको नाम छनोट नगरी अर्को व्यक्तिलाई पठाएको छ । प्रदेश १ मा एमालेले अल्पसंख्यकको क्रम मिचेर नाम पेस गरेको आयोगले जनाएको छ । वाग्मतीमा माओवादीले अल्पसंख्यक एक जना चाहिनेमा दुई जनाको नाम समावेश गरेको छ । लुम्बिनीमा माओवादीले खसआर्यमा निमबहादुर पाण्डे पहिलो प्राथमिकतामा भए पनि भक्तिप्रसाद आचार्यको नाम सिफारिस गरेको छ । दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० जना र सातै प्रदेशसभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका हुन् । उनीहरूले बुझाएको विवरण सोमबार ४ बजेसम्म सच्याउन सकिने आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले खसआर्यबाट छनोट गर्नुपर्ने नाम थारू समूहबाट राखेको छ । खसआर्यबाट छनोट हुँदा नरमाया ढकाल पर्नुपर्नेमा थारू समूहबाट नोरी कुमारीलाई सिफारिस गरेको हो । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले महिलाको नाम अपुग पेस गरेको छ भने समावेशी समूहसमेत मिलाएको छैन । उसले २ जना खसआर्य महिलाको नाम छनोट गर्नुपर्नेमा दामोदर पण्डित र सुनिता चौधरीको नाम पठाएको छ । बन्दसूचीमा पेस भएको नामअनुसार छनोट हुने हो भने टीका थापा र इन्दिरा गिरी पर्नुपर्थ्यो ।