दूतावासले भन्यो, ५८९ दिनदेखि कतारमा छैनन्, ‘ब्लड मनी नतिरी भागे कमल

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २७,

मुलुकमा आफ्नै साथीको हत्या अभियोगमा जेल सजाय भोगेर ब्लड मनी नतिरेको सिन्धुलीका कलम थिङ ५८९ दिनदेखि कतारमा नरहेको दूतावासले जनाएको छ । धनुषाका शिवरतन राउतको हत्या अभियोगमा ६ महिना जेल सजाय भोगेका उनलाई २ लाख कतारी रियाल (झण्डै ७० लाख नेपाली रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने थियो । तर, उनी ब्लड मनी नतिरी नेपाल फर्किएको पाइएको हो । मृतक शिवरतनको हत्या आरोपमा थुनामा रहेका एवम् ब्लड मनी तिर्नुपर्ने फैसला गरेका सिन्धुली कपिलाकोटका कमल ब्लड मनी नतिरी नेपाल फर्किएका हुन् । यो विषयमा सरकारी अधिकारीहरूले भने अनभिज्ञता प्रकट गरेका थिए । यो विषयमा सुरुमा कन्सुलर सेवा विभागले कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गरेको थियो । विभागले पठाएको पत्रको जवाफ दूतावासले प्रतिउत्तर लेख्दै कमल ५८९ दिनदेखि कतारमा नरहेको बताएको हो । तथापि यदाकदा केही व्यक्ति ब्लड मनी नतिरेकै अवस्थामा समेत कतारबाट आफ्नो मुलुक फर्किने गरेको पाइएको दूतावासले लेखेको पत्रमा उल्लेख छ । उनी ब्लड मनी भुक्तान नहुँदै नेपाल पुगेको विषयमा कतारको कुनै निकायबाट जानकारी प्राप्त नभएको दूतावासले जनाएको छ । सामान्यतया कतारमा कुनै अभियोगमा अदालतबाट निर्णय भई कसुरदार ठहरिएका विदेशी नागरिकको हकमा तोकिएको सजाय भुक्तान नहुँदासम्म तथा ब्लड मनी तिर्नुपर्ने भनी तोकिएका व्यक्तिलाई कतार छोड्न नमिल्ने गरी कतार सरकारले ‘एक्जिट परमिट’ नदिने व्यवस्था रहेको छ । कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ? ​कमलको कतार आईडी समेत रद्द भइसकेको र ५८९ दिनदेखि कतारमा नरहेको पाइएको दूतावासले जनाएको छ । गत वर्ष कोरोना महामारीको समयमा सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई उद्धार गरेको थियो । त्यो बेला विशेष गरी विदेशमा अवैधानिक रूपमा बसेका थुप्रै नेपाली घर फर्किएका थिए । सोही उद्धार फ्लाईटमार्फत् कमल पनि नेपाल फर्किन सफल भएका हुन् । ‘यस परिस्थितिमा मृतकका कानुनी हकदारले आरोपितबाट पाउनुपर्ने ब्लड मनी तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा आरोपित व्यक्ति कतारमै नरहेको हुँदा ब्लड मनी तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया यहाँबाट थप अघि बढ्न नसक्ने ब्यहोरा निर्देशानुसार अनुरोध छ,’ दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्टले पठाएको पत्रमा उल्लेख गरिएको छ । वैदेशिक रोजगारीका कतार पुगेका धनुषा घोडघाँसका ४५ वर्षीय शिवरतनको ८ सेप्टेम्बर २०१८ मा मृत्यु भयो । घाइते शिवरतनलाई उपचारका लागि अस्पताल लगियो तर उपचारको क्रममा मृत्यु भयो । उनको मृत्युपछि कतार प्रहरीले कमललाई पक्राउ गर्‍यो । खासमा ड्युटीमै आराम गरिरहेका उनीसँग जुनियर भाइ कमल थिङ जिस्किँदै थिए । जिस्किँदै गर्दा कमलले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाए । र, शिवरतनलाई अलिकति धक्का दिँदा उनी खाल्डोमा परेर घाइते भएका थिए । क्रिमिनल कोर्टको उक्त सजायविरुद्ध कमलले पुनरावेदन गरे । कतारको पुनरावेदन अदालत (कोर्ट अफ अप्पियल) ले ३ वर्षको जेल सजाय घटाएर ६ महिना कायम गरिदियो । ‘ब्लड मनी’ भने यथावत् राख्ने निर्णय गरिदियो । कतारको क्रिमिनल कोर्टले २८ नोभेम्बर २०१८ मा कमललाई ३ वर्षको जेल सजाय र मृतकको परिवारलाई २ लाख कतारी रियाल ‘ब्लड मनी’ तिर्नुपर्ने सजाय सुनायो । लामो समयदेखि ब्लड मनी