व्यास भगवानको जन्मस्थल तनहुँमा हो भनेर विश्वमाँझ चिनाउन ११ औँ ओमकार तथा हिन्दू महामिलन पर्व

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
दमौली (तनहुँ) — वेदका रचयिता महर्षि व्यास भगवान्को पावन जन्मस्थल दमौलीस्थित व्यास गुफा परिसरको धार्मिक तथा पौराणिक महत्त्वलाई विश्वसामु प्रचार-प्रसार गर्ने उद्देश्यका साथ “११ औँ ओमकार तथा हिन्दू महामिलन पर्व २०८३” आयोजना गरिएको छ।
वेदानुयायी प्रतिष्ठानको आयोजनामा संचालनमा रहेको उक्त धार्मिक अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा व्यास क्षेत्रको ऐतिहासिक र धार्मिक पहिचानलाई विश्वभर उजागर गर्ने, वैदिक सनातन धर्मको संरक्षण गर्ने तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने विषयमा बृहत् छलफल एवं आध्यात्मिक जागरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
समारोहमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, वेदानुयायी प्रतिष्ठानका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्येता काशीनाथ न्यौपाने, नर्मदेश्वर पीठका सन्त राम बाबा, र व्यास क्षेत्र विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई लगायतका विशिष्ट धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
त्यस्तै, पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा. के.बी. सम्राट, महर्षि संस्कृति विद्यालयका प्रधानाध्यापक चेतनारायण लामिछाने, धार्मिक व्यक्तित्व डा. रघुनाथ न्यौपाने, व्यास-३ का वडा सदस्य विनु श्रेष्ठ र व्यास ज्योति भजन कीर्तन सत्संग समितिका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले व्यास गुफाको धार्मिक पर्यटकीय सम्भावनाबारे विचार व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ।
वेदानुयायी प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेको सभापतित्वमा हुने उक्त महामिलन पर्वको सञ्चालन महासचिव सत्यप्रसाद खनालले गर्नुहुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका साधु-सन्त, धार्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।
