युवा-युवतीलाई जापानले रक्सी पिउन प्रेरित गर्दै
रासंसा/काठमान्डौ, भाद्र ३,
मुलुकमा मदिरा कल्चरलाई जापानी सामाजिक संस्कृतिको एक महत्त्वपूर्ण पाटो मानिन्छ। जापानीहरू मदिरालाई एकता र इमानदारीको भावना बाँड्ने तरिकाको रूपमा हेर्छन्। तर पछिल्लो समय जापानमा मदिराको विक्री घटेपछी सरकारले ‘साके भिभा’ नामक अभियान नै सुरु गरेको छ। युवा पुस्ताले मदिराको सेवन कम गर्न थालेको भन्दै सरकारले यो अभियान सुरु गरेको हो। ‘साके भिभा’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थको खपत बढाउने र उद्योगलाई बढावा दिने आशा सरकारले लिएको छ। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘साके भिभा’ अभियानमा २० देखि ३९ उमेर समूहका युवाहरुलाई मदिरा सेवन गर्न प्रोत्साहति गर्न प्रस्ताव ल्याउन भनेको छ। यस उमेर समूहका मानिसहरूले आफ्नो बिजनेस आइडिया समेत सेयर गर्न सक्नेछन्।तर यो अभियानमा जापानीहरु त्यत्ति उत्साहित देखिएका छैनन्। केही ट्विटर प्रयोगकर्ताहरुले रक्सी खपतलाई प्रेरित गर्ने सरकारी योजनाको आलोचना गरेका छन्। रक्सी सेवन जस्तो अस्वस्थकर बानीको प्रवर्द्धन गरेको भन्दै केहीले अभियानको बिरोध गरेका छन्। कोभिड १९ ले आशिंक रुपमा वृद्ध जनसंख्यामा समेत मदिरा बिक्रीमा गिरावट आएको जनाएको छ। युवापुस्ताले अघिल्लो पुस्ताको तुलनामा कम मदिरा पिउँदा पेय पदार्थहरूबाट संकलन हुने करको रकममा भारी गिरावट आएपछी सरकारले मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ। मदिरामा लाग्ने करबाट हुने राजस्व पनि घटेको छ। जापान टाइम्सका अनुसार, सरकारले १९८० मा कुल राजस्वको ५ प्रतिशत यही मादक पदार्थको बिक्रीबाट उठाउने गरेको थियो। तर २०२० मा मात्र यो मात्रा १।७ प्रतिशतमा सीमित रहन पुगेको छ। रक्सीको विक्री दरमा आएको यो कमी सन् १९८९ यताकै उच्च भएको जापान टाइम्सले बताएको छ। रक्सी खपतको मामिलामा जापान ओईसीडीका ४९ सदस्य देशहरुमाझ ३८ औं स्थानमा छ। सन् २०२० मा जापानको प्रतिव्यक्ति रक्सी खपत ६ दशमलव ७ लिटर रहेको छ। जापानको मदिराको बजार संकुचन भइरहेको र घट्दो जन्मदर पनि यसको कारक तत्व रहेकोले यस अभियानबाट थप सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ। विश्व बैंकको अनुमान अनुसार जापानको जनसंख्याको लगभग एक तिहाइ ९२९ प्रतिशत० ६५ वर्ष माथिका छन् जुन विश्वका अरु देशको तुलनामा उच्च हो। कर एजेन्सीको तथ्याङ्कअनुसार सन् १९९५ मा एक व्यक्तिले एक वर्षमा कम्तीमा १०० लिटर मदिरा सेवन गर्थे। तर, सन् २०२०सम्म आइपुग्दा त्यो ५७ लिटरमा झरेको छ। र, कोरोना भाइरस महामारी मा त्यो दर अझै घटेको बताइन्छ।