नपाएपछि शिवरतनको स–परिवार यतिबेला काठमाडौँ आइपुगेको छ । उनीहरूले कन्सुलर सेवा विभाग पुगेर घटनाको प्रकृतिबारे बुझेका छन् । फोनबाट केही जानकारी नदिएका विभागका अधिकारीहरूले कार्यालयमै पुगेपछि भने दूतावासबाट २६ साउन २०७९ मै पठाएको पत्रबारे जानकारी दिए । कमलले ६ महिनाको जेल सजाय पूरा गरे । त्यसपछि उनलाई कम्पनीको क्याम्पमा राखियो । ‘ब्लड मनी’ नतिर्दासम्म नेपाल फर्किन नपाउने भनिएका कमल कोरोना महामारीकै बेला नेपाल फर्किन सफल भए । त्यसमा नेपाल सरकार, सम्बन्धित कम्पनीको गम्भीर लापरबाही देखियो । जसले गर्दा पीडित परिवारले अहिलेसम्म ‘ब्लड मनी’ पाउन सकेका छैनन् । र, यो केश अझै बन्द भएको छैन । ‘दूतावासबाट त धेरै अगाडि नै जानकारी आइसकेको रहेछ । तर, हामीलाई जवाफ केही पनि आएको छैन भनियो,’ छोरा राजनले भने । विभागले कमलबारे सत्यतथ्य जानकारी दिन २३ साउन २०७९ मा पत्र पठाएको थियो । पत्र पठाएको ३ दिनमै दूतावासले जवाफ दिए पनि विभागले भने अहिलेसम्म यो विषय गोप्य राखेको थियो । ‘विदेशमा भयो भने हाम्रो क्षेत्राधिकारभित्र रहन्छ । कतारमा नरहेको जानकारी आएपछि अब हामीले हेर्दैनौँ । अन्य निकायमा गएर उजुरी गर्नुहोस् भन्यो,’ राजनले बताए । दूतावासले कमल कतारमा नरहेको जानकारी दिएपछि विभागले अब आफ्नो सरोकारको विषय नभएको जानकारी उनीहरूलाई दिएको छ । ‘सुरूमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा गएर उजुरी दिनुहोस् भनियो । पछि आएर कन्सुलर सेवा विभाग जानु भनियो,’ अन्योलमा रहेका राजन भन्छन्, ‘विभागमा कसैले कमलको गृह जिल्ला सिन्धुली गएर प्रहरीमा उजुरी दिनुहोस् भन्यो, कसैले आफ्नै जिल्लामा गएर उजुरी दिनु भन्यो । खासमा हामी जाने कता हो ?’ अब के गर्ने भन्ने विषयमा सरकारी अधिकारीले प्रष्ट जवाफ दिन नसकेको उनको भनाई छ । ‘विदेशमा हुँदासम्म हाम्रो कार्य क्षेत्र भयो । यहाँ आइसकेपछि स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग वा बोर्डले हेर्ला । नेपालमा आएर फेरि कानुनी मुद्दा हाम्रो कार्य क्षेत्रभित्र पर्दैन,’ महानिर्देशक वलीले भने । यो विषयमा हामीले कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर वलीलाई सम्पर्क गरेर अब के गर्ने भनेर सोध्यौ । उनले अब स्थानीय प्रहरी प्रशासनमार्फत कारवाहीका लागि उजुरी गर्न सकिने बताए । ‘यदि सहमति नै नभई छुटेको खण्डमा नेपालको प्रचलित कानुनअनुसार कारवाहीका लागि भन्दै प्रहरीमा उजुरी दिनुपर्‍यो,’ उनले भने, ‘अब उसलाई छुट्टै कानुनअनुसार कारबाही गरी दे भन्नुपर्‍यो । विदेशमा भयो भने पो ब्लड मनीको कुरा आउँछ । नेपाल आइसकेपछि त ज्यान मार्ने उद्योगअन्तर्गत कारवाहीका लागि उजुरी दिनुपर्‍यो ।’ ब्लड मनी तिर्ने सहमति भएको भए, जुन जिल्ला प्रशासनमा सहमति भएको हो, त्यही गएर ब्लड मनी नपाएको भन्दै उजुरी दिन सकिने बताए । तर, शिवरतनको हकमा भने सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन । नेपालीले नेपालीलाई मार्‍यो भनेर नेपालको प्रचलित कानुनअनुसार कारवाहीका लागि जान सकिने उनले बताए । गाउँबाट काठमाडौँ आउँदा ऋण निकालेर आएको राजनको भनाई छ । ‘अब त न्याय पाइन्छ कि भन्ने आशले ऋण निकालेर आएका थियौँ । फेरि निराश बनायो ।’ उनले भने । विभागका महानिर्देशक वली भन्छन्, ‘अरबको कानुनले मान्छे मार्‍यो भने मार्ने मान्छेलाई पनि फाँसी दिनुपर्छ भन्ने हुन्छ । तर, सम्बन्धित परिवारले माफी दिन चाहेमा ब्लड मनी तिरेर दिन सक्नेछन् भन्न सरिया कानुन हो । अब त्यो व्यक्ति भागेर नेपाल आइसकेपछि त्यो सरिया कानुन लागू हुँदैन ।’

Like