विशेष महाधिवेशनको चर्चामा माओवादी
रासंसा/काठमाण्डौ,
मुलुकमा ‘संगठनको रुपान्तरण गर्न, विचारलाई अझ विकसित गर्न चुनाव लगत्तै विशेष महाधिवेशन गर्ने छौैं । यो महाधिवेशन नै पुग्यो वा टुङ्गियो भन्ने होइन । अहिले एउटा ठुलो वैचारिक विकासको सुरुवात भयो । चुनावपछि विशेष महाधिवेशन गरेर अझ विकसित गरेर जाने छौं,’ यो उद्घोष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७८ साल पुस १६ गते प्रज्ञा भवनमा आयोजित आठौं महाधिवेशन हलबाट निस्किने क्रममा प्रचण्डले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै पार्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । पार्टीका २१ पदाधिकारीमध्ये १० जना हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । त्यसमध्ये ५ जनामात्रै निर्वाचित भए । योसँगै युवालाई अघि सारेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेको हो । हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको आकार खुम्चिएपछि पार्टीका नेता कार्यकर्ता हतोत्साहित र निरास भएका छन् । गत आइतबार बसेको पदाधिकारी बैठकमा समेत नेताहरुले पार्टीलाई पुनर्संरचना गर्ने बेला भएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् । पार्टी बलियो र क्रान्तिकारी हुँदै जानुपर्नेमा उल्टै रक्षात्मक बन्न थालेपछि नेताहरुले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने मत राखेका हुन् । ‘अहिलेकै अवस्थामा रहने हो र पार्टी पुनर्संरचना नगर्ने हो भने अब हुने चुनावमा पार्टी सिंगल डिजिटमा जाने पक्का छ । त्यसपछि हामी पुग्ने भनेको चौथो पार्टीको हैसियतमा हो भन्ने आधार देखिइसकेको छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘अब पार्टीले विशेष महाधिवेशन गरेर युवालाई नेतृत्वमा ल्याइएन भने अधिकांश युवा नेता यो पार्टीबाट उम्मेदवार हुने सम्भावना छैन ।’ यस्तै, अर्का केन्द्रीय सदस्य तिलक भण्डारीले विचार, कार्यनीति, कार्यदिशा र संगठनात्मक संरचनाका हिसावले विशेष महाधिवेशन गर्नैपर्ने आवश्यकता औंल्याए । ‘गत वर्ष राष्ट्रिय सम्मेलनको तयारी गरेर महाधिवेशन गरियो । अध्यक्षको दस्तावेज तलसम्म बहस र छलफल हुनेगरी जान सकेन,’ भण्डारीले भने, ‘अब विचार, राजनीति, कार्यनीति, कार्यदिशा र संगठनात्मक संरचनाका हिसावले विशेष महाधिवेशन गर्नैपर्छ ।’ ‘विशेष महाधिवेशनद्वारा माओवादी पार्टी पुनर्संरचना जरुरी छ,’ निर्वाचन परिणामका बारेमा आचार्यले फेसबुकमा लेखेका छन्, ‘वृद्धहरुले बलिदानप्रति गर्व गर्ने, प्रौढहरुले उचित भूमिका पाएको र युवाहरूको भविष्य सुनिश्चित भएको जिउँदै जाग्दो पार्टी निर्माण गरिनेछ । सबैको रचनात्मक भूमिका विकास गरौँ ।’ महाधिवेशनबाट नेता चयन गरे पनि कार्यक्रम र योजना बनाउन नसक्दा माओवादी कमजोर भएको भण्डारीले बताए । उनले भने, ‘हिजो हामीले जे जे राजनीतिक मुद्दा उठायौं, अब त्यसको बलमा मात्रै अगाडि बढ्न सक्दैनौं । मुलुकको समृद्धि र विकासको खाकासहित अर्थ राजनीतिक एजेण्डा चाहिन्छ ।’ पार्टीका पोलिटब्यूरो सदस्य विशाल खड्काले पार्टीको आठौं महाधिवेशन आफैमा पूर्ण नभएकाले तत्काल विशेष महाधिवेशन गरेर पार्टीलाई गतिशील बनाउनुपर्ने बताए । ‘आठौं महाधिवेशनमा विचारका दृष्टिकोणले प्रस्ताव ल्याएको थियो । त्यसलाई परिस्कृत गर्न जरुरी छ,’ खड्काले भने, ‘अब नेपाली सन्दर्भको आर्थिक समृद्धि र सुशासनको एजेण्डा आवश्यक छ त्यो ल्याएर आशा जगाउनुपर्छ ।’ माओवादीले ल्याएका परिवर्तनका एजेण्डाले मात्रै सधैँ पार्टी चल्न नसक्ने भएकाले युग सुहाउँदो एजेण्डा बाकेर हिँड्नुपर्ने भण्डारीको तर्क छ । अर्का पोलिटब्यूरो सदस्य सुदन किरातीले पार्टीको आठौं महाधिवेशनबाटै विशेष महाधिवेशन गर्ने निर्णय भएकाले तत्काल अब विशेष महाधिवेशन गर्नुपर्ने बताए । माओवादीले उठाउँदै आएको विचार व्यवहारमा अभिव्यक्त नभए संसारको कुनै पनि तागतले यसलाई जोगाउन नसक्ने किरातीको दाबी छ । पहिलो संविधानसभा चुनावमा माओवादीले प्रत्यक्षतर्फ १२० सिटमा जित हासिल गर्दै पहिलो दल भएको थियो । कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो दलमा सीमित भएका थिए । त्यतिबेला माओवादीले ३१ लाख ४४ हजार २०४ मत ल्याएर समानुपातिकमा १ सय सिट पाएको थियो । माओवादी पहिलो दल भएपछि कार्यदिशा र योजनालाई लिएर विवाद हुँदा टुटफुट र विभाजन भयो । पार्टी नेतृत्वमा युवालाई ल्याउन चुनावी प्रतिस्पर्धा र सहमति दुवै विधि अपनाएर विकास र समृद्धिका कार्यक्रम ल्याउनुपर्ने उनले बताए । यद्यपि चुनावपछिको समीक्षा बैठकमा अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनको विषय उठाएका छैनन् । मोहन वैद्य नेतृत्वमा माओवादीको ४० प्रतिशत हिस्सा २०७० सालको संविधानसभा चुनावमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादीका उम्मेदवारलाई हराउन हात धोएर लाग्यो । वैद्य नेतृत्वको माओवादीले कांग्रेस र एमालेका उम्मेदवारलाई भोट हालेर एकीकृत माओवादीका उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरे । माओवादीको समानुपातिक मत झण्डै आधा घटेपछि नेता कार्यकर्ता झस्किएका थिए । तर २०७३ सालमा विभिन्न १० माओवादी घटक समेत प्रचण्ड नेतृत्वको माओवादीमा जोडिए । मोहन वैद्य नेतृत्वको माओवादीबाट रामबहादुर थापा ‘बादल’ सहितको ठुलो टिम प्रचण्ड नेतृत्वको माओवादीमा फर्कियो । त्यसपछि माओवादी नेता कार्यकर्तामा ऊर्जा थपिएको थियो । परिणामस्वरुप दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षमा जम्मा २६ सिटमात्रै ल्याएर माओवादी तेस्रो दलमा खुम्चियो । समानुपातिक मत घटेर १४ लाख ३९ हजार ७२६ मा सीमित हुँदा ५४ सिटमात्रै पाएको थियो । २०७४ सालको चुनावमा एमाले र माओवादीबीच गठबन्धन हुँदा प्रत्यक्षमा माओवादीले कांग्रेसभन्दा १३ सिट बढी ल्याएर दोस्रो दल त भयो तर, समानुपातिक मत बढ्न नसकेपछि माओवादी समग्रमा तेस्रो दलमै सीमित भयो । त्यतिबेला माओवादीले समानुपातिकमा १३ लाख ३० हजार ७२१ मत ल्याएको थियो । जसबाट समानुपातिकमा १७ सिटमात्रै थपिएको थियो । अहिलेको पाँच दलीय गठबन्धन बनाएर माओवादी प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा होमियो । तर, प्रत्यक्ष र समानुपातिक गरी दुवैमा माओवादी तेस्रो शक्तिमै सीमित भयो । उल्टै भर्खरै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा माओवादीलाई चुनौती दियो । माओवादीले प्रत्यक्षमा १८ सिट ल्याउँदा स्वतन्त्र पार्टीले ७ सिट ल्यायो । समानुपातिकमा माओवादीले ११ लाख ६२ हजार १२४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीकै हाराहारीमा मत ल्यायो ।