सबै दलकाे सहमतिमै ४ वर्षदेखि विचाराधीन नागरिकता संशोधन विधेयक फिर्ता नयाँ विधेयक ल्याउने निर्णय भएकाे मन्त्री खाँणको प्रष्टिकरण
रासंसा/काठमाण्डौ, आषाढ २४,
मुलुकमा संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक फिर्ता लिएर नयाँ ल्याउँदा अहिलेकै कार्यकालमा कानुन बनाउन सकिन्छ ? भन्ने सांसदहरूको प्रश्न थियो । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरूले फिर्ता लिन हुने र नहुने दुवै पक्षबाट मत प्रकट गरे । विचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले तत्काल नागरिकता विधेयक ल्याइने बताउनुभयो । गृहमन्त्री अब बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ विधेयक ल्याउने जानकारी दिनुभयो । विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरूको सहमतिमा गरिएको गृहमन्त्री खाँणको भनाइ थियो ।